जीवन: जीवन के हो भनेर विश्वका दार्शनिकहरू घोत्लिएको शताब्दीऔं भइसक्यो । यो सरल प्रश्नको उत्तर भने कठिन छ । यसको उत्तर प्याजको बोक्रा छोडाए जस्तो, आंधी आउनु अगाडिको सन्नाटा जस्तो, भर्खरै प्रेमीले धोका दिएको प्रेमिकाको विक्षिप्त मन जस्तो व्याख्या गर्नै नसकिने तर आफ्नो उपस्थिति जबरजस्त जनाइरहने । जीवनको यो सुन्दर पहेंलु धर्म र विज्ञान दुवैका लागि खोजको विषय बनेको छ । छुन नसकिने, नाप्न नसकिने, देख्न नसकिने, आंक्न नसकिने कस्तो चेतना हो यो जुन विना जीवन असम्भव छ । यो चेतनालाई धर्म वा भनौं अध्यात्मले प्रतिनिधित्व गर्छ तर उता ठीक विपरित छुन सकिने, नाप्न सकिने, देख्न्न सकिने ‘पदार्थ’ छ, जसलाई विज्ञानले प्रतिनिधित्व गर्छ । जीवन सञ्चालनका यी दुई ध्रुवहरू फरक फरक भूगोलमा विकास भए । एउटा सभ्यता पूर्वमा, अर्को पश्चिममा । यी दुईवटा सभ्यता, सिद्धान्त र दर्शनका मिलन, विवाद र वहसका बीचमा उभिएको छ आजको आधुनिक समाज । श्रृष्टिमा जीवनका उद्भवका बारेमा धर्म र विज्ञानका आफ्ना आफ्ना फरक मतहरू छन् । प्रश्न एउटै तर उत्तर भिन्न भिन्न छन् । आफूले ठीक ठहर्याएको उत्तरसंग मानिस नजिक हुनु स्वाभाविक नै हो ।
अध्यात्म (सनातन धर्म) र विज्ञान ः धर्मले जीवन र जगतको सुरुवात भगवान को सत्तासंग जोडेर गरेको छ । अहिले सम्मका विद्वान्हरूका खोज र तथ्यलाई मान्ने हो भने पूर्वीय दर्शनले पांच हजार वर्ष पहिले नै बेद र उपनिसद जस्तो उत्कृष्ट शास्त्र मानव सभ्यतालाई उपहार दिएको छ, जसले जीवन र जगतको सम्बन्धका बारेमा माथिल्लो स्तरमा व्याख्या गरेको छ । अर्कोतिर विज्ञानले दुईसय वर्ष अघिको डार्बिनको Evolution Theory लाई पछ्याउंदै आएको छ । समय चक्रका हिसाबमा पनि विज्ञान भन्दा धर्म निकै जेठो, अनुभवी र जीवनका रंगहरु अलि धेरै नै भोगेजस्तो लाग्छ । धर्म अधबैंसे मानिस जस्तो, विज्ञान भर्खरै जुंगामा रेखी बसेको निस्फिक्री जवान जस्तो, जो बिना लगामको घोडा हुन चाहन्छ । जसलाई बन्देज, अनुशासन र सिमिततासंग घृणा छ ।
विज्ञान हरेक चिजलाई हेर्न चाहन्छ, फोर्न चाहन्छ, देख्न चाहन्छ, छुन चाहन्छ, भोग्न चाहन्छ । यसलाई कुनै पनि वस्तु टुक्रा टुक्रा बनाउन मन पर्छ । त्यसैले यो Atom बाट Newtron, Proton र Electron हुंदै Quanta सम्म पुग्यो र यो अहिले Higgs Boson मा आएर अड्किएको छ । भर्खरै Gravitational Wave लाई हेर्न सकिने भन्दै श्रृष्टीको सुरुवात नजिक पुगेको भनेर तरंग पैदा गरिदिएको छ । अमेरिकामा राइट ब्रदर्स ले भुईं छोडेको दिन देखि यसले मंगल ग्रह सम्मको यात्रा तय गरिसकेको छ ।
तर, अर्कोतर्फ अध्यात्म अनुशासन चाहन्छ । मुनीहरूका व्याख्यालाई मान्ने हो भने यसले बाहिरको होइन भित्रको यात्रा गर्छ र यो आत्मासम्म पुग्छ । परमात्मासंग बिलिन हुने लोभमा, जन्म र मृत्युको कर्म चक्रबाट बाहिर निक्लन चाहन्छ मानिस मोक्ष प्राप्तिको चक्करमा । वेदान्त दर्शनले यसलाई बढो सुन्दर ढंगले प्रस्तुत गरेको छ पूर्वीय दर्शनमा । अध्यात्मले कुनै पनि चिजलाई टुक्र्याएर होइन, जोडेर हेर्छ र त विक्षिप्त मानिसहरु धर्मको शरणमा पुगेको जोडिदिने गुरुहरु खोज्दै ।
