देशभरि नयाँ संविधानको स्वागत

नेपालको संविधान २०७२ जारी भएको खुशीयालीमा उद्योग वाणिज्य संघ र गैसस महासंघ खोटाङले निकालेको स्वागत रयालीमा सहभागी महिला । तस्बिर ः केदार मगर खोटाङ

नेपालको संविधान २०७२ जारी भएको खुशीयालीमा उद्योग वाणिज्य संघ र गैसस महासंघ खोटाङले निकालेको स्वागत रयालीमा सहभागी महिला । तस्बिर ः केदार मगर खोटाङ

काठमाडौँ, ४ असोज । नयाँ संविधान, २०७२ घोषणा भएको अवसरमा आज पनि देशभरि खुसियाली मनाइँदै गरेका समाचार प्राप्त भएका छन् ।

जिरी (दोलखा) ः दोलखाको दोस्रो ठूलो बजार जिरीमा नेपालको संविधान, २०७२ जारी भएको खुसियालीमा ¥याली निकालिएको छ । रयालीमा राजनीतिक दल, विभिन्न सामाजिक सङ्घसंस्था, विद्यार्थी, सर्वसाधारणको सहभागिता रहेको थियो । उक्त अवसरमा विविध प्रकारका स्थानीय झाँकीसमेत प्रदर्शन गरिएका थिए ।

दाङ ः नेपालको संविधान, २०७२ जारी भएकामा खुसी व्यक्त गर्दै दाङमा स्वागतार्थ झाँकी निकालिएको छ । जिल्लाको घोराही, तुलसीपुर, लमही, नारायणपुर, भालुवाङ, गढवा, हापुरे, बिजौरी, रामपुर, हर्नक, मानपुर, सिसनियालगायतका ठाउँमा नयाँ संविधान जारी गरिएकामा उत्सव रयाली एवम् सभाको आयोजना गरीएको छ ।

म्याग्दी ः नेपालको संविधान, २०७२ जारी भएकामा खुसी व्यक्त गर्दै स्थानीय शान्ति समितिले आज सदरमुकाम बेनीमा शान्ति रयाली निकालेको छ । समितिले प्रभातफेरीको समेत आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

दमौली ः नयाँ संविधान जारी भएको खुसियालीमा आज तनहुँको दमौलीमा सद्भाव रयाली निकालिएको छ । हात हातमा राष्ट्रिय झन्डा लिएर निस्केको रयालीले दमौली बजारको परिक्रमा गरेको थियो । उक्त अवसरमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

चितवन ः चितवन क्षेत्र नं ३ का सभासद् कृष्णभक्त पोख्रेलले नयाँ संविधान जारी भएको खुसियालीमा आज चियापान समारोहको आयोजना गर्नुभएको छ । भरतपुरको दीपेन्द्र चोकस्थित आफ्नो निवासमा चियापान समारोह गर्नु भएको हो । सो अवसरमा उहाँले नेपाली जनतालाई सार्वभौम सम्पन्न बनाउन आफूले पाएको जिम्मेवारी पूरा गर्न सकेकामा खुसी साटासाट गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । समारोहमा जिल्लाका राजनीतिक दलका प्रमुखहरु, सुरक्षा र स्थानीय निकायका प्रमुखहरुसहित स्थानीय नेता, कार्यकर्ता एवम् सर्वसाधारणको ठूलो उपस्थिति रहेको थियो ।

चौतारा ः नयाँ संविधान जारी गरिएपछि आज सिन्धुपाल्चोकमा खुसियालीका साथ रयाली निकालिएको छ । रयालीमा राजनीतिक दल, कर्मचारी, पत्रकार, अधिकारकर्मी, नागरिक समाज, सर्वसाधारणको उपस्थिति रहेको थियो । चौताराको टुँडिखेलबाट निकालिएको रयालीले बजार परिक्रमा गरी चियापान कार्यक्रमको समेत आयोजना गरेको थियो । कार्यक्रममा सभासद् अग्निप्रसाद सापकोटा, पूर्व सांसद सुभास कर्माचार्यको समेत उपस्थिति रहेको थियो ।

रामपुर (पाल्पा) ः नयाँ संविधान जारी गरिएको खुसियालीमा पाल्पाको रामपुरमा आज रयाली निकालिएको छ । सदरमुकाम तानसेन, छहरा, अर्गली, बाकामलाङ्गलगायतका ठाउँमा समेत विजय उत्सव मनाइएको छ । विजय रयालीमा सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, पत्रकार, नागरिक समाज, कानुन व्यवसायी, विद्यार्थी र सर्वसाधारणको सहभागिता रहेको थियो ।

भद्रपुर (झापा) ः नेपाल बार एसोसिएसन झापा शाखाले नेपालको संविधान, २०७२ को स्वागत गरेको छ । अध्यक्ष गजेन्द्र आचार्य र सचिव यज्ञप्रसाद अधिकारीले आज विज्ञप्ति जारी गरी नयाँ संविधानको स्वागत गरेका हुन् ।

यसैगरी नयाँ संविधानको स्वागतमा तीन प्रमुख राजनीतिक दलले संयुक्त रुपमा जिल्लाको चन्दगढीस्थित वीरेन्द्र उच्च माविमा एक समारोहको आयोजना गरेका छन् । राजनीतिक दलका कार्यकर्ता, नागरिक समाज, सञ्चारकर्मी, महिला, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधि राष्ट्रिय झन्डा बोकेर कार्यक्रममा सहभागी भएका थिए । सो अवसरमा सभासद् नरेश खरेल, अमृतलाल राजवंशी र मोहन टुडुको उपस्थिति रहेको थियो ।

फलेवास (पर्वत) ः नयाँ संविधान जारी भएको खुसियालीमा पर्वतको फलेवासका गाउँ–गाउँमा सर्वसाधारणले रातभर भजनकीर्तन गरेका छन् । जिल्लाको पाङ, भोर्लेलगायतका गाउँमा भजनकीर्तन गरिएको हो । यस्तै दक्षिणी भेगमा पर्ने त्रिवेणीमा मोटरसाइकल रयाली निकालिएको छ । जिल्लाको रानीपानी, वहाकी, उरामपोखरा गाविसमा रयाली निकालिएको छ । ठूलीपोखरीमा आज चियापान कार्यक्रम आयोजना गरिएको छ ।

दोलखा ः नयाँ संविधान घोषणा भएपछि दोलखाको बोच गाविसमा स्वागत रयाली निकालेका छन् । विभिन्न नारा लेखिएका प्लेकार्ड तथा राष्ट्रिय झन्डा बोकेर उनीहरुले नयाँ संविधानको स्वागत गरेका हुन् । यस्तै सदरमुकाम चरिकोटमा समेत विजय रयाली निकालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री