क्यानबेरा, २३ भदौ । अष्ट्रेलियाले बुधबार युद्धग्रस्त देश सिरिया र इराकका १२ हजार शरणार्थीको लागि शरण दिने घोषणा गरेको छ ।
यति ठूलो सङ्ख्याका थप शरणार्थीलाई शरण दिने अष्ट्रेलियाको यो घोषणा दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो भएको बताइएको छ ।
सत्ता गठबन्धन पार्टीसँग भएको बैठकपछि प्रधानमन्त्री टोनी एबोटले अष्ट्रेलियाले सो घोषणा गरेको बताउनु भएको जनाइएको छ ।
अष्ट्रेलियाले सिरिया र इराकमा जारी द्वन्द्वका कारण शरणार्थी बन्न पुगेका थप १२ हजार शरणार्थीलाई शरण दिने बुधबार भएको एक पत्रकार सम्मेलनमा घोषणा गर्नु भएको बताइएको छ ।
हिंसा, मध्यपूर्वी देशको आन्तरिक समस्या लगायतका विभिन्न कारणबाट लाखौँ लाख नागरिकले युरोपमा शरणार्थीको रुपमा प्रवेश गरिरहेका छन् ।
आप्रवासीले युरोपतर्फ जाने आवेदन गर्ने सङ्ख्या प्रतिवर्ष बढ्दै गएको छ । गत वर्षको तुलनामा युरोपेली सङ्घमा शरणार्थी आवेदकको सङ्ख्या नाटकीय रुपमा बढेको बताइएको छ ।