जेनेभा (स्वीट्जरल्यान्ड), २१ भदौ । संयुक्त राष्ट्रसङ्घले युरोप तथा खासगरी खाडी मुलुकलाई दोस्रो विश्वयुद्धपछि देखिएको भयङ्कर दुःखद शरणार्थी समस्याप्रति थप गम्भीर बन्न अनुरोध गरेको छ ।
संयुक्त राष्ट्रसङ्घ आप्रवासी कामदार तथा उनीहरुका परिवारजनको अधिकारका लागि काम गरिरहेको एक समिति सिरिया र मध्यपूर्वका केही राष्ट्रहरुबाट आप्रवास वा शरणार्थीका रुपमा युरोप तथा अन्य महादेशसमेत पुग्ने समस्या विकराल देखिएको र यसको समाधानका लागि युरोप र खासगरी खाडी राष्ट्रहरू थप गम्भीर हुनुपर्ने जनाएको छ ।
छिमेकी राष्ट्रले लाखौँ सिरियाली जनताका मानवीय सुरक्षाका लागि सीमा नाका खुल्ला गरी उनीहरूलाई शरण दिनु अहिलेको आवश्यकता भएको समितिले जनाएको छ ।
राष्ट्रसङ्घको उक्त समितिले सयौँ सिरियाली मानिस आफ्नो सुरक्षाका लागि घर छोडेर भाग्ने क्रममा देहत्याग गर्न बाध्य हुनु निकै दुःखद भएको भन्दै उनीहरुलाई सुरक्षित गन्तव्यमा पुग्न वा शरण दिनका लागि सबै सम्वद्ध मुलुकसँग आग्रहसमेत गरेको छ ।
भूमध्यसागरीय इलाका पार गर्ने क्रममा भएका भयङ्कर रुपमा भएका दुर्घटनाले हामीलाई दुखित तुल्याएको छ, उक्त समितिका प्रमुख फ्रास्वाँ स्यारियन मेनाले भन्नुभयो ।
मेनाको यो भनाई सयौँ सिरियाली नागरिक टर्कीको सामुद्रिक क्षेत्र पार गर्ने क्रममा डुबेर मृत्यु भएपछि आएको हो ।