पश्चिमा सभ्यताका महान हस्तीहरु मार्टिन लुथर किंग, बिटल्स देखि एप्पल कम्पनीका स्टिभ जब्स्सम्म बनारसको गंगा तट सम्म पुग्न भ्याए आफ्नो बेचैनी मन बोकेर, सम्वृद्धिको होइन शान्तिको खोजीमा । अझ भनौं आफ्नै खोजीमा । पश्चिमका महान् गायक बब डीलन नेपालको ठमेलका गल्ली गल्लीमा भौंतारिए । पशुपति, स्वयम्भू र बौद्धको कयौं चक्कर लगाए । टुक्रिंदा टुक्रिंदा जोडिन खोजिएको प्रयास हो त्यो ।
विज्ञान आंखाको कुरा गर्छ । अध्यात्म ज्योतिको, विज्ञान सुन्दर घर बनाउंछ । त्यस घरमा खुशी भर्छ अध्यात्म । मूल्यवान् घडीको आविष्कार गर्छ विज्ञान तर समयको महत्व धर्मले पढाउंछ । विज्ञान बाहिरको अंध्यारो चिर्छ, अध्यात्म भित्रको । एउटा शरीरको व्याख्या गर्छ अर्को आत्माको । एउटा ठोस अर्को तरल, एउटा पदार्थ अर्को चेतना ।
मुलतः मानिसको स्वभाव कल्पनाशील र सृजनशील हुन्छ र त्यही विज्ञानको सुन्दर आविष्कारले सभ्यतालाई बाहिरबाट सिंगार्न सक्यो । मनिसलाई गांस, बांस र कपास को उच्त्तम प्रवन्ध गरिदियो । रोगबाट मुक्त गरेर लामो आयु बनाइदियो । जीवनलाई भोग्नका लागि असिमित साधनहरुको आविस्कार गरिदिन्छ तर त्यही विज्ञानले बाटो बिराउंदा दोस्रो विश्व युद्धमा जापानको हिरोसिमा र नागासाकिलाई नर्कमा परिणत गरिदियो । मानिस दुःखी छ, अशान्त छ, त्यसैले अध्यात्मले यसलाई सहि मार्गमा ल्याउने प्रयास गर्छ । ठिक दिशातिर उन्मुख हुंदा दुःखले बुद्ध जन्माउन पनि सक्छ नभए एकाबिहानै छिमेकीको बगैंचाको रुखका हांगामा पासो लगाएर झुन्डि रहेको पनि भेटिन सक्छ मानिस ।
विज्ञानले जीवन छोटो छ भन्छ र छिटो भोग्न सिकाउंछ । यसले जीवनलाई सरल रेखामा यो बिन्दुबाट त्यो बिन्दुसम्म वा भनौं जन्म देखि मृत्युसम्म मात्र भनेर ब्याख्या गर्छ । तर, अध्यात्म जीवनलाई सरल रेखामा होइन, वृत्ताकार (सर्कल) संग तुलना गर्छ र भन्छ, न यसको सुरुवात छ न त अन्त्य नै । यो त चक्रीय प्रणालीमा आधारित छ । त्यसैले भागवत गीतामा दोस्रो अध्यायको बीसौं श्लोकमा श्रीकृष्ण अर्जुनलाई जीवन र आत्माको अर्थ बडो रहस्यमय दार्शनिक ढङ्गले अर्थ्याउंछन्ः
न जायते म्रियते वा कदाचि- न्यायम भूत्व भविता वा न भुय:।
अजो नित्य: शाश्वतोयं पुराणो -न हन्यते हन्यमाने शरीरे ॥२०॥
यो आत्मा न कुनै समयमा जन्मिएको थियो, न यो मर्छ नै । यसलाई फेरी उत्पन्न गर्न पनि सकिंदैन, यो त आजन्म छ, सनातन छ, पुरातन छ र शरीर मरेर पनि आत्माको नाश हुंदैन ।
विज्ञानले एनेर्जीको ब्याख्या र अध्यात्मले आत्माको ब्याख्या उस्तै उस्तै तबरले गरेका छन् । त्यो संयोग मात्र हो वा सत्यको खोजी समयले बताउला । तर, खोज भने दुवै तर्फ अवश्य छ ।
धर्मनै सबैथोक हो । जीवनलाई यसले मात्र निर्देशित गरेको छ भन्ने मूर्धन्य विद्वानहरु पनि आजको दिनमा विज्ञानको सहारा बिना जीवन बांच्न सम्भव छैन् । त्यसैगरी जीवको निर्देशन विज्ञानले मात्र गरेको छ भन्न सक्ने स्थिति पनि देखिंदैन ।
