
आफ्ना छोराको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै आमरण अनसन बसेकै अवस्थामा गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको निधन भएको आज एक वर्ष पुगेको अवसरमा दीप प्रज्जलन गर्दै गङ्गामाया अधिकारी । तस्बिर ः कालिका खड्का, रासस
काठमाडौँ, ६ असोज । आफ्ना छोराको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दागर्दै आमरण अनशन बसेकै अवस्थामा गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको निधन भएको आज एक वर्ष पुगिसक्दा पनि अन्तिम संस्कार अझै हुन सकेको छैन ।
छोरा कृष्णप्रसाद अधिकारीको हत्या गरिएको १२ वर्ष पुगिसक्दा पनि अझै अधिकारी दम्पतीले न्याय पाएका छैनन् । न्याय माग्दै अनशनमा बसेका अधिकारीको गतवर्ष असोज ६ गते निधन भएको थियो तर अहिलेसम्म उनको अन्तिम संस्कार हुन सकेको छैन भने उनकी पत्नी गङ्गामाया अधिकारी अहिले पनि वीर अस्पतालमा अनशन बसिरहेकी छन् ।
अनशनका क्रममा निधन भएको एक वर्ष पुगिसक्दा पनि राज्यले नन्दप्रसादको अन्तिम संस्कार गर्ने व्यवस्था मिलाएको छैन् । उनको शव अहिले पनि त्रिवि शिक्षण अस्पतालको शवगृहको ४ नं बाकसमा छ ।
अधिकारी दम्पत्ती आफ्नो छोराको हत्या भएको जानकारी पाएदेखि गोरखाबाट अनसन सुरु गरी काठमाडौँको विभिन्न स्थानमा आमरण अनशन बस्दाबस्दै ३३३ दिनमा नन्दप्रसादको निधन भएको थियो ।
निधन भएको एक वर्ष पुगेकामा आज वीर अस्पताल अगाडि नन्दप्रसादको सम्झनामा दीप प्रज्जलनको ‘न्याय खोइ ?’ नामक कार्यक्रम आयोजना गरियो । गङ्गमाया आफैले आफ्नो पतिको निधन भएको एक वार्षिकीमा दीप प्रज्जलन गरेकी थिइन् ।
“मेरो छोराको हत्या गरेको यतिका वर्ष बितिसक्यो, कि मलाई न्याय देऊ कि मलाई मारिदेऊ, यसरी तड्पिएर मलाई बाँच्नु छैन”–गङ्गामायाले आफ्नो पीडा पोख्दै भनिन् ।
आफ्ना पति छोराको हत्यामा संलग्न दोषीलाई कारबाही होला अनि भात खाउँला भन्दा भन्दै मृत्युवरण गर्नुपरेको दुःखत घटना सुनाउँदै उनले भनिन्, “छोरा मारियो, अनशनका क्रममा पतिको मृत्यु भयो, म किन बाँच्नु बरु मलाई पनि मारिदेऊ ।”
विसं २०६१ मा १६ वर्षीय कृष्णप्रसाद अधिकारीलाई चितवनमा गोली हानी हत्या गर्ने छविलाल पौडेल, जमुना पौडेल, रामप्रसाद अधिकारीलगायत दोषी भएको पत्ता लागिसक्दा पनि उनीहरुलाई कानुनी कठघरामा ल्याइए पनि छोडिएको छ । त्यही छोराका हत्यामा संलग्न दोषी खुलेयाम हिंडिरहेकाले उनीहरुलाई कारबाहीको माग गर्दै न्यायका लागि अहिले पनि गङ्गमाया अनसनरत छिन् ।
रामेछापका द्वन्द्वपीडित कल्याण बुढाथोकीले भने, “आफ्नो छोराको न्यायका लागि आमरण अनशन बस्दा बस्दै निधन भएको छ, उनको अन्तिम संस्कारसमेत गरिएको छैन, एउटा दलले हत्या गर्ने अर्को दलले आममाफी दिने कानुन बनाउने, यो तरिकाले कसरी न्याय मिल्छ ?”
मानव अधिकारकर्मी कपिल श्रेष्ठले हत्यामा संलग्न दोषीको पहिचान भइसक्दा पनि कारबाही नहुनु दुखद् भएको बताए ।
नेपाल बार एसोसियसनका महासचिव सुनिलकुमार पोखरेलको हत्याका दोषी पहिचान भएर कानुनी कठघरामा ल्याई सकेपछि फेरि दोषीलाई छोड्नु नहुने र पीडितलाई न्यायका लागि सरकारले पनि विशेष ध्यान दिनुपर्ने भनाई थियो ।
छोराको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न माग गर्दै गङ्गमायाले गत भदौ १ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् । त्यसको हालसम्म सुनुवाई भएको छैन ।
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]