काठमाडौँ, २५ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को सातौँ अधिवेशन तथा विश्व सम्मेलन आगामी असोज २७ देखि ३० सम्म काठमाडौँमा हुने भएको छ ।
उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एनआरएनले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
एनआरएनको नयाँ कार्यसमिति चयन तथा विश्व सम्मेलन दुई चरणमा हुनेछ, जसमा सातौँ अधिवेशन आगामी असोज २७ देखि २८ सम्म हुनेछ ।
आर्मी अफिसर्स क्लबमा आयोजना हुने वार्षिक साधारणसभाको एनआरएनका वर्तमान तथा पूर्व अध्यक्षले सामूहिक उद्घाटन गर्नुहुनेछ ।
त्यसैगरी, २९ गते सोल्टी होटलमा आयोजना हुने एनआरएन विश्व सम्मेलनको राष्ट्रपति डा रामवरण यादवले उद्घाटन गर्नुहुनेछ ।
विश्व सम्मेलनमा पर्यवेक्षकसहित एक हजार ५०० एनआरएन सदस्यले सहभागिता जनाउने बताइएको छ ।
“गैरआवासीय नेपाली सङ्घ, पुनःनिर्माणको सच्चा साझेदार” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलनले आगामी दुईवर्षे कार्यकालमा पुनःनिर्माणका कार्यक्रमलाई प्राथमिकता दिने संस्थाले जनाएको छ ।
पत्रकार सम्मेलनमा एनआरएनका अध्यक्ष शेष घलेले नेपालमा भूकम्पपछिको अवस्थामा समुदायमा आधारित कार्यक्रमलाई मध्यनजर गर्दै पुनःनिर्माणका कार्यलाई प्राथमिकता दिइने बताए ।
“अबको दुई वर्ष पुनःनिर्माणमै ध्यान केन्द्रित गर्छौं । घोषित भूकम्प प्रभावित पाँच जिल्लामा एक हजार घर निर्माण गर्ने काम दुई वर्षभित्रै टुङ्गो लगाउँछौँ । निर्माणपछि सरकारको स्वामित्वमा अति गरिब र पिछडिएका समुदायलाई हस्तान्तरण गर्नेछौँ”– उनले भने ।
सरकार र एनआरएनबीच असोज २४ गते एनआरएन दिवसका अवसरमा भूकम्प प्रभावित पाँच जिल्लामा एक हजार घर निर्माण गर्ने सम्झौता भएको थियो । घर निर्माणका लागि रु ३५ करोड रकम विनियोजन गरिएको संस्थाले जनाएको छ ।
अध्यक्ष घलेले संस्थालाई दिगो र कसरी संस्थागत गर्ने भन्ने प्रमुख चुनौती रहेकाले त्यसलाई दुई वर्षभित्रै पूर्णता दिने पनि बताए ।
एनआरएनलाई विकास साझेदार संस्थाका रुपमा विकास गरिने तथा नेपालको आर्थिक, सामाजिक विकासमा लगानी गर्दै आएको प्रवासी नेपाली व्यवसायीको संस्था एनआरएनलाई अन्य अन्तर्राष्ट्रिय संस्था जस्तै विकास साझेदार संस्थाका रुपमा विकास गरिने भएको छ ।
संस्थाका अध्यक्ष घलेले अबको बढीमा १५ वर्षभित्र संस्थालाई नेपालको विकास साझेदार संस्था युएनडिपी जस्तै बनाइने प्रतिबद्धता जनाए ।
तत्काल सामाजिक क्षेत्रमा काम गर्ने संस्थाले भविष्यमा व्यावसायिक क्षेत्रमा पनि हात हाल्न सक्ने भन्दै उहाँले नेपालका केही जलविद्युत् आयोजना, होटललगायतका क्षेत्रमा हात हालेको बताए ।
अध्यक्ष घलेले नेपालको संविधान २०७२ मा एनआरएनलाई नागरिकता दिने व्यवस्था ठूलो उपलब्धि भएको र यसले लगानीको वातावरण सिर्जना गर्ने बताए ।
एनआरएनले खासगरी जलविद्युत्, पर्यटनलगायतका क्षेत्रमा लगानी गर्ने चासो देखाएको छ । उसले केही परियोजना सुरुवात पनि गरिसकेको छ । लमजुङमा जलविद्युत् आयोजना र काठमाडौँमा पाँचतारे होटल निर्माण सुरु गरिएको संस्थाले जनाएको छ ।
एनआरएन नेतृत्वका लागि तीन प्रत्यासी
एनआरएनको आगामी नेतृत्वका लागि अध्यक्षको प्रत्यासीमा वर्तमान अध्यक्ष शेष घले, उपाध्यक्ष टीबी कार्की र पूर्वमहासचिव रतन झाले उम्मेदवारी दिनुभएको एनआरएन प्रवक्ता मन केसीले जानकारी दिनुभयो ।
अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष तथा अन्तर्राष्ट्रिय कार्यसमितिसहित १०० जनाभन्दा बढीको कार्यसमिति हुनेछ । सम्मेलनका लागि रु एक करोड खर्च लाग्ने बताइएको छ ।
विश्वका ७१ देशमा शाखा रहेको एनआरएनमा करिब ४० हजार सदस्य आबद्ध रहेको संस्थाले जनाएको छ ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