एसिसी प्रिमीयर लिगः कुवेतविरुद्ध नेपालको ८३ रनको जित

काठमाडौँ १५ भदौ । मलेसियामा जारी १९ वर्षमुनिको एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालले आज कुबेतविरुद्धको खेलमा ८३ रनको जित हात पारेको छ ।

मलेसियाको किनरारा आभेल मैदानमा भएको खेलमा नेपालले कुवेतसामु निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा २५१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले प्रस्तुत गरेको लक्ष्य पछ्याएको कुवेतले निर्धारित ओभर नै खेल्दै ९ विकेट गुमाएर १६७ रन मात्र जोडेपछि नेपालको जित सुनिश्चित भएको हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाली युवा टोलीले खराब सुुरुआत गर्दै ओपनरद्वय सुनिल धमला (११) रन र आशिष धामीलाई (४) रनमा गुमायो । नेपालका लागि उत्कृष्ट ब्याटिङ गरेका दीपेन्द्रले ९१ बलको सामना गर्दै ९ चौका र २ छक्का प्रहार गर्दै ८५ रनको योगदान दिए । त्यस्तै सौरभ खनाल (७३), प्रेम तामाङ (२३) र र कप्तान राजु रिजालले (१५) रन जोडे । सौरभले आर्स वर्कत अलीको बलमा आउट हुनुअघि एक सय १५ बलमा ५ चौका र एक छक्का प्रहार गरे ।

कुवेतको बलिङतर्फ ६ ओभर बलिङ गरेका मोहम्मद फौजीले ३४ रन खर्चने क्रममा १ मेडन राख्दै सर्वाधिक ३ विकेट लिए । त्यस्तै शाहरुख क्युडिसले २ र अब्दुल तुफिल तथा आर्स वर्कतले समान एक एक विकेट हात पारे ।

ब्याटिङतर्फ कुवेतका मोहम्मद मिजान अलीले अविजित ८५ रनको योगदान दिए । उनले एक सय १२ बल खेल्दै ६ चौका र तीन छक्का प्रहार गरे । अन्यमा मुस्ताक अहमदले २२ तथा एलन थोमस र विलास ताहिरले समान १३–१३ रन जोड्दा नोमन बुदरोले १२ रन जोडे ।

नेपालको बलिङतर्फ सुशील कँडेल र प्रेम तामाङले समान २–२ विकेट लिए । त्यस्तै दीपेन्द्र र आरिफ शेखले एक एक विकेट हात पारे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री