
काठमाडौँ, १ असोज । सरकारले संविधानसभाबाट संविधान बनेको खुसियालीमा यही असोज ३ र ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधान बनेको खुसियालीमा नेपालभरका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संस्थान तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुमा असोज ३ र ४ गते सार्वजनिक बिदा र दुवै दिन साँझ दीपावली गर्ने निर्णय गरेको हो ।
त्यस्तै, सरकारले गत भदौ ७ गते कैलालीको टीकापुरमा हिंसात्मक आक्रमणमा वीरतापूर्वक काम गर्दागर्दै मृत्युवरण गर्नुभएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीका आश्रित परिवारलाई जनही रु दश लाख दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।
सरकारले तराई–मधेसको आन्दोलनमा घाइते भएकाको औषधोपचारको जिम्मा लिनुका साथै मृतकका आश्रित परिवारलाई जनही रु १० लाखका दरले दिने निर्णय गरेको छ । त्यस्तै, सरकारले आन्दोलनका क्रममा गिरफ्तार भएकामध्ये चाँडो अनुसन्धानको प्रक्रिया सकेर निर्दोषलाई रिहाइ गर्ने र मुद्दा लगाउनुपर्ने ठोस आधार भएकालाई बाहेक अन्यलाई रिहा गर्ने निर्णय गरेको छ ।
सरकारले विशेष आर्थिक क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा चण्डिकाप्रसाद भट्ट र अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको अध्यक्षमा किशोर शाक्यलाई नियुक्त गरेको सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री रिजालले बताउनुभयो ।
बैठकले तात्कालिक समस्या समाधानका लागि दैनिक ३० हजार लिटर दूध तीन महिनासम्म भारत निकासी गर्न प्रतिलिटर दूधमा पाँच रुपैयाँ ९६ पैसा दुग्ध विकास संस्थानलाई अनुदान दिने निर्णय गरेको छ ।
सरकारले नेपालका अस्पतालबाट विदेशी नागरिकलाई सरोगेसी (कोख भाडा) सेवा उपलब्ध गराउने विषयको सरकारको पछिल्लो निर्णय बदर गरेको छ । त्यस्तै सरकारले बिदा नहुने गरी असोज १ गतेको विश्वकर्मा पूजालाई राष्ट्रिय पर्वका रुपमा मनाउने निर्णय गरेको छ ।
बैठकले कार्यविभाजन नियमावलीबाट विज्ञान प्रविधि मन्त्रालयअन्तर्गत रहेका केही सूचना प्रविधिसम्बन्धी कामहरु सञ्चार मन्त्रालयमा ल्याउने निर्णय पनि गरेको छ । त्यस्तै मन्त्रिपरिषद्ले जिम्मेवारी दिएअनुसार अर्थ तथा पूर्वाधार समितिले सूचना तथा सञ्चार प्रविधि नीति पारित गरेको छ ।
यससँगै सरकारले हालको सञ्चार मन्त्रालयको नाम परिवर्तन गरी ‘सूचना तथा सञ्चार प्रविधि मन्त्रालय’ कायम गरेको मन्त्री रिजालले बताउनुभयो । सरकारले नगरपालिकाको क्षेत्र, वडा विस्तार तथा पुनःगठन, नाम संशोधन, केन्द्र परिवर्तन तथा नगरपालिका स्तरोन्नतिसम्बन्धी निर्णय पनि गरेको छ ।
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]