दोस्रो विश्वयुद्धताका अमेरिकाको म्यानहाटन प्रोजेक्ट (हाइड्रोजन बम बनाउने प्रोजेक्ट ) का नाइकेले न्यू मेक्सिकोमा पहिलो पटकको सफल आणविक परिक्षणपछि दिएको वक्तव्यमा भागवत गीताको श्लोक उच्चारण गर्दै यसो भनेका छन् “I am the death , I am the destroyer”. भौतिक शास्त्रमा विद्यावारिधि गरेका क्यामब्रीज विश्वविद्यालयका प्राध्यापक डा. ब्रायन डेविड (जो नोबेल पुरस्कार विजेता बेलायती नागरिक हुन्) ले वेदान्त दर्शन र श्यांख्यको दिमाग र बिचारको नियमसंग Quantum Field Related छ यो नियम Operation and Distribution या partical at atomic and molicular level भनेर घोषणा गरेका छन् जुन आफैंमा खोजपूर्ण छ र विज्ञानका विद्यार्थीका लागि एउटा राम्रो अनुसन्धानको विषय हुन सक्छ ।
अन्त्यमा, आजको मानिस कहिले धर्मतिर त कहिले विज्ञानतिर लागेको छ । मानिसको यो जीवन विज्ञानको प्रयोगशालामा राखिएको सिम्पल पेन्डुलम जस्तै भएको छ । मच्चिएर बिहान विज्ञानतिर हुईंकिएको मानिस धरमराउंदै अध्यात्मतिर आइपुग्छ बेलुका । यिनै दुई ध्रुवका बीचमा पिसिएको छ आजको हरेक मानिसको मन ।
माथिका घट्ना परिघट्नालाई नजिकबाट नियाल्ने हो भने धर्म वा अध्यात्म र विज्ञान एउटै पाटाका दुई सिक्का लाग्छन् । एउटा बिना अर्काको अस्तित्व सम्भव छैन् । एउटा फुल हो भने अर्को बास्ना हो । एउटा फल हो भने अर्को रस । दुबैको संगम नै पूर्णताको सुरुवात हो । घर निर्माण गर्न पर्खाल त उठाउनै पर्छ, भित्र र बाहिर छुट्याउनलाई । छानो त लगाउनै पर्छ आकाश र धर्ती छुट्याउन तर पर्खाल हटाउंदा, छानो हटाउंदा न भित्र न बाहिर, न तल न माथि । त्यस्तै छ विज्ञान र अध्यात्मको सम्बन्ध, अनि बिचमा झुन्डिएको मानिस । बीसौं शताब्दीका महान बैज्ञानिक अल्बर्ट आइन्सटाइन को यो भनाई सान्दर्भिक छ । उनी अगाडि भन्छन्, विज्ञान धर्म बिना लंगडो छ अनि धर्म बिज्ञानबिना अन्धो ।
बिहान शिर ठाडो पारेर आफ्नो कर्मयात्रामा निस्किएको मानिस दिनभरि विज्ञानका उत्कृष्ट आविष्कारका साथ काम गर्दा गर्दै थाकेर बेलुकी रक्सी भट्टीमा पुगेर टुंगिन्छ र शिर निहुरियाएर घर आइपुग्छ मध्यरात । फेरी अर्को बिहानी योगा र मेडिटेसनमा
बस्छ । भजन सुन्छ, बत्ति बाल्छ, परमात्माको भक्ति गाउंछ र निहुरिएको शिर फेरी उंचो पारि बाहिरको दुनियां निक्लन्छ र दिनहुं उही नित्य कर्म दोहोर्याउंछ । हरेक युद्ध पछि , आफ्नै डरलाग्दा आविष्कार पछि, सपना भनेर चिनिएका वा भनिएका भौतिक सम्पति प्राप्तिपछि, परम सुन्दरी भनिएकाहरुसंगको भोग पछि, खै किन हो मानिस जहिले पनि शान्तिको खोजीमा भौंतारिएको छ । आफूलाई खाली शुन्य महशुस गरेको छ र कयौं पटक त आफ्नै जीवनलीला समाप्त गरिदिएको छ । यसरी विज्ञानको यन्त्रको सहयोगले तेज रफ्तारसंग दौडिराखेको मानिसको असन्तुलित, अनियन्त्रित र अमर्यादित मन र सपनालाई अनुशासित, मर्यादित र सन्तुलित बनाउन अध्यात्मको खांचो छ । त्यसैले बुद्ध भन्छन्, जसरी एउटा मैनबत्ती आगो बिना बल्न सक्दैन, त्यसैगरी मानिस आध्यात्मिक जीवन बिना सन्तुलित र सुखी तवरले बांच्न सक्दैन् ।
अस्तु
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग