इस्लामावाद, २६ असोज । पाकिस्तानको दक्षिणी सहर कराचीमा मङ्गलबार बिहान सबेरै गएको पहिरोमा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको समाचार छ ।
कराचीको गल्स्तान ए जुवाहार क्षेत्रमा चट्टान खसेर एक गाउका १३ जना नागरिकलाई पुरेको हो । सो पहिरोमा परी पुरिएकामा सात जना बालबालिका पनि रहेका छन् ।
सो क्षेत्रमा भएको उक्त दुर्घटनाको उद्वारका लागि उद्वारकर्ताहरु सो क्षेत्रतर्फ लागेका छन् । उनीहरुले अहिलेसम्ममा पहिरोबाट सात जना बालबालिका र तीन महिलाको शव निकालेका छन् ।
सो पहिरोमा पुरिएका अझै तीन जनाको शव निकाल्ने प्रयत्नमा ती उद्वारकर्मीहरु लागि परेका छन् । सो क्षेत्रमा कैयौंको सङ्ख्यामा प्रहरी र उद्वारकर्ताहरु खटिरहेका छन् ।
यसरी मारिने सबैजना एकै परिवारका रहेका पनि प्रहरीले जनाएको छ । उनीहरु पञ्जावबाट त्यहाँ पुगेका बताइएको छ ।
सो क्षेत्रमा क्याम्प हालेर बसेका उनीहरु किन त्यहाँ गएका हुन भन्ने बारेमा भने केही पनि खुलाइएको छैन ।
तीन दिन अघि उनीहरु क्याम्प हालेर सो क्षेत्रमा बस्न थालेका थिए ।