राप्रपा नेपालसँग प्रमुख तीन राजनीतिक दलको छलफल

बिहीबार राप्रपा नेपालका अध्यक्ष कमल थापासँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन दलका शीर्ष नेताहरुको छलफलपछि निस्कँदै प्रधानमन्त्री सुशील कोइराला । तस्बिर ः रोशन सापकोटा, रासस

बिहीबार राप्रपा नेपालका अध्यक्ष कमल थापासँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन दलका शीर्ष नेताहरुको छलफलपछि निस्कँदै प्रधानमन्त्री सुशील कोइराला । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग जारी संविधान निर्माण प्रक्रियाका सम्बन्धमा प्रमुख तीन राजनीतिक दलले आज छलफल गरेका छन् ।

बुधबारदेखि संविधान निर्माण प्रक्रियाबाट बाहिरिएको राप्रपा नेपालसँग तीन राजनीतिक दलले वार्ताका लागि गरेको आह्वानका आधारमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।

छलफलपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीन राजनीतिक दलले संविधान निर्माण प्रक्रियामा निषेध गरेको र तराईलगायतका स्थानमा आन्दोलन भइरहेको स्थितिमा संविधान जारी भए पनि त्यसले केवल द्वन्द्व निम्त्याउने देखिएकाले आफूहरु प्रक्रियाबाट बाहिरिएको बैठकलाई जानकारी गराएको बताए ।

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माणको प्रक्रियामा सहभागी हुँदै आएका राप्रपा नेपाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक संविधान निर्माणको बाँकी प्रक्रियाबाट बाहिरिएकाले राप्रपा नेपालसँग छलफल गरिएको बताए ।

आफ्ना मतभेद रहे पनि त्यसलाई कायम राखेर संविधान बनाउने अभियानमा एकै ठाउँमा बस्न राप्रपा नेपालसँग आग्रह गरिएको उनले जानकारी गराए ।

राप्रपा नेपाल संसदीय दलका प्रमुख सचेतक दीलनाथ गिरीले दलहरूसँगको वार्ता सकारात्मक भएको बताउँदै राप्रपा नेपाललाई गरिएको निषेधको राजनीति हटाउँदै तथा तराईलगायतका स्थानको जारी आन्दोलन तथा समस्याको समाधान गर्ने स्पष्ट प्रतिबद्धतासहित लिखित आह्वान गरिएमा दलको केन्द्रीय समिति बैठकबाट उचित निष्कर्षमा पुग्न सकिने बताए ।

बैठकमा राप्रपा नेपालका तर्फबाट अध्यक्ष थापा, प्रमुख सचेतक गिरी, काँग्रेसका तर्फबाट प्रधानमन्त्री एवम् पार्टी सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाललगायतको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री