दशैंको विलाप

12175800_1146663375347125_1855321167_o
बिहीबार लाखौंले दशैं मनाउंदा आज अनेकौं सोचमा डुबिरहेछु । दशैंका ती पलहरु कति ऊत्साह ऊमंगले भरिएको हुन्थ्यो, सानो छंदा मावल जान भनेपछि हुरूक्क हुने गर्दथें । पढ्न गुल्मीको तम्घास बसेको म, घर 
(झिर्बास्) भन्दा मावल (मुसिकोट ) नै बढि जाने गर्दथें । सानो छंदा हजुरबुवा हजुर आमाको माया, मामा माइजु सबैले भान्जा भनेर पुल्पुलिएकोले होला मलाई घर भन्दा मावल नै बेसी मन पर्दथ्यो । दिनभरि बेसीको खोलामा घुम्न गइन्थ्यो । कति चोटी त माझी संगै माछा मार्न समेत गएको स्मरण छ । माछा मार्न खुब मन पथ्र्यो । फलानोको नाति भनेपछि मैले नचिनेनी सबैले मलाई चिन्थे । कहिलेकाहीं हजुरबुवालाई फर्किने बेलामा भेट्थें अनि घोडामा चढेर फर्किनुको मज्जा छुट्टै हुन्थ्यो ।

याद ताजा नै 
छन् । ति दिनहरु जब हजुर आमाले भैंसी दोएर नाति म दुध बसालिदिन्छु आगोमा, तिमी हेर है… भनेर भकारोतिर जानुहुन्थ्यो । दुधको साक्षी बिरालो भने झैं तर तर निकालेर खान बेग्लै मज्जा आउंथ्यो । फेरी तल्लो घर माइजुले बोलाउनुहुन्थ्यो । माइजु सार्है माया गर्नु हुन्थ्यो । कहिलेकाहीं त दुई पटक खान वाध्य हुन्थें । सांझ गाउंमा भालिबल खेल्थे साथीहरु । म कहिल्यै खेलिन तर हेर्न मात्र पनि मज्जा नै आउंथ्यो । गाऊंमा भनौं एक किसिमको एकता थियो । सांझ चौरमा बसेर सबै आ आफ्नो दुःखसुःख साथी संगिनी माझ पोक्थें । छुट्टी सकेपछि फेरी तम्घास फर्किन्थें ।

दसैं तिहारको ऊमंग बेग्लै हुन्थ्यो । दशैंको उत्साह घर जानु भन्दा पनि मावल जानुमै हुन्थ्यो । याद छ त्यो क्षण जब घरको टिका लगाएर हामी मावलको लागि दिनभरि रेसुंगाको बाटो हिंड्दै राति मात्र मावल पुगिन्थ्यो । त्यो बेलामा न त मोवाइल थिए, न त आजको जस्तो गाडी सुविधा । यथार्थमा भन्नु पर्दा अलग्गै दुनियांमा थियौं हामी । आज ति पलहरू फर्कि हेर्दा स्मृतिमा मात्र सिमित छन् । ति बितेका पलहरु न फर्किनै आउनेछन्, न त म फेरि त्यो पलमा जान सक्छु । कति सुन्दर थिए ति दिनहरु । कति सुन्दर लाग्थ्यो त्यो समाज, त्यो गाउं, त्यो परिवार ।

समय सधैं एकैनासको नहुने रैछ । गाउंघर, परिवार, साथीसंगी मात्र नभई आज देश नै छाडेर बिरानो मुलुकमा आफ्नो भाग्य र कर्मको रेखामा म जस्तै लाखौं युवा पराइ भूमिमा छन् । अनि १० औं वर्ष गाउं परिवारबाट टाढा भएर होला, सायद म जस्तो लाखौंलाई दशैं जस्ता पर्व हर्ष भन्दा विस्मात बढि हुन्छ । खोलाको पानी जस्तै बगेको यो जिन्दगी फर्किने कुनै ठेगान छैन् । आश गरौं छिट्टै फर्किनेछ भनि ।
चाड पर्वको नाउंमा आज हजारौं निर्दोष जनावरको बली चढाऔं हामीले, हिजो गढिमाइ पर्वको विरोधमा उत्रिने हामी आज फेरी हजारौं पशुको बली चढायौं । देखेपछि लाग्ने माया र घृणा पनि अनौंठो हुनेरहेछ । सायद त्यही घृणा पोख्दै छु । मरेको, मारेको, काटेको फोटोहरु सोसल मिडियामा कृपया नराखौं । पवित्र ठान्ने ती हजारौं मठ मन्दिरमा आज निर्दोषको बली चढाएर हामी खुसी हुने परम्परा कहिले सम्म ?

अनी त्यही हाम्रो समाज अझै पनि गाउंमा जातको नाउंमा लाखौं दलितलाई पन्छायौं, गाउंमा तल्लो जातको कामी, दमाई भनेर पन्छिन्छौं । कुन नैतिक धरातलमा बसेर म आफू अनि समाजलाई प्रश्न गरुं ? त्यो समाज जहां बच्चा जन्मिएको अवस्थामा खुसी हुनुको सट्टा जुठो पर्यो भन्छौं, सुत्काह परे भन्छौं । म त भन्छु झन् खुशी हुनुपर्ने हो । झन् खुशीयाली मनाउनु पर्ने हो । तर, विडम्बना त्यस्तो हुंदैन । आफ्नै बारीमा २ छाक अन्न उत्पादान गर्न नसक्नेले आज पर्वको नाममा चामलको सत्यनास गर्यौं । हुन त ढुङगालाई देऊता सम्झि दुध पिलाउने समाज हामी नै हौं । आफूलाई सवल, सक्षम र बुद्धिमान ठान्दै वर्षभरी समानताको नारा लगाऊंदै हिंडे पनि आज कोही तपाईंको, मेरो घरमा कुनै चेलीको रजस्वला भयो भने हामी उसलाई पन्छाउंछौं । मन्दिर जानबाट रोक्छौं । समय लाग्ला तर त्यो परिवर्तन अवश्य आउंछ जुन दिन हामी यी कुरीतिलाई जरैबाट निकाल्ने छौं ।

माथिको तस्वीर सम्झंदै ६ वर्ष पहिला, ९० वर्षको हजुरबुवा र ८४ वर्षकी हजुरआमाबाट थापेको आशीर्वाद यसपाली थाप्न नसके पनि अर्को वर्ष ९० वर्षकी हजुरआमाबाट आसिक लिन पाउं । दिवंगत हजुरबुवा र मावलको हजुरआमाको आत्मालाई शान्ति मिलोस् । यी चाडपर्व सबैको परिवर्तनशील रहोस् । सानो सोचबाट बाहिर निस्कन सकौं र आपसमा भाइचारा कायम राखी प्रगतिशील समाजको स्थापना गर्न सकौं । यही नै सबैलाई शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री