संविधानसभामा सभासद्धारा संशोधन प्रस्ताव सुरु

संसद भवन

संसद भवन

काठमाडौँ, २२ भदौँ । संविधानको परिमार्जित विधेयकमाथि संविधानसभाको बैठकमा मंगलबारदेखि सभासद्हरुबाट संशोधन प्रस्ताव प्रस्तुत गर्न सुरु भएको छ ।

संविधानसभा सचिवालयका अनुसार सो विधेयकमाथि ५४ जना सभासद्ले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
पहिलो नम्बरमा संशोधन प्रस्ताव दर्ता गराउनुभएका समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंहले सहमतिका आधारमा संविधान जारीका लागि एकताबद्ध हुन आग्रह गर्दै विभिन्न धारामा आफ्नो ४५ बुँदे संशोधन प्रस्ताव प्रस्तुत गरे । उनले संशोधन प्रस्तावलाई सम्पत्तिका रुपमा ग्रहण गर्दै सहमतिका आधारमा संविधान ल्याउन जोड दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले संविधानसभाभित्रै छलफल भएर विधेयक तयार गर्न पाएको भए राम्रो हुन्थ्यो भन्दै लोकतान्त्रिक आन्दोलनमा माग नगरिएको धर्म निरपेक्षतालाई विधेयकमा राखिएकाले मुलुकमा नयाँ द्वन्द्व निम्तिनसक्ने बताए ।

उनले चार ठूला दलका नेता बसेर विज्ञको सल्लाह नलिई सङ्घीयताको खाका बनाइएकाले असन्तुष्टिका आवाज बढेको बताए । उनले हालको प्रस्तावित ५ नं प्रदेशअन्तर्गत एकीकृत नवलपरासीसहित बर्दियासम्मको अर्काे प्रदेश बनाउन सकिएमा विद्यमान समस्याको समाधान हुने प्रस्ताव गरे ।

संयुक्त संशोधनका संशोधनकर्ता राष्ट्रिय जनमुक्ति पार्टीका शिवलाल थापाले धर्म निरपेक्षताको मूल मर्मलाई व्याख्या नगरी यथावत् राख्न प्रस्ताव राख्दै आफ्नो पार्टीको संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् । उनले राष्ट्रिय झण्डा, राष्ट्रिय जनावर परिवर्तनको गर्न सोही पार्टीका सिमाकुमारी विकले सरकारी कामकाजको भाषा परिवर्तन गरिनुपर्ने, लोकसेवा आयोगका काम कर्तव्य, निर्वाचन आयोगको प्रमुख तथा अन्य आयुक्तको नियुक्ति गर्दा समावेशी नीति अपनाउनुपर्ने वताए ।

उनले मौलिक हकमा आदिवासी जनजातिलाई आत्मनिर्णयको हक थप गर्न, उनीहरुलाई नीति निर्माण तहमा समावेश गर्न छुट्टै नीति तयार गर्न, आदिवासी महिलालाई पहिचानको अधिकार थप गर्न, नौ प्रदेशको व्यवस्था हुनुपर्ने संशोधन प्रस्ताव प्रस्तुत गरे ।

दलित जनजाति पार्टी नेपालका यशोदाकुमारी लामाले “गौतम बुद्ध नेपालमा जन्मेका हुन्” भन्ने कुरालाई प्रस्तावनामा नै समावेश गर्न र राष्ट्रिय झण्डा, राष्ट्रिय जनावर परिवर्तन गर्न संशोधन प्रस्ताव राखे ।

उनले समानताको हक परिवर्तन गर्न माग गर्दै सबैका लागि संविधान बनाउनुपर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेपालका अध्यक्ष कमल थापाले संविधान निर्माणको अन्तिम चरणमा संविधानसभा प्रवेश गरिरहेको अवस्थामा तराई मधेसका दलहरु संविधानसभाबाट बाहिर निस्कनु दुःखद् भएको बताएका छन् ।

उनले आफू औपचारिकताका लागि मात्र रोष्टममा उभिएको जानकारी दिए ।

नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले तीन दलको मिलोमतोमा संविधान बन्न लाग्नु दुःखद् भएको भन्दै राष्ट्र भाषाको व्यवस्था परिवर्तन गर्न संशोधनको प्रस्ताव प्रस्तुत गरे ।
संविधानसभाको आजको बैठकमा सात जना सभासद्ले संविधानको परिमार्जित विधेयकमाथि संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।

संविधानसभाको बैठक भोलि बिहान १०ः३० बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री