बेलायती नेपाली साहित्य : नोष्टाल्जियादेखि चिन्तनसम्म

Mijas Tembe

मिजास तेम्बे

 

परदेश रहँदाको नियास्रोपन, आफन्त र परिवारजन सँगको विछोडमा उर्लिएको अतीतमोह आदिको लेखनबाट शुरु भएको डायस्पोरिक साहित्य लेखन हाल आएर साहित्यमा नविन चिन्तन र प्रयोगसम्म पुगेको देखिन्छ । देशभन्दा बाहिर बसेर लेखिएको साहित्यलाई डायस्पोरिक साहित्य मान्यो भने बेलायत पनि नेपाली साहित्यको लागि उर्वरशील डायस्पोरिक साहित्य क्षेत्र हुन आउँछ । यद्यपि डायस्पोरिक साहित्य सिद्धान्तको स्पस्ट अवधारणा आइसकेको अवस्था भने छैन र नेपाली साहित्यमा यसको जति चर्चा परिचर्चा हुनु पर्ने हो त्यो पनि नभइरहेको प्रतीत हुन्छ । प्रस्तुत लेखमा बेलायती डायस्पोरामा रहेका साहित्यिक संघ संस्था र यहाँका साहित्यकारहरुले अवलम्बन गरेका लेखनधर्मिताका बारेमा संक्षिप्त चर्चा गरिन्छ ।

बेलायतमै बसेर नेपाली साहित्यको लेखन गर्न थालिएको साह्रै पुरानो भएको छैन । बेलायत भ्रमण र यसको सन्दर्भमा लेखिएको साहित्यलाई यसभित्र नगाभ्ने हो भने बेलायती गोर्खाली सेनामा काम गरेका सेनाहरुको लेखन नै सबैभन्दा पुरानो डायस्पोरिक साहित्य हुन आउछ । हुन त बेलायतमा उच्च शिक्षा हासिल गर्न आउने एकाध नेपाली बिद्यार्थीहरु पहिल्यैदेखि भए पनि तिनले लेखेका कृतिहरु देख्न पाइएको छैन । बेलायती गोर्खाली सेना र तिनको परिवारका लागि भनेर सन १९४९ को जनवरी महिनादेखि नै पर्वते नामक मासिक पत्रिकाको प्रकाशनारम्भ भएको देखिन्छ । गोर्खाली सेनामा काम गर्ने स्रष्टाहरुले यही पत्रिकामा आफ्ना लेख रचनाहरु प्रकाशन गर्ने अवसर पाए । यस मासिक पत्रिकाले प्रत्यक्ष परोक्ष नेपाली भाषा र साहित्यको सेवा गर्यो । अर्कोतिर लामो समयदेखि बेलायतमा बसोवास गर्दै आएका गैरगोर्खाहरुमा साहित्यकार स्वर्गीय ईश्वर मानन्धर नै पहिलो बेलायती डायस्पोराका स्रष्टा देखिन पुग्छन् । त्यसपछि बिस्तारै गोर्खा र गैरगोर्खाहरुको बेलायत आगमन बाक्लिँदै गएको पाइन्छ ।

