
नयाँ संविधान जारी भएको उपलक्ष्यमा नेकपा एमालेद्वारा दशरथ रङ्गशालामा आयोजित चियापान कार्यक्रममा चिया खाँदै एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड साथमा एमाले अध्यक्ष केपी शर्मा ओली र सभामुख सुवास नेम्बाङ । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
काठमाडौँ, ५ असोज ।
‘हाम्रो संविधान ः राम्रो संविधान
तीन दलले तीन गते ल्याएको हाम्रो संविधान…’
जन कलाकार अमृत खातीले संविधानको स्वागतमा गीत गाइरहँदा सहभागी जनसमुदाय ‘हो हो’ भन्दै नाँचिरहेका थिए ।
रङ्गिन र झकिझकाउ बनाइएको दशरथ रङ्गशालाभित्र आज दिनभर यो क्रम चलिरह्यो । मञ्चमा गीत र नृत्य चलिरहेका बेला परिसरभित्र विभिन्न झाँकीको पनि नियमित प्रदर्शन भइरहेको थियो । पञ्चैबाजादेखि, धीमेबाजा र ‘सोइ ढोले सोइ’ मात्र होइन ह्लोल्मोसम्मका बाजा र धून अटुटरुपमा बजिरहेको थियो ।
खेलकुदका गतिविधिमा व्यस्त रहने रङ्गशालामा तिनै गीत र नृत्यका बीच विभिन्न पार्टीका नेता, कार्यकर्ता, विशिष्ट व्यक्ति र सर्वसाधारणलाई नेकपा (एमाले) ले स्वागत गरिरहेको थियो । संविधानसभाबाट यही असोज ३ गते नेपालको संविधान जारी भएको खुशीयालीमा आयोजित भव्य चियापन कार्यक्रममा राजनीतिक र सांस्कृतिकरुपमा पनि रोचक रह्यो ।
राष्ट्रिय झन्डामा उत्साहका साथ नाचिरहेका युवादेखि राष्ट्रिय जनसांस्कृतिक महासङ्घका कलाकारको सांस्कृतिक प्रस्तुति अविस्मरणीय थियो । कलाकारहरु मधु गुरूङ, मनोज गजुरेल, टीका भण्डारी, राजा राजेन्द्र, भूमिका सुब्बा, बन्दना मैनाली, प्रेमनाथ अधिकारीलगायतले प्रस्तुति दिनुभएको थियो ।
परिसरभित्रका विभिन्न स्थानमा ‘नेपालको संविधान हार्दिक स्वागत’ लेखिएका तुल र ब्यानर राखिएका थिए भने ६०१ जना सभासद्ले संविधान ल्याउने सफलता पाएको जनाउँदै ६०१ वटा बेलुन उडाइएको थियो । भूकम्पबाट ध्वस्त धरहराको प्रतिबिम्ब (कला) को छेउमा उभिएर प्रधानमन्त्री सुशील कोइरालाको उपस्थितिमा एमालेका तीन शीर्ष नेता अध्यक्ष ओली, झलनाथ खनाल र माधवकुमार नेपालले ती बेलुन उडाए । चियापानमा आउने. पाहुनालाई स्वागत गर्न मूल प्रवेशद्वारदेखि नै विभिन्न राष्ट्रिय भेषभूषामा सजिएर अभिवादन गरेका थिए ।
आगन्तुकलाई स्वागत गर्दै चियापान कार्यक्रम व्यवस्थापन समितिका संयोजक तथा एमालेका सचिव योगेश भट्टराईले संविधानसभामार्फत नयाँ संविधान बनेको ऐतिहासिक अवसरमा खुसियालीको मेला नै आयोजना भएको बताए ।
कार्यक्रममा प्रधानमन्त्री कोइराला, सभामुख सुवास नेम्बाङ, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, मन्त्रीहरु, विभिन्न पार्टीका नेता, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि सहभागी भए ।
यस्तै, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, कलाकार, पत्रकार, कानुन व्यवसायी, शिक्षक, प्राध्यापक, उद्यमी व्यवसायी, श्रमिक पेसाकर्मी, खेलाडी, निजामती तथा जङ्गी सेवाका अधिकारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवालगायत जनसमुदायको उल्लेख्य सहभागिता थियो ।
एमालेका महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा गत भदौ ३१ गते बसेको केन्द्रीय सचिवालय बैठकले चियापान कार्यक्रम व्यवस्थित गर्न पार्टी सचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख भट्टराईको संयोजकत्वमा आर्थिक विभाग प्रमुख विष्णु रिमाल र कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ रहनुभएको तीन सदस्यीय व्यवस्थापन कमिटी पनि गठन गरिएको थियो ।
अपराह्न १ देखि ५ बजेसम्म चलेको चियापानमा १ देखि ३ बजेसम्म पार्टी सदस्य र सर्वसाधारण तथा ३ देखि ५ बजेसम्म पाहुनाको उपस्थिति थियो ।
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार