एनआरएनए यूके नेतृत्व चयन र चुनौती

राजकुमार थापा ‘क्षितिज’

राजकुमार थापा ‘क्षितिज’

अन्ततः दुई वर्षभरिको विवाद, किचलो र द्धन्दलाई सहमति, असहमति हुंदै सर्वसम्मतिवाट सेप्टेम्वर १३ मा एनआरएनए यूकेको छैठौं अधिवेशनबाट नेतृत्व चयन भएको छ । नेतृत्व निर्माण गर्दा अपनाइएको अपारदर्शी, एक किसिमको अप्रजातान्त्रिक र सहमतिका नाममा विधि विधानलाई ख्याल नगरिएको सन्दर्भमा प्रश्नहरु पनि नउठेका होइनन् । विश्वकै सबैभन्दा पुरानो प्रजातन्त्र भएको मूलुकमा हामीले अपनाएको प्रक्रिया र तरिकालाई निश्चय नै आगामी दिनमा सच्याउनु आवश्यक छ । प्रजातान्त्रिक मूल्य मान्यता र विधिहरुलाई निमोठ्दै लगियो भने कुनै संस्था सिंगो समुदायको होइन एउटा सीमित समूहको हुन पुग्दछ, जसले वृहत्तर आकांक्षा र हितहरुलाई प्रतिनिधित्व गर्न सक्दैन । तर, यसपटक यूकेको नेपाली समूदायले विगतदेखि देख्दै, भोग्दै र दिग्दार मान्दै आएको एनआरएनको विवादलाई एउटा मिहिन मेहेनतबाट एकवद्ध नेतृत्व चयन भएको कुरालाई मौनतम सहमति प्रदान गरेको अवस्थामा अब पुराना घाउहरुलाई कोट्याउने भन्दा नयां सोच र संकल्पका साथ अघि बढ्नु र बढाउनु नयां नेतृत्वको पहिलो कार्यभार हुन गएको छ ।

 

धुमिल्याउने प्रयास ः
यो अधिवेशनलाई पनि एक किसिमले धुमिल्याउने र पूर्ण सफल हुन नदिने प्रयासहरु भएको सतहमै छर्ल्रङ्ग देखियो । बेलायतको नेपाली समुदाय र एनआरएनका अगुवाहरुको अनिंदा रातहरुका अनेकौं प्रयास, एकताको सन्देश दिने चाहना र एनआरएनए यूकेको साख जोगाउने यत्नका कारण धुमिल्याउने र खल्बल्याउने प्रयासहरु सफल हुन सकेनन् । जुन वर्तमान समितिको त्यागको भावना र त्यसको नेतृत्व गरिरहेका अध्यक्ष महेन्द्र कंडेलको दृढ अडान, इच्छा शक्ति पनि एउटा कारण हो भन्दा अतियुक्ति नहोला ।

पुरानो घाउ ः
विगत दुईवर्षदेखि एनआरएनए यूकेका हरेक भेला, बैठक, सम्मेलन जेजे हुन्छन् तिनमा कहिले विधानका, कहिले नियम, नियत र आचरणका प्रश्नहरु उठ्दै आएको थियो जसले गर्दा बेलायतको नेपाली समुदायमा एनआरएनप्रति विश्वास धर्मराउंदै गएको कुरा ध्रुवसत्य थियो र हो । यो अधिवेशनले आर्थिक लगायत एकआपसमा हिलो छ्याप्ने नैतिक आचरण माथिकै प्रश्नहरुलाई मूलतः टुङ्गयाएको देखिएको छ । कसैले पनि फेरि नियत वाङ्गो नबनाउने हो भने अब यो नयां सिरावाट अगाडि बढ्ला र जनमानसमा विश्वास वृद्धि गर्ला भनेर आशा राख्न सकिन्छ ।

महेन्द्रको मन ः
निसन्देहः २ वर्ष अगाडि पाचौं अधिवेशन हुंदा एनआरएनए यूके एउटा ठूलो विवादको भूमरीमा फंसेको थियो र विभाजित नै भएको थियो । त्यसबेला महेन्द्र कंडेल र उनको समूह प्रक्रियाभन्दा बाहिर गएको आरोपहरु थिए । तर, घट्नाक्रमहरुले भने प्रक्रिया र विधिभन्दा बाहिर भएपनि उनको नियति र नियतमा खोट रहेनछ भन्ने उनले अधिवेशन सम्पन्न गर्न गरेको प्रयत्न, त्याग र सहज नेतृत्व हस्तान्तरणले पुष्टि गरेको छ । सहमति अनुसार आफूमा नेतृत्व ल्याउन उनले कति पापड बेल्नु पर्यो यूकेको नेपाली समुदाय साक्षी नै छ । उनले जम्माजम्मी ६ महिनामात्र नेतृत्व गर्न पाए । ६ महिनामै के गरे के गरेनन् भनेर मूल्याङ्कन गर्ने पर्याप्त समय पनि होइन । यति छोटो अवधिमा कसैले कुनै चमत्कार गर्न सक्ने पनि होइन कम्तीमा उनले नराम्रो गरेको देखिएन यहि मूल कुरा हो । यस पृष्ठभूमिमा फेरि नेतृत्व निरन्तरता वा दोहोर्याउन उनले माग गर्न सक्थे र त्यसकालागि प्रसस्त आधारहरु पनि थिए तर उनले अत्यन्त उदार र सहज ढंगले आफूले पुरानो समितिबाट अध्यक्षको माला लगाउन समेत नपाई सिधै नयां अध्यक्षलाई लगाइदिए । यतिमात्र होइन उनी आफ्नै समितिभित्रको प्रचण्ड दवाव वावजुद पनि भएको सहमतिबाट पछि हटेनन् र अधिवेशन मार्फत नै नेतृत्व हस्तान्तरण गरे, यसबाट महेन्द्रको मन निष्खोट रहेछ भन्दा फरक नपर्ला ।

शपथ लिंदै नवनिर्वाचित अध्यक्ष मुछेत्र गुरुङ् (बीचमा), तस्विरः  सारा

शपथ लिंदै नवनिर्वाचित अध्यक्ष मुछेत्र गुरुङ् (बीचमा), तस्विरः सारा

पर्दा पछाडिका खेलाडी
सम्पन्न अधिवेशनको सर्वसम्मतिको जस जसरी निवर्तमान समितिलाई जान्छ, त्यति नै हकदारी निर्वाचन र समिति र समुदायको अगुवाहरुको पनि रहेको देखिन्छ । निर्वाचन समितिका संयोजक ‘टावरिङ्ग पर्सनालिटी’ डा. राघव धितालको वृद्ध उमेरको खटाई र इच्छा शक्ति र दिएको जिम्मेवारी पुरा गर्न कुनै कसर बांकी नराख्ने, उत्कृष्ठ ब्यवस्थापन गर्न सक्ने क्षमताका धनी समितिका सदस्य सचिव रामशरण सिंखडाको अहोरात्रको प्रयत्न तथा सबैलाई समन्वय गर्ने चातुर्य एवं निर्वाचन समितिको एक आपसको पूर्ण एकता, विश्वास र उच्च समझदारी साथै एनआरएनए यूकेका अगुवाहरु डमर घले, सूर्य गुरुङ्ग, कुल आचार्य, विश्वआदर्श पण्डित, डा. हेमराज शर्मा, डा. चन्द्र लक्सम्वा, आरके त्रिपाठी, सुरेन्द्र श्रेष्ठहरुले निस्वार्थ रुपमा यो समाजलाई दिदै आएको योगदान, मेहेनत र अभियानको फल नै अहिलेको एनआरएनए यूकेको नवनिर्वाचित नेतृत्व हो भन्दा फरक नपर्ला र कुनै अन्याय पनि नहोला ।
असन्तुलित चयन ः
नवनिर्वाचित यो समिति जातीय, क्षेत्रीय र लैंगिक रुपमा सन्तुलित देखिंदैन । समितिमा महिलाहरुको सहभागिता दश प्रतिशतभन्दा कम छ । यसैगरी जातीय रुपमा यो जनजातिमय देखिन्छ । बेलायतको समग्र भूगोललाई विचार गर्दा यो लन्डन र यसको आसपास भन्दा दूरदराजमा अझै पुग्न सकेको देखिदैन । त्यसकारण नवनिर्वाचित नेतृत्वले यो असन्तुलनलाई आफ्नो व्यवहार र कामबाट सन्तुलित र योग्य पुष्टि गर्न जरुरी छ ।

चुनौतीको चाङ् ः
नवनिर्वाचित नेतृत्व सामू चुनौतीको चाङ्ग नै छ । अत्यन्तै भद्र, शालिन र निर्विवाद ब्यक्तित्व रहेका अध्यक्ष मुछेत्र गुरुङ्को पहिलो चुनौती भनेकै अनेकौं गुट, उपगुटलाई मिलाएर चयन भएको यो समितिलाई एकवद्ध बनाएर लैजानु नै हो । समितिभित्र गुट स्वार्थहरुको चलखेललाई कुशल ढंगले ब्यवस्थापन गर्न सक्दा मात्रै नवनिर्वाचित अध्यक्षको कार्यकाल सफल वा असफल यसैबाट निर्धारित हुने निश्चित छ । यद्यपी उनीसंग एउटा ठूलो जातीय संस्थाको नेतृत्व गरेर आइसकेको अनुभव भने छ । जम्वो कमिटीको नियमित पूर्ण वैठक गर्न सक्नु पनि उनका लागि एउटा प्राविधिक चुनौती हो भने यसैगरी उनलाई अध्यक्ष बनाउने अनेकौं शक्ति केन्द्रहरुलाई समदूरी र विश्वासमा लिएर कार्य सम्पादन गर्नु पनि उनको अर्को एउटा मुख्य चुनौती हो । यसवाहेक निर्वाचित भएपश्चात उनी आफैंले व्यक्त गरेका प्रतिवद्धताहरु पूरा गर्नु नै एनआरएनए यूकेका अबका चुनौतीहरु हुन् ।

अन्त्यमा, आशावादीताले नै हरेकलाई जिवन्त रहन उर्जा मिल्छ भन्ने गरिन्छ । एनआरएनए यूकेसंग पनि सकारात्मक काम र कदमको अपेक्षा राखौं । विधानमा नै उल्लेखित भएर पारित भएको एनआरएनको गीतको मर्म र भावना अनुसार हुनसकेको होस् । कार्यकाल सफलताको शुभकामना अध्यक्ष मुछेत्र गुरुङ् र उनको टिमलाई ।

[email protected]

(लेखकः नेपाल पत्रकार महासंघ बेलायत शाखासंग आवद्ध छन्)

प्रतिक्रिया

सम्बन्धित सामाग्री