
सभामुख र उपसभामुखमा उम्मेदवारी नदिने काँग्रेसको निर्णय
काठमाडौँ, २९ असोज । नेपाली काँग्रेसले आज हुने सभामुख र उपसभामुख पदको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको छ ।
पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा आज बसेको काँग्रेस पदाधिकारीको बैठकले ती दुई पदमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार नबनाउने निर्णय गरेको हो ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा भने प्रधानमन्त्री निर्वाचनको क्रममा आफूलाई सहयोग गर्ने दलहरुसँगको आवश्यक परामर्श र सल्लाहका आधारमा अगाडि बढ्ने निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निर्वाचनको क्रममा काँग्रेसलाई मधेस केन्द्रित दलले सहयोग गरेका थिए । ‘‘प्रधानमन्त्रीको निर्वाचनमा सहयोग गरेको दलसँग आवश्यक परामर्श र छलफलपछि राष्ट्रपति र उपराष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरेका छौँ’’ बैठकपछि पार्टी प्रवक्ता दिलेन्द्र्रप्रसाद बडूले भन्नुभयो ‘‘आजको निर्वाचनमा हाम्रो आधिकारिक उम्मेदवार कोही पनि छैनन्, तर राष्ट्रपति र उपराष्ट्रपतिको हकमा भने हामी उम्मेदवारी तय गछौँ ।’’
व्यवस्थापिका–संसद्को आज दिउँसो ३ बजे बस्ने बैठकमा सभामुखको निर्वाचन हुनेछ । व्यवस्थापिका–संसद् सचिवालयले निर्वाचन कार्यतालिका प्रकाशित गरी बहुमतीय प्रक्रियाका आधारमा सभामुख चयन गर्ने जनाएको छ ।
आज बिहान ११ देखि २ बजेसम्म सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको छ ।
सभामुखमा एकीकृत नेकपा (माओवादी)ले रोल्पा क्षेत्र नं २ बाट निर्वाचित सांसद ओनसरी घर्तीलाई उम्मेदवार बनाएको छ । प्रमुख सत्तारुढ दल नेकपा (एमाले), एमाओवादी र सरकारलाई सहयोग गरेका अन्य दलको सहयोगमा घर्ती सहजै निर्वाचित हुने बाटो खुलेको छ ।
दोस्रो संविधानसभा निर्वाचनमा रोल्पाबाट विजयी हुनुभएकी घर्ती एमाओवादीको तर्फबाट प्रत्यक्ष निर्वाचित हुने २६ जना सांसदमध्ये एक मात्र निर्वाचित महिला सांसद हुनुहुन्छ । उपसभामुखको जिम्मेवारीसमेत सम्हालिसक्नुभएकी घर्ती सत्तारुढ दलको साझा उम्मेदवारको रुपमा देखिनुभएको छ ।
व्यवस्थापिका–संसद् सचिवालयले बिहीबार दिउँसो ३ बजेसम्म सहमतिका आधारमा सभामुख चयन गर्ने निर्वाचन तालिका प्रकाशित गरेको थियो । सो समयसम्म सहमतिका आधारमा सभामुख चयन नभएपछि आज बहुमतीय प्रक्रियामा प्रवेश गरेको हो ।
यस्तै सचिवालयले आज साँझ ५ बजेका लागि उपसभामुखको निर्वाचन हुने कार्यक्रम तय गरेको छ । उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले उम्मेदवारी दिने जनाएको छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई