बाह्रमासे जात्राका तीन अभूतपूर्व प्रश्नहरु 

bikal dai new

उसो त प्राय अरु सबै पर्वमा नेपाल पुगेपनि गाईजात्रामा चाहि गोरखा फर्कने तारतम्य अहिलेसम्म मिलेको छैन । गाइजात्राको दिन मुंग्रो लिएर ” झ्यासुम कासी च्यासुम झ्याई , झ्यासुम झ्यासुम च्याई च्याई” को भाकाको लयमा नाच्ने , हिलेजात्राको दिन नेवारी भाषामा “हादे हादे लोसा , लाउजासे ओता , छऊ तता जीता ………..” को गीतमा मारुनी नाच लगायत अरु थुप्रै  जात्राको काम थियो ।

बेलायतमा यत्रो बर्ष बसेर पनि रक एण्ड रोल, डिस्को,  टुइस्त नृत्य आदि जस्ता नजान्दा मैले छोराछोरीलाई नाच्नको लागि यो झ्यासुम कासी …… लाई अलि आधुनिकरण गरेर झ्यासुम कासी च्यासुम झ्याई, भुटुन छैन च्वाई च्वाई……. भन्ने भाका चाही राम्ररी सिकाएको छु । म आफु नृत्य कलामा यो नाच बाहेक अरु कुनै नजन्ने कुरा शुरुमा नै जाहेर गर्दछु ।

तर कस्तो मेरो भाग्य ! गोरखाको गाईजात्रा देख्न नपाएपनि अन्यत्रको जात्राले भने प्रशस्त मनोरन्जन दिएको छ । शुरुको पांच/सात बर्ष उति भनेजस्तो जात्राको रसोस्वदन गर्न पाइएन, त्यसपछि त कुरै छैन, कहिल्यै खाली भएको छैन र हुनेवाला पनि छैन । गाईजात्रा मात्रै नभएर गोरुजात्रा, बयलजात्रा, साढेजात्रा, बहरजात्रा, बोकाजात्रा, बाख्रीजात्रा, हरिलट्ठकजात्रा, उग्रचण्डीजात्रा कति हो कति । आफ्नो सस्कृतिलाई जगेर्ना गर्ने सबैलाई मेरो सलाम छ ।

आज म यहांहरुलाई सबैभन्दा पछिल्लो नमुना बाह्रमासेजात्रा तर्फ लैजादै छु । यस्तो बाह्रमासेजात्रामा जहिलेपनि मुख्यतः तीन किसिमका भलादमीहरु सम्मिलित हुने भन्ने कुरा त समाचारले पहिल्यै देखि फुकिरहेको हुन्छ । प्राय सबै ठाउंमा राम्रो पक्कड हुने यी भलादमीहरुलाई बोक्रे, पाखण्डी र पांगदुरे  भनेर बर्गिकरण गरिएका रहेछन् । आजको कार्यकर्ममा यस्ता दिग्गज व्यक्तित्वहरु विराजमान हुने क्रम जारी छ । आ-आफ्नो नामांकन क्याटागोरिको सिटमा भलादमीको योग्यता बारे स-सानो बिबरण लेखिएको छ ।

बोक्रेको मुख्य उद्देश्य भनेको लाज सरम पचाउने, आफूले चाहिं जे गरेपनि हुने अरुले नियम कडाइका साथ मान्नुपर्ने भन्ने नीति बोकेको, नैतिकताको सकेको धज्जी उडाउने खुबी भएको, हमेशा व्यस्त भएको नाटक फलाक्नु जस्ता प्रमुख बिशेषता हुन् । कसैले कसैलाई नगन्नु, दुर्ब्यबहार हमेशा गर्नु, आफु मात्रै जान्ने हुनु, बोलेको कुरा कहिल्यै नपुर्याउनु मुख्य कर्म हो । अर्को महत्वपूर्ण कुरा चाहिं यिनीहरुको पोशाकले नै धेरै साहित्य बताइरहेको हुन्छ ।

पाखण्डीहरु अनेक रुपमा देख्न पाइन्छन् । दिमागमा भुषा भरिएको, कुनै केहि गतिलो अहिलेसम्म नगरेको, सधै नगदनारायणले सताएको, भित्रि मनमा सधै बेचैनि अगाल्ने जस्ता विशेषण हुने गर्छ ।  बास्तबिकता यो भएपनि आफूभन्दा चलाख संसारमा कोहि नभएको आभास दिने, आफुले आफ्नो उच्चतम मुल्यांकन गर्ने, नबुझिने शब्दहरु हालेर बोल्ने, गरुँगो ब्यक्तित्व भएको प्रदर्शन गर्नु जस्ता क्रियाकलापले सुसज्जित हुन्छन् ।

पाङ्दुरे भलादमीहरु चाहि संसारकै अदभुत हुन्छन् । विश्वको प्रसिद्द व्यक्ति भन्दा कम नठान्ने, कुनैपनि बिषयमा तुरुन्त प्रतिक्रिया दिइहाल्ने, झुटो बोल्नेको लाइसेन्स भएका, हजार रुपैयालाइ पाच सय कसरि बनाउने भन्नेको ज्ञाता जस्ता मुलभूत गुणहरु हुन् । आफु बिना विश्व नै ठप्प हुन सक्ने भन्ने संदेश छर्ने, नक्कली कुरा र चिन्तनले भरिपुर्ण हुने, सबै बिषयमा माहिर भन्ने ठान्नु नै पाङ्दुरे हुनु हो ।

जात्रा लगाउनु त हाम्रो नैसर्गिक अधिकार हो, कसैले केहि भन्नै पाइदैन । हामी पृथ्वीमा आएकै जात्रा लगाउन नै हो । बिना पैसा मान्छेहरुलाई यत्रो ठुलो सेवा दिने संसारमा हामी  महान हौ भन्ने जस्ता अनेक अबधारणाहरुलाई पालना गर्नु आफ्नो कर्तब्य यी तीनवटै प्रकारका भलादमीहरु सम्झन्छन् ।

जे होस्, अनेक भलादमी पाराले कार्यकर्म शुरु भयो । आरम्भमा नै हुतिहारा गीतले हुर्दम मच्चायो । के कस्तो गीतको बोल हो छेउ टुप्पो पत्ता लगाउन सकिएन । खालि ……………लुलु  ……….ऊऊ ……………..तो……….. भनेको जस्तो मात्र लाग्छ । के हो ? के हो ? नजिकै बसेका अर्का बतासे भलादमी जुन यो गीत र तालमा बहुतै  झुमिरहेका  लाई के भनेको हो यो गीतले भनेर आफ्नो कौतुहल पोखे । उनले तृषित मुहारले म पट्टि हेर्दै भने: कस्तो आधुनिक नहुनु भएको होला यो जमानाको सुन्दर गीतलाई । यो त गाउघरको लुतियारे गीतलाई हुटिट्याउ शैलीमा ढालेर यसरी यहाँ गाइएको नि । गीतको पुरा बोल चाहि यो हो, लौ बुझ्नुस भनेर शुरु गरे  :

लुतो लत्यान्ग्रो बल्ड्यान्ग्रो जाति !

कन्याउछ दिउसो चिलाउछ राति !

लुतोको औषधि अंगेर घस्नु !

अंगेर घसेसी उठ्नु न बस्नु !!

लुलु  ……….ऊऊ ……………..तो……….. अनि ……………. लत्यान्ग्रो…………….. बल्ड्यान्ग्रो………………

यो गीतको लय अनि संगीतमा सबै झुलिरहेका छन् । यसपछि भाषणको पर्रा छुट्यो । बोल्नेले के बोल्यो, न सुन्नेलाई थाह छ न बोल्नेलाइ नै । तालि अनबरत पाराले आइरहेछ । यस्तो सुबर्ण अवसरमा घडीले नघुम्ने प्रण गरेको बुझिन्छ । यति ज्ञानको वर्षा भइरहे छ कि दिमागले अब अरु लिन नै असमर्थ जनाइरहे छ | तैपनि मौकाको फाइदा उठाउनु पर्छ भनि ज्यानलाई बलजफती त्यहि ठड्याइरहनु धेरै कर भयो । यस्तो कार्यकर्मको बर्णन त हजार फडा भएको शेषनागले गर्न नसक्ने मैले कसरि गरौ ?

कार्यक्रममा यी तीन प्रकारका भलादमीहरुको प्रतिनिधिले आ-आफ्नो प्रश्न कविताको लयमा सोध्नु पर्ने रहेछ । कसको कति दिग्गज प्रश्न भनेर मुल्यांकन गरिने र उक्त प्रश्नहरुको उत्कृष्ट जवाफ खोज्ने मुख्य कार्यक्रमको लक्ष रहेको कुरा बुझिन्छ । प्रश्नकर्ता भलादमी प्रतिनिधिको छोटो परिचय आयोजक महोदयले उद्घोष गरे ।

