वार्ताको समय सदुपयोग गर्न एमाओवादी संसदीय दलको आग्रह

काठमाडौँ, २६ भदौ । एकीकृत नेकपा (माओवादी) ले आइतबार बिहान ११ बजेसम्मको समयलाई सदुपयोग गरी वार्तामा जुट्न र सफल पार्न आह्वान गरेको छ ।

संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले तीन प्रमुख राजनीतिक दलले आइतबार बिहान ११ बजेसम्मका लागि संविधानसभाको प्रक्रिया स्थगन गरी थारु, मधेसको मोर्चालगायत शक्तिसँग वार्ता गर्न गरेको निर्णयलाई स्वागत गरेको छ ।

बैठकले धेरैभन्दा धेरै शक्तिको सहभागिता, स्वामित्व र अपनत्वमा संविधान घोषणा गर्नका लागि वार्ता र राजनीतिक समाधानका लागि पार्टीले जोड दिएर प्रस्तावसमेत राख्दै आएको प्रसङ्ग उल्लेख गर्दै सरकार तथा आन्दोलनकारी दुवै पक्षलाई भोलिसम्मको समयको उचित सदुपयोग गर्न आग्रह गरेको छ ।

तराई मधेस क्षेत्रमा सरकारको तर्फबाट दमन गरिएकोमा बैठकले निन्दा गर्दै सो क्षेत्रको जनजीवन सामान्य तुल्याउन सरकारसँग आग्रह गरिएको प्रमुख सचेतक गिरिराजमणि पोखरेलले जानकारी दिए ।

तराई मधेसमा भइरहेको आन्दोलन र निषेधाज्ञालगायत घटनाका बारेमा पार्टीको तर्फबाट प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय भएको उनको भनाइ छ ।

आन्दोलनरत पक्षसँग वार्ता गर्न संविधानसभाको प्रक्रिया केही दिन रोकौँ भनेर पार्टीको तर्फबाट आग्रह गरिएको तथा त्यसलाई सकारात्मक रूपमा लिन आन्दोलनकारी शक्तिलाई अनुरोध गरिएको उहाँले जानकारी दिए ।

सकेसम्म आन्दोलनकारीले उठाएका मुद्दालाई संशोधनको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिनुपर्ने, त्यसो हुन सकेन वा समय पुगेन भने संविधान जारी गरिसकेपछि पनि आवश्यक संशोधनमार्फत समस्याको हल गर्न सकिने भएकाले वार्तालाई नै जोड दिइएको प्रमुख सचेतक पोखरेलको भनाइ छ ।

संविधान निर्माण प्रक्रियालाई कुनै पनि हालतमा विलम्ब गर्न नहुनेमा जोड दिँदै बैठकले आन्दोलनको क्रममा सरकारका साथ साथै आन्दोलनकारी पक्षबाट पनि ज्यादती भएको सन्दर्भ उल्लेख गर्दै उनले अधिकार प्राप्तिका लागि भएको आन्दोलनको नेतृत्वकर्ताले ठिक ढङ्गले सञ्चालन गर्नुपर्ने र शान्तिपूर्ण बनाउनुपर्ने बताए ।

उपचारको लागि अस्पताल लैजाँदै गरिएका सशस्त्र प्रहरी बलका सहायक निरीक्षकलाई एम्बुलेन्सबाट थुतेर हत्या गर्ने र एम्बुलेन्स जलाउने कार्य निन्दनीय रहेको भन्दै बैठकले आन्दोलनको नाममा अराजक गतिविधि नगर्नसमेत ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री