मेरो देश फिर्ता पाउँ

10835105_811634002217536_2235752529916235085_o

नेपालमा ठूला हत्या हिंशाका समाचार वाचन गर्न नपरेको धेरै वर्ष भएको थियो। लाग्थ्यो अब प्रगति उन्नति र शान्तिको मात्र समाचार सुनाउन पाइनेछ। तर, त्यो ठूलो भ्रम रहेछ।

सोमबार कैलालीको टिकापुरमा भएको विभत्स खबर पढ्नु पर्दा फेरि एक चोटी मन भक्कानिएर आयो। लाखौं शान्त‌िप्रेमी नेपालीको मन पनि छिया छिया हुन पुग्यो। अनि यो ब्यक्तिगत विचार पोख्‍न मन लाग्यो।

अल कायदा तथा आइयस जस्ता विश्वमैं आतंककारी भनिएका संगठनहरू पनि यो क्रुर काण्डले स्तब्ध भए होलान्। कसरी मानिस हिंस्रक जनावरमा परिणत हुन सक्छ? कसरी एउटा नेपालीले धारिला घरेलु हतियार बोकेर अर्को नेपालीको छातिमा रोप्न सक्छ, जिउँदै जलाउन सक्छ, दुई वर्षको बालक पनि मर्न सक्छ।

हिमालको काखबाट कञ्चन पानी बग्ने देशमा कसरी रातो रगतको खोला बग्न सक्छ? के यही हो मेरो देश? के यही हो हाम्रो सपना? यदी हो भने जीवनमा अब य‌ी आँखाले कहिल्यै कुनै सपना देख्‍न नपरोस्।

सानो छँदा गोदावरीको हरिया पहाड मुनि आवासीय स्कुलमा पढ्थ्यौं। हिमाल पहाड तराई सबैतिरका साथीभाइहरू हाँसीखुसी खेल्थ्यौं। छुट्टीमा घर फर्कनुपर्दा एक अर्काको हात समाउँदै रुन्थ्यौं। एक डेढ महिना छुट्टिनु पर्दा पनि कति गाह्रो हुन्थ्यो। खै त्यो मायाको परिभाषा कसरी दिउँ।

बिदाबाट फर्केपछि काठमाडौं, तराई, पहाड र हिमालका आ-आफ्ना परिकारहरू होस्टलमा आइ पुग्थ्यो। बाँडीचुँडी खान्थ्यौं र आ-आफ्नो गाउँठाउँ अनि परिवारका कुराहरु सुनाउँथ्यौं। एक थियौं हामी, एक थियो हाम्रो मन, एक थियो हाम्रो देश अनि एकै थियो हाम्रो पहिचान।

किशोरावस्थामा कलेज पढ्दा माया मित्रता र सदभावको यो परिभाषा अलि फराकिलो हुन पुग्यो। भिन्नता थियो त केवल एक कुरा। केटा र केटी। तैपनि लुकी लुकी भए पनि केटा र केटी एक अर्काको औंला समाइ अघि बढ्थे। त्यहाँ न कुनै जात थियो न धर्म, न कुनै क्षेत्र न कुनै सम्प्रदाय। केवल एक अर्काप्रतिको सामीप्य थियो, साथ र सहयोग थियो।

त्यसपछि द्वन्द्वको दशकमा देश चुर्लुम्म डुब्यो। त्यसको प्रतिफल सकारात्मक थियो वा नकारात्मक, समयले बताइ नैं राखेको छ, भविष्यले अझ बताउँदै जानेछ। कहाँ देखा परिरहेको छैन विभाजन? जात धर्म सीमा सम्प्रदाय सबै खण्डीय हुन पुगेका छन्। लाग्छ अब हामी कोही सङ्लो छैनौं। हामी खण्ड खण्डमा बिभाजित मानिस हुन पुगेका छौं।

अझ प्रदेशको नामांकन राजधानी श्रोत सम्पदाको ब्यवस्थापन जस्ता अनेकौं मुद्दाहरुले खण्डीय रूप लिन त बाँकी नैं छ। हामी अझ टुक्रा टुक्रामा विभाजित हुन त बाँकी नैं छ। कहाँ रह्यो सङ्लो नेपाल र नेपाली?

कस्ले ल्यायो यो अवस्था अनि यसको जिम्मेवार को जिम्मेवार यस्को लागि? एउटा सिंगो नेपाली भएर बाँच्न नपाउने यो परिवर्तन कहाँ गएर टुङ्गिएला?

नेता के.पी.ओलीले हालै भन्नु भएथ्यो:

जेठी माग्छे पानी

कान्छी माग्छे घाम

म कता जाम्!!

ठीकै भन्नुभयो उहाँले। जेठीको राम्रो ब्यवस्थापन नगरी कान्छी ल्याएपछि यस्तो अवस्था आइलाग्छ नैं।

आज ६, भोलि ७, पर्सी ८। यत्ति यता, यत्ति उता। होइन, होइन, यताको उता, उताको यता। कुन केटाकेटीको खेल हो यो? सही अध्ययन, मूल्याङकन, गृहकार्य र दूरदृष्टी बिना अन्योलको बाटोमा अघि बढ्नुको परिणाम भयानक हुन आउँछ।

समय चक्रसँगै हरेक राष्ट्र परिवर्तनको एउटा कालखण्डबाट गुज्रिन्छ। त्यसबेला राजनीतिक र सामाजिक समस्याको समयमैं सही समाधान निकाल्न सकिएन भने, कस्तो अवस्था आइपर्छ, पाकिस्तान, अफगानिस्तान र इराकलाई हेरे पुग्छ।

२४ वर्षअघि युक्रेन भूतपूर्व सोवियत संघबाट टुक्रिएर अलग भएको थियो। आज युक्रेन आफै पृथकतावादसित लडीराखेको छ। यसै साता युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोले भने,‘हामी पातलो बरफमाथि हिंडी राखेका छौं। कति बेला कहाँ कहाँ चिप्लिन्छौं, भन्न सकिन्न।’

अर्कोतर्फ पूर्व र पश्चीम जर्मनीको त्यसै समयतिर पुन एकीकरण भएको थियो। आज जर्मनी आर्थिक उन्नतीको फड्को मार्दै अघि बढीराखेको छ। बिश्वकै एक शक्त‌िशाली र सम्पन्न राष्ट्र बन्न पुगेको छ।

सँगै मिलेर जुटेर अघि बढ्दा प्रगति हुन्छ वा फुटेर? आफैले बिचार गर्नु पर्ने समय आएको छ।

तराईमा बाढी जाँदा होस् वा देशमा विनाशकारी भूकम्प जाँदा। अरूभन्दा एक कदम अघि बढेर सुरक्षाकर्मीहरुले उद्धार र राहत पुर्‍याएका थिए। सबैको सह्राहनाको पात्र बनेका थिए। तर भलो गर्नेको भलो हुने दिन शायद देशमा अझै आइ सकेको छैन।

बिश्वका बिभिन्न द्वन्दग्रस्त मुलुकहरुमा नेपाली सुरक्षाकर्मीहरु शान्त‌ि स्थापना कार्यमा बर्षौंदेखि खटिँदै आएका छन्। तर आफ्नै देशमा आगो सल्किराखेको बेला अब पहिले देशमा शान्ति कायम गरेर उदाहरण दिनु पर्ने समय आएको हो कि?

यो पुस्ताले धेरै नैं हत्या हिंसा र आतंक देखिसको। परिवर्तन सही बाटोमा गैराखेको छैन भने त्यसको समयमैं मूल्याङ्कन हुनुपर्छ, गम्भीर समीक्षा हुनुपर्छ। समयको माग अनुसार नीति निर्माताहरु चाँडो दृढ निर्णय र निष्कर्षमा पुगुन्।

हामीले ब्यक्तिगत रुपमा जति नैं प्रगति गरुँ, जति नैं सम्पत्ति जोडुँ, भोलिको पुस्तालाई अझ चर्को हिंसा र अशान्त‌िको भुमरीमा छोडेर गयौं भने भावी सन्ततीले हामीलाई माफ गर्ने छैनन्।

सबैको उन्नति र विकासको मार्ग कोर्न राज्य सञ्चालनको जिम्मेवारी बोक्नेहरुलाई भन्नैपर्छ। आउँदो पुस्ताले खण्डित र सीमित होइन, सङ्लो नेपाली भएर बाँच्न पाउन्, हातमा हात मिलाएर हाँस्न पाउन्। बाल्यकाल र किशोरावस्थामा मेरो पुस्ताले देखेको सुन्दर शान्त बिशाल नेपाल उनीहरुले पनि देख्‍न पाउन्। चाँडै देउ त्यस्तो नेपाल उनीहरुलाई। यदि सक्दैनौ भने, भावी सन्ततिका लागि मेरो देश फिर्ता पाउँ!

[email protected]

खरेलको यस लेख सेतोपाटीमा प्रकाशित छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री