ओनसरी लडाकु कमान्डरदेखि सभामुखसम्म

1445008564922_RS-KTM-new sabhadukha-3

काठमाडौँ, २९ असोज । नेपाली समाजमा एउटा उखान प्रचलित छ, ‘नपत्याउँदो खोलाले बगाउँछ ।’ सभामुख पदमा ओनसरी घर्तीको आज भएको निर्वाचनले यही उखानलाई सम्झाएको छ । नेपालको सर्वोच्च मर्यादाक्रममा पाँचवटा पदलाई अति विशिष्ट रुपमा लिने गरिन्छ, ती हुन् — राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख ।

रोल्पाको सामान्य परिवारबाट राजनीतिमा उठेको सामान्य महिला आज मुलुकको पाँचवटा सर्वोच्च पदमध्ये एउटा पद सभामुखमा निर्वाचित भएकी छिन् । यसरी नेपाली लोकपरम्परामा प्रचलित उखान ‘नपत्याउने खोलाले बगाउँछ’ ओनसरी घर्तीको हकमा पूर्णतः लागू भएको छ ।

दोस्रो संविधानसभाको निर्वाचनमा एकीकृत नेकपा (माओवादी) ले सोचेअनुरुप नतिजा ल्याउन सकेन । २४० वटा निर्वाचन क्षेत्रमा भएको निर्वाचनमा २६ सदस्य मात्र प्रत्यक्ष रुपमा विजय हासिल गर्न सफल भयो, एमाओवादी । त्यसमध्येकी एक थिइन् ओनसरी घर्ती । पार्टीका ठूला र स्थापित नेताले निर्वाचनमा पराजय भोगिरहँदा माओवादी जनयुद्धको आधारभूमि मानिने रोल्पा क्षेत्र नं २ बाट निर्वाचन जित्ने एक्ली महिलाका रुपमा उनको सिंहदरबार प्रवेश भयो ।

शक्ति सन्तुलनका आधारमा उनले उपसभामुखको दायित्व कुशलतापूर्वक निर्वाह गरिन् । संविधानसभाको काम कारबाहीमा उनको सक्रिय योगदान र लगावले रोल्पाको सामान्य महिला घर्तीको उचाइ एकाएक बढाइदियो । संविधान घोषणालगत्तै नेपाली राजनीतिले कोल्टे फेरयो । संविधान जारी गर्ने बेलामा प्रमुख राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिलाई अगाडि बढाउने वा नबढाउने भन्नेमा दलबीच विवाद देखियो । अन्तमा नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्रीका उम्मेदवार केपी शर्मा ओलीलाई एकीकृत नेकपा (माओवादी) ले साथ एवम् सहयोग गरयो र ओली नेपालको ३८आँै प्रधानमन्त्री निर्वाचित भए ।

प्रधानमन्त्रीको चयनसँगै सभामुख र उपसभामुख चयन गर्ने कार्यतालिका प्रकाशित भयो । सोही बेला एमाओवादीले पार्टी महासचिव कृष्णबहादुर महरालाई सभामुखमा पठाउने चर्चा र परिचर्चा पनि चल्यो । तर, महराले निष्क्रियजस्तो लाग्ने सभामुखको पदमा जान अस्वीकार गरे । त्यसपछि प्रमुख सचेतक गिरिराजमणि पोखरेलको नाम सतहमा आयो, उनले पनि अनिच्छा प्रकट गरेपछि बिहीबार बसेको एमाओवादीको स्थायी समितिको बैठकले घर्तीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरयो । संयोग नै मान्नुपर्छ, नेपालको राजनीतिक इतिहासमा एउटा महिलाले पाएको सर्वोच्च सभामुखको पदमा घर्तीले आफूलाई विजयी तुल्याइन् ।

यसअघि उपसभामुखभन्दा माथि चढ्न नसकेका महिला नेत्रीहरूमध्ये घर्तीले सफलताको उच्च शिखर चढेकी छिन् । नेपालको सर्वोच्च मर्यादाक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीस र सभामुख पदसँग मात्र सम्माननीय शब्द प्रयोग हुन्छ, त्यो पदवी प्राप्त गर्ने महत्वपूर्ण अवसर घर्तीले प्राप्त गरिन् ।

