उद्योग क्षेत्रको वृद्धिदर यसवर्ष ऋणात्मक रहने

1448378074455_RS-KTM-swetpatra minister poudel-1

मुलुकको वर्तमान आर्थिक अवस्था र नेपाल सरकारको तत्कालको कार्यदिशासम्बन्धी श्वेतपत्र जारी गर्दै अर्थमन्त्री विष्णु पौडेल । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।

काठमाडौँ, ८ मङ्सिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज जारी गर्नुभएको देशको वर्तमान आर्थिक अवस्था र नेपाल सरकारको तत्कालको कार्यदिशासम्बन्धी स्वेतपत्रमा उद्योग क्षेत्रको वृद्धिदर अघिल्लो आर्थिक वर्ष दुई दशमलव छ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा भने ऋणात्मक रहने अनुमान गरिएको छ ।

तराई–मधेस क्षेत्रका अधिकांश उद्योग बन्द रहेको र अन्य क्षेत्रमा रहेका उद्योग कच्चा पदार्थ, मेसिनरी, पाटपुर्जा र इन्धनको अभावमा बन्द वा क्षमता भन्दा धेरै कममा सञ्चालित रहेको उल्लेख छ ।

केही उद्योगले उत्पादन गरेका वस्तु पनि उद्योगको गोदाममा नै थन्किएको, औद्योगिक शिथिलताले रोजगारीमा प्रतिकूल प्रभाव पारेको श्वेतपत्रमा उल्लेख छ ।

बन्द, हडताल र अवरोधले साना ठूला गरी करिब दुई हजार २०० उद्योग बन्द भएको तथा ती उद्योगमा कार्यरत करिब दुई लाखभन्दा बढी औद्योगिक श्रमशक्ति बेरोजगार भएको, उद्योगीलाई बैंकको ब्याज र मजदुरको ज्याला भुक्तानी गर्न कठिन भइरहेको उल्लेख छ ।

हजारौँको सङ्ख्यामा मालबाहक कन्टेनर तथा गाडी कोलकाता बन्दरगाह, भारतीय सडक, भारतीय रेल्बे, रक्सौल तथा सुक्खा बन्दरगाहमा रोकिइरहेका कारण वस्तुको मूल्यसँगै बन्दरगाह तथा भन्सार कन्टेनरको भाडा, ड्युमरेज शुल्क बढेको र सो शुल्क हालसम्म रु पाँच अर्ब पुगेको र सो अङ्क क्रमशः बढ्दै गइरहेको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

सेवा क्षेत्रको वृद्धिदर तीन प्रतिशत हुने 

सेवा क्षेत्रको वृद्धिदर गत आर्थिक वर्षमा ६.१ प्रतिशत रहेकोमा चालु आवमा तीन प्रतिशतको हाराहारीमा रहने श्वेतपत्रमा उल्लेख छ ।

आर्थिक विकासको महत्वपूर्ण क्षेत्रको रूपमा रहेको पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको अर्थमन्त्री पौडेलले बताउनुभएको छ ।

सन् २०१४ को जनवरीदेखि अक्टुबरसम्ममा नेपाल भ्रमणमा हवाई मार्गबाट आउने कुल पर्यटक सङ्ख्या छ लाख ५२ हजार ६०० रहेकोमा यस वर्षको सोही अवधिमा ४६ प्रतिशतले कमी आई तीन लाख ३२५ पर्यटक मात्र नेपाल आएको उल्लेख छ ।

हवाई मार्गबाट आउने पर्यटकको नेपालमा बसाई अवधि गत वर्ष १२ दशमलव ४ दिन रहेकोमा सन् २०१५ को जनवरीदेखि अक्टुबरसम्मको अवधिमा ६ दिनमा सीमित रहेको छ ।

होटलमा पर्यटक कम हुँदा क्षमताको २० प्रतिशतभन्दा कम उपयोग भएकाले पर्यटन र होटल उप क्षेत्र शिथिल रहेको उल्लेख छ ।

अघिल्लो वर्षको असोज कात्तिकमा पर्यटकीय होटलका कोठा ९० देखि ९५ प्रतिशत भरिएकोमा चालु वर्षको सोही अवधिमा केवल १५ देखि २० प्रतिशत मात्र भरिएको छ ।

इन्धनको व्यवस्था हुन नसकी धेरैजसो रेस्टुराँ बन्द रहेको, सञ्चालनमा रहेका रेस्टुराँको पनि परिकारमा कटौती भएको र समग्र पर्यटन क्षेत्रको रोजगारीमा अघिल्लो वर्षको सोही अवधिका तुलनामा २५ प्रतिशतले कमी आएको श्वेतपत्रमा उल्लेख छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्ष पर्यटक सङ्ख्यामा ५० प्रतिशतले कमी आएको, पथ प्रदर्शकमध्ये १५ प्रतिशतले मात्र रोजगारी पाएको, पर्यटकी सवारीसाधनमध्ये करिब पाँच प्रतिशत मात्रै सञ्चालनमा रहेको, पर्यटकीय यातायातमा संलग्न जनशक्तिमध्ये करिब सात प्रतिशतले मात्रै रोजगारी पाएको उल्लेख छ ।

हवाई इन्धन उपलब्ध हुन नसक्दा दुईतर्फका लागि आवश्यक इन्धन बोक्नुपरेकाले अन्तर्राष्ट्रिय उडान पूर्ण यात्रुक्षमतामा सञ्चालन हुन नसकेको, यस अवधिमा आन्तरिक उडान ७५ प्रतिशतसम्म कटौती भएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र आन्तरिक विमानस्थलको निर्माण र सुधारको कार्य रोकिएको श्वेतपत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री