संविधानबाट प्राप्त उपलब्धिको रक्षा गर्न एमाओवादीको अपिल

प्रचण्ड

प्रचण्ड

काठमाडौँ, ६ असोज । एकीकृत नेकपा (माओवादी)ले नयाँ संविधानसभाबाट प्राप्त भएका सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकरण र सामाजिक न्यायलगायत जनताका महत्वपूर्ण उपलब्धिको रक्षा गर्न अपिल गरेको छ ।

नेपाली जनताले आफ्नो संविधान आफैँ बनाउन करिब सात दशकदेखि गर्दै आएको निरन्तरको सङ्घर्षको परिणामस्वरुप संविधानसभाबाट नयाँ संविधान घोषणा भएको उल्लेख गर्दै प्राप्त उपलब्धिलाई संरक्षण सबैसँग आग्रह गरिएको छ  ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “सामाजिक न्यायसहितको समावेशी लोकतन्त्रलाई राष्ट्रको तात्कालिक कार्यसूची बनाउँदै त्यसको पक्षमा मुख्य रुपमा सङ्घर्ष गर्ने आफ्नो पार्टी र राष्ट्रको लागि ऐतिहासिक उपलब्धि हो ।”

सबै प्रकारका चुनौतिलाई चिर्दै संविधान निर्माण प्रक्रियालाई घोषणाको यो बिन्दुसम्म पुरयाउन नेतृत्वदायी भूमिका खेल्ने सम्पूर्ण जनता र नेपालको हित चाहने सबैका लागि यो हर्ष र प्रसन्नताको विषय भएको विज्ञप्तिमा उल्लेख छ ।

एमाओवादीले संविधान जारी भएको अवसरमा देश, जनता, संविधानसभा र यो परिवर्तनको मुद्दाको निम्ति सङ्घर्षमा जीवन बलिदान गर्नु हुने सहिदप्रति श्रद्धाञ्जली, बेपत्ता योद्धाप्रति सम्मान प्रकट, घाइते योद्धामा अभिनन्दन, जनताप्रति आभार एवम् धन्यवाद प्रकट व्यक्त गरेको छ ।

संविधानको घोषणालाई ऐतिहासिक उपलब्धिका रुपमा स्वागत गर्दै खुसी प्रकट गरिरहँदा यस सन्दर्भमा देखिएका गलत विषयप्रति विरोध, असहमति र मतभेदलाई राजनीतिक सम्बोधनबाट समाधान गर्न आग्रह गरेको छ ।

संविधानसभाभित्र रहेका मधेस केन्द्रित पार्टी र थारुलगायत विभिन्न उत्पीडित वर्ग एवम् समुदायप्रति नयाँ संविधानले पहिचान र आफ्नो हक अधिकारको मुद्दालाई सम्बोधन गर्न नसकेको भन्दै सङ्घर्ष गरेको उल्लेख छ ।

संविधानसभामा रहेको सबै शक्तिको सहभागिता र स्वामित्व कायम हुन सकेन भने संविधानको घोषणा पछि देशमा तनाव र द्वन्द्व जडित स्थिति कायम हुनु नेपाल र नेपालीको हितमा नहुने विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

पार्टीले अन्दोलनकारी शक्ति र उत्पीडित समुदायसँग इमान्दार एवम् गम्भीर वार्ता र राजनीतिक समाधानको सक्रिय पहल गरिनुपर्नेमा जोड दिएको छ ।

एमाओवादीले मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, सीमान्तकृतलगायत उत्पीडित समुदायका ती मुद्दामा पार्टी सङ्घर्षरत रहिरहेको र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी कार्यलाई विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुसार सम्पन्न पार्ने दिशामा अघि बढ्न सबैमा अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री