उनले पाएको यो सम्माननीय पद विगतको सङ्घर्षमय जीवनले निर्धारण गरिदिएको हो । निर्वाचनमा महिला नेत्रीहरू विजयी नहुनु, पार्टीका वरिष्ठ नेताहरूले सो पद अस्वीकार गर्नुले पनि घर्तीलाई सहज रुपमा बाटो खोलिदिएको हो ।

नवनिर्वाचित सभामुख घर्तीको जन्म रोल्पाको जङ्काट गाविस माडिचौरको एक साधारण किसान परिवारमा २०३४ साल कात्तिक २८ गते भएको थियो । ३८ वर्षको युवा उमेरमा नै सभामुख पदमा निर्वाचित हुने उनी सम्भवतः नेपालको राजनीतिक इतिहासमा कान्छो सभामुख हुन् । माओवादी आन्दोलनमा लागेका ठूला र स्थापित अनुहार भएका महिला नेत्रीलाई पछि पार्दै घर्ती सो पदमा पुग्न सफल भइन् । विसं २०४६ देखि विद्यार्थी आन्दोलनवाट राजनीतिमा प्रवेश गरेकी घर्ती २०४८ सालमा विद्यार्थी सङ्गठनको जिल्ला कोषाध्यक्ष र महिला जिल्ला सदस्य तथा नेकपा (एकता केन्द्र) को पार्टी सदस्यता प्राप्त गरेकी थिइन् ।

माओवादीले २०५२ सालदेखि सुरु गरेको सशस्त्र सङ्घर्षमा रोल्पाबाट दलमा आबद्ध हुने थोरै महिला लडाकुमध्ये घर्ती एक हुन् । विसं २०५२ मा पार्टीको जिल्ला भेलामा माओवादी नेता वर्षमान पुनसँग जनवादी प्रेम विवाह गरेकी उनले २०५२ सालको सशस्त्र सङ्घर्षको सुरुवातको रोल्पा होलेरी चौकी आक्रमणमा लडाकुका रुपमा सहभागी र भूमिगत जीवनको सुरुवात गरेकी थिइन् ।

विसं २०५४ मा नेकपा (माओवादी) रोल्पा जिल्ला समिति सदस्य, २०५७ मा क्षेत्रीय ब्यूरो सदस्य, २०६० मा केन्द्रीय सदस्य, २०७० सालमा पोलिटब्यूरो सदस्य हुँदै २०६४ को पहिलो संविधानसभामा समानुपातिक तर्फबाट संविधानसभा सदस्य भइन् घर्ती ।
रोल्पादेखि पूर्वी पहाडसम्म माओवादी सशस्त्र सङ्घर्षलाई फैलाउन विशेष भूमिका निर्वाह गरेकी घर्ती माओवादी सेनाको उच्च तहमा समेत पुग्ने अवसर पाइन् । विसं २०६७ को झलनाथ खनाल मन्त्री परिषद्मा युवा तथा खेलकुदमन्त्रीसमेत भएकी घर्ती दोस्रो संविधानसभामा रोल्पा २ नम्बर क्षेत्रवाट विजयी भइ उपसभामुख समेत निर्वाचित भइन् ।
घर्तीको बाल्यकाल एक साधारण किसान परिवारका सबै दुःखपीडा सामना गर्दै बित्यो । गाउँकै विद्यालयमा पाँच कक्षासम्म अध्ययन गर्नुभएपछि नजिकै विद्यालय नभएकाले रोल्पा सदरमुकाम लिवाङ गएर डेरा लिएर कठिन सङ्घर्ष गर्दै बालकल्याण माविबाट एसएलसी उत्तीर्ण गरिन् ।

एमाओवादीमा ‘उषा’ नामले चिनिने घर्ती प्रसाद घर्तीमगर र नौमती घर्तीमगरका माहिली छोरी हुन् । तीन दाजु, चार दिदी बहिनीमध्ये उनी नेपालको राजनीतिको सर्वोच्च पदमा पुग्ने थोरै महिला नेत्रीमध्ये एक भएकी छिन् । एक छोरा र एक छोरीकी आमा घर्ती २०५२ सालमा तत्कालीन माओवादीको आदेशमा भूमिगत हुने थोरै रोल्पाली महिलामध्ये एक हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री