कार्यकाल सात दिन नबित्दै जेरमी पांचौं सिंढीमा

तस्विरः इन्डिपेन्डेन्ट

तस्विरः इन्डिपेन्डेन्ट

लन्डन । बेलायतको लेबर पार्टीको अध्यक्षमा निर्वाचित भएका जेरमी कोरविनको कार्यकाल सात दिनपनि नवित्दै उनले पाँच सिँढी उक्लिसकेका छन् । उनको आदर्शको आधा लडाइ त उनको चुप्पीले नै जिताइ दिएको छ । उनको यो अपत्यारिलो जितको श्रृंखला यही गतिमा अगाडि बढ्दैन भन्ने चाहिं जताततै अड्कल काटिँदै छ । सम्भ्रान्त (एलिट) बर्गको नेतृत्वको परम्परागत बेलायती बोलवालाहरू एकजुट भएर उनको विरूद्धमा खनिने छन् भन्नेमा दुईमत हुन सक्दैन । त्यस खेमामा पर्नेहरू मध्येका खेलाडीहरू उनका आफ्नै पार्टीभित्र पनि छताछुल्ल छन् । त्यसमध्येका एक खेलाडी पूर्व प्रधानमन्त्री टोनी ब्लेयरलाई त राष्ट्रिय मिडियाहरूले नै जेरमीले नेतृत्व समाल्नु भनेको ब्लेयरिजमको अन्त्य भनेर टिप्पणी गरिरहेका छन् ।

बेलायतको राष्ट्रगानको शब्दमा जे छ, त्यस्तै शब्द नेपालको पुरानो राष्ट्रगानमा पनि थियो । अर्थात राजा (रानी) को स्तुति गान (God Save the Queen) । नेपालमा हिंसापूर्ण माओबादी संघर्षमा २०६२–६३ को जनआन्दोलन थपिएपछि त्यो स्तुतिगान फेरेर जनताको राष्ट्रगान बदल्ने स्थिति सिर्जना गर्यो । अध्यक्ष जेरमीको चुप्पीले त्यो स्तुतिबारे बेलायती जनतालाई झक्झकाएको छ । मलाई भने जेरमीको चुप्पी निकै मन परेको छ, जुन चुप्पीले परम्परागत बेलायती राजनीतिमा क्रान्तिकारी बीउ रोपिदिएको छ । स्मरणीय कुरा के पनि छ भने जेरमी कोरविन गणतन्त्रबादी हुन र संसदमा उनको सहभागिता पञ्चायतकालमा नेपाली कांग्रेस र नेकपा(माले) को उपयोगको नीति अन्तरगत जनपक्षीय उम्मेदवार बनेर राष्ट्रिय पञ्चायतमा भण्डाफोडको नीति अपनाएको जस्तै हो ।

लेबर पार्टीका अग्रजहरू नै खुलेर जेरमीले बाहेक जोसुकैले पनि जिते हुन्छ भन्दै उर्लेको अवस्थामा करिव ६० प्रतिशत मतबाट विजय हासिल गर्नु उनको पहिलो सफलताको सिंढी रह्यो । दोस्रो सफलताको सिंढीका रूपमा उनको चुप्पीले काम गर्यो । थुप्रै आलोचनात्मक टिप्पणीहरूका बीच छाया क्याविनेटको गठन तेस्रो र चौथो सफलतको सिंढीका रूपमा संसदभित्र प्रधानमन्त्रीसंगको सवाल–जवाफको कार्यक्रममा नाटकीय प्रहसनको स्वरूप बदलेर जनताका प्रश्नको बाणले प्रम क्यामरूनलाई आघात पार्नमा उनले आफूभित्रको क्षमतालाई महाभारतका अर्जुनको कौसलताका रूपमा देखाएका छन् ।

जसरी दोस्रो विश्वयुद्धका योद्धाहरूको सम्मानको कार्यक्रममा राष्ट्रगान नगाई चुप्प बसेर राष्ट्रगानभित्र रहेका शब्द विरूद्धमा जुन विद्रोह उनले गरे त्यसलाई मिडियाहरूबाट सम्मानका लागि कार्यक्रममा उपस्थित भएको तर्क सहित बचाव गर्न सफल भए त्यसलाई उनको पाँचौ सफलतामा गणना गरिएको छ ।

