प्रधानमन्त्री कोइराला र भारतीय राजदूतबीच भेट, प्रम अमेरिका नजाने

नेपालका लागि भारतीय राजदूत रन्जित रे

नेपालका लागि भारतीय राजदूत रन्जित रे

काठमाडौँ, ६ असोज । प्रधानमन्त्री सुशील कोइराला र नेपालका लागि भारतीय राजदूत रणजीत रायबीच आज मुलुकको समसामयिक विषयमा कुराकानी भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पछिल्लो समय दुई देशबीच देखिएको असमझदारी र तिक्तताबारे परामर्श भएको थियो ।

राजदूत रायले दिल्लीबाट फर्केपछि त्यहाँ भएको भेटघाट र परामर्शबारे प्रधानमन्त्री कोइरालालाई ब्रिफिङ गर्नुभएको थियो ।

प्रधानमन्त्री कोइराला र राजदूत रायबीच वर्तमान सन्दर्भमा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिनुभयो ।

“राजदूत राय दिल्लीबाट फर्केपछि दिल्लीमा भएको भेटघाटबारे प्रधानमन्त्रीलाई ब्रिफिङ् गर्नुभयो । वर्तमान सन्दर्भमा उहाँहरुबीच सकारात्मक कुराकानी भएको छ,”–उहाँले भन्नुभयो ।

देशको अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री कोइरालाको अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभाको कार्यक्रममा सहभागिता जनाउने कार्यक्रमको नेतृत्व नगर्ने निर्णय गर्नुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो– “संविधान आउनु अघिदेखिनै मधेस आन्दोलनमा छ, मधेसी समुदायलाई मिलाएर एकैठाउँमा ल्याएर संवाद गरेर लैजाने प्रधानमन्त्रीको प्राथमिकता भएकाले संयुक्त राष्ट्र सङ्घको ७० औँ महत्वपूर्ण बैठक छोडेर देशको आन्तरिक अवस्थालाई मध्यनजर गर्दै उहाँले नजाने निर्णय गर्नुभयो ।”

असन्तुष्ट पक्षलाई वार्तामा ल्याई शान्तिपूर्ण तवरले समाधान खोज्नका लागि प्रधानमन्त्री कोइरालाले ती दलका नेताहरुलाई उनीहरुकै कार्यालयमा गएर भेटी पहल गरिरहनुभएको छ । मधेसको समस्या समाधानका लागि उहाँले आज पनि विभिन्न चरणमा दलीय छलफल गर्नुहुने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री कोइराला आफ्नो स्वास्थ्य परीक्षणका लागिसमेत अमेरिका जाने तयारी गर्नु भएपनि स्वास्थ्यलाई जोखिम मोलेर देशको जटिल अवस्थालाई मध्यनजर गरी वार्ताको माध्यमबाट सहमति खोज्नका लागि अमेरिका नजाने निर्णय गर्नुभएको पनि डा भट्टराईले प्रष्ट पार्नुभयो ।

खासगरी नेपालमा संविधान जारी भएपछि भारतको पछिल्लो वक्तव्यलाई लिएर विभिन्न टीका टिप्पणी भएपछि दुई देशबीचको कूटनीतिक सम्बन्धलाई सुमधुर बनाउनका लागि दुवैतर्फबाट कूटनीतिक पहल जारी रहेको सन्दर्भमा राजदूत राय नेपालको सन्देश लिएर नयाँ दिल्ली पुग्नुभएको थियो ।

दिल्लीको भेटघाट र परामर्शपछि उहाँ आज सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री