बोक्रेको परिचय गजब नै रहेछ । यिनी अन्तरास्ट्रिय पातकीबिद, विभिन्न क्षेत्रमा अनेक ताण्डब नाच देखाउन सक्षम, हरेक तबरबाट बेइमानी र चाकडीको नायक हुने प्रमुख पेशा रहेछ । सबै बिषयको ठेकेदार सम्झेर फोगटियामा हरेक कुरा हातपार्न सफल हुने यिनको अद्भुत खुबी रहेछ ।

बोक्रेले भित्रको गुदी देखिएला कि भनेर बडो सतर्क हुदै मुख भरि नौनी दलिएको अनुहारमा एउटा आखाले मात्रै हेर्दै अरुले नै भन्ने गरेको प्रश्नलाई आफ्नो भनेर तेर्स्याई हाले :

हे बाबु ! तिम्रो घरबोध कहाँ ?

जन्म भयो तिम्रो कति सालमा ??

हे बाबु ! तिमी जन्मंदा कसको दुध पियौ ?

तिम्रो बाऊ जन्मदा तिमी कत्रो थियौ ??

बुलबुल स्टायलको कपाललाई मुसार्दै “खसीको मासु र भात ; धन्यबाद” भनेर बत्तीस लक्ष्यणले आफू युक्त भएको नसुहाउदो नाटक गर्दै स्टेजबाट बिदा भए ।

यस्तो गहकिलो प्रश्न देखेर सबैले मुखामुख गर्न थाले । यत्तिको एकेडेमीक होला भन्ने कसैले सोचेको थिएन । अब बाइलोजी विज्ञानको कायापलट हुने भयो । धन्यबाद बोक्रा ! तिमीबिना हामी कसरी बांच्न सक्छौ र ? भनी धेरैले आफूलाई नै प्रतिप्रश्न गरे र दोश्रो भलादमी तर्फ सबैले नजर फिराए ।

पाखण्डी भलादमीको बायोडाटा झन त गजब छ । यिनी चाहिं बरिष्ट बोकावीद रहेछन । बोकाको बारेमा अनुसन्धान गर्दा गर्दै बुद्दी, बिबेक र चेतानापनि बोकाको जस्तै रहेछ । उनको नजरले पनि सबैलाई बोका बर्गमा नै राख्ने रहेछन । निकट भविष्यमा हुने बिश्व बोका सम्मेलनको लागि अहिले धेरै समय खर्ची रहेका छन् ।

प्रश्न सोध्ने पाखण्डीको पालामा बिस्तारै आफ्नो गरुङ्गो पाउलाई तेर्स्याउदै मुसुक्क हासोको ध्वास दिदै गहन हिडाईको चालमा आएर त्रिखुट्टी शैलीमा प्रश्न गरिहाल्यो :

पिडालुमा आलु के कति हुन्छ ?

बादलमा चाहि कुन दल हुन्छ ??

सोमबारे औशी कुन बार पर्छ ?

काटेको बोको के व्यथाले मर्छ ??

मुन्टोलाई घरि दायाँ र बायाँ पार्दै “तितेपाती तितेपाती झ्याई झ्याई”  ५/७ पटक भन्दै रुद्रको जस्तो स्वरूप बनाइ, नन्दी, भ्रिंगी, योगिनी, भुत, प्रेत, पिचास आदिमा समाहित हुदै बडो आडम्बर मुसाको जस्तो गर्जन गरि मंचबाट दफा भए ।

पाखण्डीको अब्बल प्रकृतिको तेजाबी प्रश्न सुनेपछि सबै अलमलमा परिहाले । यी महान व्यक्तित्व पक्कै पनि चानचुने होइनन् । प्रतिभामा यिनलाई भेट्ने कुनै जुनीमा पनि जन्मन मुश्किल पर्ने छाट देखियो । मेडिकल क्षेत्रमा एउटा ठुलो चुनौती पर्ने लक्षण अब आइसक्यो । अब तेश्रो या अन्तिमको प्रश्न झन कत्तिको दर्बिलो होला, अर्का भलादमी माथि तु ध्यान सबैले मोडिहाले ।

धेरै ठाउंमा सितन बिशेषज्ञ भनेर नाम चम्काउनु भएको अर्का महाशय पाङ्दुरे मुलत: “अघिका मान्छे धेरै ऋषिमुनी, अहिलेका मान्छे धेरै सिसीमुनी” भन्ने मन्त्रलाई आत्मसात गर्दा रहेछन् । पाइएमा चौरासी व्यन्जन सितनको महिमाको बखान गरि हप्ल्याँट्याङ बनाउने, नभए नुनको धुलोमा पनि भलिभाती चित्त बुझाउने मूल शिद्दान्त रहेछ ।

पाङ्दुरेले आफ्नो नसुहाउदो हाँसोमा नयनलाई यताउता सार्दै बिना आतुरी आफ्नो सिटबाट निस्कदै बढो गम्भीर पटियाला तबरले प्वाक्क सोधिहाले :

नाकैले मात्र किन सुग्छ गन्ध ?