बेलायतमा साहित्यिक संघसंस्थाहरुः
नेपाली साहित्य विकास परिषद, युके नै बेलायतमा खोलिएको पहिलो साहित्यिक संस्था हो । साहित्यकार स्वर्गीय ईश्वर मानन्धर र हरिसिं थापा आदिले सन् १९९५ मा यस संस्थाको जन्म गराएका हुन् । त्यसपछि बेलायती सेनामै कार्यरत् गोर्खालीहरुले सन २००१ मा प्रवासी नेपाली साहित्य समाजको स्थापना गरे । सन् २००७ मा बेलायती सेनामै कार्यरत् युवा स्रष्टाहरुले नेपाली कला साहित्य तथा संगीत मञ्चको स्थापना गरे । त्यसपछि सन् २००८ मा बेलायतमा रहेका सेवारत्, सेवानिवृत्त तथा गैरगोर्खा सबैलाई समेट्ने गरी एउटा बृहत संगठनको परिकल्पना गरी नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको स्थापना भयो । यस अघिका प्रवासी नेपाली साहित्य समाज र नेपाली कला साहित्य तथा संगीत मन्च दुई संस्थाहरु औपचरिक रुपमा नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतमा गाभिए । अन्य मुलुक मूल भई बेलायतमा शाखा प्रशाखा सञ्चालन गरिएका साहित्यिक संगठनहरुमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, युके च्याप्टर, विश्व साहित्य महासंघ बेलायत शाखा र नेपाली वाङ्मय प्रतिष्ठान युके रहेका छन् ।
यहाँका अधिकांश साहित्यिक संघसंस्थाहरुले वार्षिक रुपमा एकाध साहित्यकारहरुको जन्मजयन्ती मनाउने तथा कवि गोष्ठी गर्ने अथवा कृति विमोचन गर्ने भन्दा फरक प्रकृतिका पहलहरु गरेको देखिँदैन । बेलायत मूल भएको संस्था नेपाली प्रतिभा प्रतिष्ठानले भने आफ्नो स्थापना कालको छोटो अवधिमै महत्वपूर्ण कार्यहरु गरेको देखिन्छ । विगत पाँच वर्षदेखि यस प्रतिष्ठानले डायस्पोराबाट प्रदान गरिने सबैभन्दा ठूलो धनराशीको पुरस्कार तथा सम्मान सञ्चालन गर्दै आएको छ । साथै यसले झण्डै दुई दर्जन साहित्यिक कृतिहरुको प्रकाशन पनि गरेको छ । सन् २००९ सालमा सर्वप्रथम यही संस्थाले बेलायतमा नेपाली भाषाको अध्यापन गरिनु पर्छ भनेर बृहत अन्तरक्रियाको आयोजना गर्याे  । हरेक वर्ष अभिब्यक्ति श्रृङ्खला नामक एक सृजनात्मक कार्यक्रम पनि प्रतिष्ठानले नै सञ्चालन गर्दै आएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, युके शाखाले गत वर्षमात्र बेलायतमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको आयोजना गरेको थियो भने अन्य संघसंस्थाहरुले त्यस्तो उल्लेख्य काम गरिरहेको देखिँदैन ।

बेलायती नेपाली साहित्यको स्तरः

लेखन प्रयासका साहित्यकारदेखि साहित्यमै नयाँ चिन्तन ल्याउने तह र तप्काका साहित्यकारसम्म बेलायती डायस्पोरामा भेटिन्छन् । हाल आएर नेपाली साहित्यमै सर्वथा नयाँ चिन्तन नवचेतनाग्रह, डायस्पोरिक चेतना र युद्ध साहित्य सिद्धान्त गरी जम्मा तीनवटा सशक्त साहित्यिक चिन्तनहरु बेलायत भूमिबाटै भएको देखिन्छ । विक्रम सम्बत २०६३ सालमा मिजास तेम्बे र काङमाङ नरेशद्वारा सम्पादित संयुक्त कविता संग्रह सीमाहीन विम्बहरुको प्रकाशनसंगै बेलायती डायस्पोराको साहित्यले महत्वपूर्ण मोड लिएको देखिन्छ । त्यस लगत्तै काङमाङ नरेश, मिजास तेम्बे र अब्जसे कान्छाद्वारा सम्पादित संयुक्त कविता संग्रह ग्रीनविचका प्रतिध्वनीहरु त झनै बेलायती डायस्पोराको एउटा ऐतिहासिक कृति हुन आउँछ । त्यसैगरी काङमाम नरेश र अब्जसे कान्छाद्वारा सम्पादित युद्द कविता संग्रह युद्धमा हराएको प्रेम, नेपाली युद्ध साहित्यकै पहिलो युद्ध कविता संग्रह हो । बेलायती डायस्पोराबाट लेखिएका केही राम्रा र ऐतिहासिक कृतिहरु नेपालका विश्व विद्यालयहरुमा सन्दर्भ सामग्रीको सूचीमा राखिएका छन् भने बेलायती डायस्पोरिक साहित्यको बारेमा त्रिभुवन विश्वविद्यालयमा अध्यनरत केही विद्यार्थीहरुले शोधकार्य सम्पन्न गरिसकेका पनि छन् । बेलायतका केही उत्कृष्ट स्रष्टाहरुको ब्यक्तित्व र कृतित्वमाथि शोधकार्यहरु पनि भइरहेका छन् ।