उनको पदको गरिमा र कार्य सम्पादनकालागि नियम अनुसरण गर्नै पर्ने बाध्यताका कारण भविष्यमा भने उनले राष्ट्रगान गाउने नै छन् भनेर राष्ट्रिय पत्रिका तथा मिडियाहरूमा टिप्पणी भैरहेका छन् । उनका सहकर्मी छायामन्त्रीहरू तथा सांसदहरूले पनि उनलाई राष्ट्रिय गान गाउन दवाव दिएको बताइएको छ । भविष्यमा उनले गाइहाले पनि राष्ट्रगानमा भएका शब्दका विषयमा जनचेतना सहितको विद्रोकको विगुल फुक्न उनी माहिर सावित भैसकेका छन् ।

संसदभित्र प्रम प्रश्न भनेर जुन नाटक गरिने चलन थियो त्यसलाई जेरमीले बदलेर नयाँ रूप दिइसकेका छन् । त्यस विषयमा अरूले सकारात्मक नकारात्मक दुवै कोणबाट टिप्पणी गर्नका साथै उनको सादा पहिरन वारेको नकारात्मक टिप्पणीमा बेलायती जनताले भने समर्थन गर्दै आएका प्रमाणहरू छन् । लेबरपार्टीको अध्यक्षपदको निर्वाचनपछि तीस हजार सदस्य थपिनु, साथै संसदमा प्रधानमन्त्रीसंग सोध्ने प्रश्न माग्दा ४० हजार नागरिकले प्रश्न पठाएर सहभागिता जनाउनु जेरमी कोरविनमाथि बेलायती जनताले गरेको समर्थनका प्रमाण हुन् ।

‘म नै राजनीतिको धुरन्धर हुँ ‘ भन्नेहरूले जेरमी कोरविनले कुनै पनि हालतमा अध्यक्ष पद जित्ने मत हासिल गर्न सक्दैनन् भनिरहेका थिए । धेरै चरणमा अध्यक्ष पदको निर्वाचनको म्याराथन दौड चल्नेछ भन्ने अडकलबाजी विपरित सुरूमै अत्यधिक मतले विजय हासिलगर्नुले मुलधारका राजनीतिज्ञहरू बेलायती जनताबाट कति टाढा रहेछन् भन्ने छर्लङ्ग भएको छ । जनताले नेताहरूलाई सवै एउटै ड्याङका भरगर्न नहुने धुर्तहरू भनेर गणना गर्दै गर्दा फरक धारको राजनीतिक संकेत दिएर जेरमिले जनताको मन जितेका छन् । उनी अरू नेता भन्दा देखाइमा सरल, पहिरनमा सादापन तर विचारमा जनपक्षीय रहेको दृष्य एक हप्ता पनि नवित्दै छरपस्ट भएको छ ।

सारमा भन्दा हालसम्म सम्भ्रान्तहरूको बोलवाला चलेको वेलायती राजनीतिमा श्रमजिवी जनताको राजनीति र यूद्ध विरोधी धारणाका साथ अगाडि बढेका जेरमीलाई जनताले साथ दिने कुरामा संका गर्ने ठाउँछैन । तर, सम्भ्रान्तहरूको हित विपरित हुने हुनाले उनका विरूद्ध हुने षणयन्त्रहरू भने निकै रोचक र घोचक पक्कै हुनेछन भन्ने अड्कलबाजी छ । हेरौ जेरमी कोरविन घात प्रतिघात कति थेग्न सक्छन् र कति अघि बढ्न सक्छन् । प्रम क्यामरूनलाई सुरक्षाको लागि रक्षाकवच ट्रिडन्ट चाहिएको छ, जेरमीलाई जनताको समर्थनमा ट्रिडेन्टको रक्षाकवच वाहियात सावित गर्नु परेको छ । परिणामका लागि भविष्य कुर्नै पर्छ ।

हालसम्म कन्जरभेटिभ पार्टी र ब्लेयरिजमको लेबरबीच खासै फरक महसुस गर्न नसकेका बेलायती जनताले जेरमीको फरकपनबाट राहतको आशा गर्दै साथदिने सम्भावना भने विद्यमान रहेको छ । जेरमीले जिते धेरै वर्ष सत्तामा बस्न पाइन्छ भन्ने कन्जरभेटिभको अनुमान आफ्नै खुट्टामा बन्चरो हाने बराबर हुने सम्भावना दर्शाएको छ यो एक हप्ताले ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री