निन्द्रामा नेत्र किन हुन्छ बन्द ??

पिरो खादामा कहाँ पोल्छ बेसरी ?

भुजामा हावा भित्र छिर्छ कसरी ??

मुड्कीले भित्तामा जोडदार आवाज दिई “जय अम्मल देबी, जय मदिरा प्रसाद ; सधै होस् सोमरस र तुरूपको बर्षात” भनि ठूलो शंखनाद गर्दै राता राता नयनको साथ धर्मराउदै यिनले आफ्नो प्रस्तुतिलाई अविस्मरणीय बनाइ बिदा भए ।

लौ जा !! यस्तो दिमागमा नै भुइचालो आउने मुसलधारे प्रश्नले सबैको सातो गयो । यस्तो दर्शनले भरिपूर्ण जीबन र जगतमा धनिभूत प्रश्नले प्राय धेरैको मगजमा कम्पन गएको देख्न सकिन्छ । “बिना पम्प भुजाको भित्र कसरी भरिएको होला हावा ? अब न्यूटनको बाजे जन्मनु पर्छ यसको जवाफ दिनलाई” भनेर अगाडिको अर्का भलादमीले सिंहनाद गरे ।

कबि शिरोमणि लेखनाथको बुद्दि विनोदको प्रश्नावली त केहि होइन यिनीहरुको सुनेपछि । छ्या !  उनी त पुरातन भइहाले नि ! यस जमाना सुहाउदो त अब देखिहालियो नि यहाँ आज भनेर ठुलो आवाजले अर्काले थपे ।

अब यसमा कसले जित्छ ? यस्तो गाह्रो प्राज्ञिक प्रश्नहरु खडा गर्ने यी सबै धन्यवाद भन्दा बढीका पात्र हुन भनेर धेरैले गुणगान गएको सुनियो ।

सोचेभन्दा अधिक गम्भीर प्रकृतिको प्रश्नहरु सुनेपछि आयोजकले बाहिरी भलादमीहरुलाई पनि उत्तरको लागि बिशेष धनुषटंकार अनुरोध गरिएको खुलाशा गरी ठेगाना दिए । उत्कृस्ट उत्तर पठाउनेलाई “भलादमी भिखारी पट्टा”ले सुशोभित गरी बयलमा राखी पुरा शहर सयर गराउने भन्ने हुकुम पनि जारि गरे । उत्तर पठाउने ठेगाना: ४२० बहर पाटी, ठिमाहा चोक, ताक्लामाकन गाउँ ।

निक्कै बेर दिमाग घोटघाट गरेपछि सबैले निस्कर्ष निकाले कि यस्ता यी जटिल किसिमका प्रश्नहरुको जवाफ दिनलाई चानचुने पाराले हुंदैन । भएको दिमागलाई साद लगाउदा लगाउदै अरु धारिलो बनाउनु पर्छ । त्यसै हावाको भरमा जवाफ दिने यहाको चलन नभएकोले निकट भविष्यमा हुने अर्को बाह्रमासेजात्रामा यी प्रश्नहरुको जवाफ दिने भन्नेमा सबै सहमत भए । कार्यक्रम समापन गर्नु अघि भुंडीफोर ब्यान्डले आजभोलिको खुब चर्चित गीत गायो:

बिहान हामी भातपाटी बेलुका चाहिं ट्वाटे !

मादलै हो हाम्रो दल चिन्तन चाहिं च्वाचे !! 

चिन्तन चाहि च्वाचे !

ठग्नु भुक्नु कुर्लनु मुख्य हाम्रो कर्म !

मौकामा चौका हान्नु यहि हाम्रो धर्म !! 

 यहि हाम्रो धर्म !

हामीलाई चिन्ने नै फेसन हाम्रो कट्टु !

कुराचाही ठुला गर्छौ तर हामी टट्टू !!

तर हामी टट्टू !!

भोलिपल्ट पुरै समाचार नै भलादमीमय भइहाल्यो, चानचुने त कुरै छैन । यहांहरुलाई यो बाह्रमासेजात्रा के कसो लाग्यो ? माथिको ठेगानामा दस्तुर सहित प्रतिक्रिया पठाउन अनुरोध गरिन्छ । जय बाह्रमासेजात्रा !!!

प्रतिक्रिया

सम्बन्धित सामाग्री