स्रष्टाहरुको विधागत उपस्थितिः
साहित्यका पनि अनेक विधाहरु छन् । बेलायती डायस्पोरामा बसेर कलम चलाइरहेका स्रष्टाहरुमा क–कस्ले कुन कुन विधामा हात हालेका छन् भनेर केही प्रतिनिधि स्रष्टाहरुको नामावली यस प्रकारले देखिन्छ । उपन्यास लेख्ने स्रष्टाहरुमा गणेश राई, हरिसिं थापा, मुलीबीर राई, काङमाम नरेश र रमेश यतिम । कथा लेख्ने स्रष्टामा ईश्वर मानन्धर, रक्ष राई, टंक वनेम, जया राई र लारा राई । संस्मरण लेख्नेहरुमा ईश्वर मानन्धर, दयाकृष्ण राई, टंक वनेम, विश्वासदीप तिगेला र केदार सङ्केत । कविता लेख्नेहरु रक्ष राई, हरिसिं थापा, मुकुल दाहाल, दयाकृष्ण राई, देवेन्द्र खेरेस, मिजास तेम्बे, काङमाङ नरेश, अब्जसे कान्छा, लारा राई, डा. रुपक श्रेष्ठ, गोपीकृष्ण प्रसाई, रामकृष्ण सुनुवार, दधिबन्धु घर्तिमगर, कोमल मल्ल, मनिष श्रेष्ठ, मनिका राना, भोजराज बराल बिमला सुच्चा राई, नवराज राई र प्रतिभा बोहरा आदि । गीत लेख्नेहरु हरिसिं थापा, सरिता नाना चाम्लिङ, दुत बहादुर पुन, ईश्वर चाम्लि¨, निलम आङबुहाङ राई, नरेश नाति, हेमकुमार राई, चोक गुरुङ, दीपा लिम्बू राई, र निर्मला राई आदि । गजल लेख्नेहरुमा मिजास तेम्बे, अन्जु अन्जली, मुकेश राई, बिपु वाईबा, लारा र निलम आङबुहाङ राई । मुक्तक लेख्नेहरुमा नरेश नाति, भोजराज बराल, जगत नवोदित र आनन्द रानोंहोछा आदि । नाटक लेख्नेहरुमा गोपि सापकोटा, भावना सुनुवार र जरजर हाङबाङ र अन्त्यमा हाईकू लेख्नेहरुमा केदार सङकेत र अब्जसे कान्छा रहेका छन् ।

यसरी हेर्दा बेलायत भूमिमा लेखिने साहित्यका विविध विधाहरु मध्ये कविता विधा नै सबैभन्दा बढी लेखिने र छापिने विधा पर्न आउँछ भने नाटक र हाईकू कम लेखिने विधामा पर्दछन् । बेलायत भूमिमा लेखिएको नेपाली साहित्यको एकमुस्ठ मूल्याङकन गर्ने हो भने सामान्य रुपमा आत्मरतिको वृत्तमा लेखिने साहित्यदेखि नेपाली साहित्यमै नविन साहित्य चिन्तनहरुसम्म भइरहेको देखिन्छ । अहिले बेलायतमा रहेर बौद्धिक अभ्यास र चिन्तन गरिरहने स्रष्टाहरुमा नवचेतना ग्रहका प्रवर्तकद्वय रक्ष राई र मिजास तेम्बे तथा युद्ध साहित्य सिद्धान्तका अभियन्तात्रय गणेश राई, काङमाङ नरेश र अब्जसे कान्छा पर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री