काठमाडौँ, २१ भदौ । मन्त्रिपरिषद्को आजको बैठकले प्रा डा गोविन्द केसीसँगको सहमतिको कार्यान्वयनका क्रममा चिकित्साशास्त्र शिक्षा आयोग गठन आदेशसम्बन्धी प्रस्तावलाई परिषद्को सामाजिक समितिमा पठाउने निर्णय गरेको छ ।
दुई दिनअघि सरकारका प्रतिनिधि र डा केसीबीच सहमति भई उहाँले अनशन तोड्नुभएको थियो । सरकारका तर्फबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल र मुख्य सचिव डा सोमलाल सुवेदीले अनशनरत डा केसीसँग सहमति गर्नुभएको थियो ।
सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले बैठकपछि दिनुभएको जानकारीअनुसार बैठकले कमलशाली घिमिरे तथा महेश शर्मा पौडेललाई नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरी पदस्थापन गरेको छ । घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शर्मा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापन हुनुभएको छ ।
बैठकले पाटनका सुषमालता माथेमालाई काठमाडाँै, पोखराका सत्यराज गुरुङलाई पोखरा तथा नेपालगन्जका यज्ञप्रसाद बस्याललाई नेपालगन्जमा क्रमशः राजस्व न्यायाधीकरणमा तोकेको पनि सूचना तथा सञ्चारमन्त्री रिजालले जानकारी दिनुभयो । बैठकले नागरिक लगानी कोषका अध्यक्षमा अर्थ मन्त्रालयका सचिव राजन खनाललाई तोकेको छ । आजै निजामती सेवा दिवसमा दिइने पुरस्कारबारे निर्णय पनि गरिएको छ ।
बैठकले समाजकल्याण परिषद्का सदस्य छत्रनाथ घिमिरेले दिएको राजीनामा स्वीकृत गरी रिक्त पदमा मधुकुमार चालिसेलाई नियुक्त गरेको छ । नेपाली सेनाका केही उपरथीको सरुवा गर्ने निर्णयसमेत बैठकले गरेको छ । रासस
नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा