बुधबार, साउन २८ २०७७ | Wed, August 12, 2020
नेपालको समय: १२:३७ | UK Time: 07:52

घैंटो, कुमाल अनि कम्पनी

वीनेपाली
२०७२ भदौ ८ गते १०:५२

10256090_10152177331048145_7117099052323055519_oकोमल, मुलायम स्वच्छ माटो अनि त्यस माटोको संसोधन कर्ता कुमाल जसले भांडा निर्माण गर्छ । गाग्रो, घैंटो, सुराही आदि इत्यादि । वाह चमत्कारिक दुनिया । एक आमा जसले एक स्वच्छ एक सन्तानको जन्म दिन्छिन् जसमा न छलकपट छ, न लोभ, न इष्र्या । सुन्दर एक आत्मा, केवल कोमल ह्दय अर्थात् माटो । उ बिना ब्रमान्डमा को जन्मिएको हुन्छ ।
तर, एक हुल कुमाल आफ्नो स्वार्थको खातिर धमाधम भांडा निर्माण गर्न व्यस्त छन् । कपटी मन, दुषित ह्दयका मानव सभ्यताका दुश्मनहरु विभिन्न रुप लिएर मातृवात्सल्य कुल्ची रहेका छन् ।

यी चटकेहरु डमरु देखाएर चटक देखाउंदै एक मासुम बच्चाको ह्दय लुच्छन् अनि एक मानव सभ्यतामा कलंकित दर्जा पाएर यस धर्तीबाट लाउंला खाउंला भन्ने बेलामा अपमानको खाता ओढेर बिदा हुन्छन् । अनि निरिह जनताहरु बुझेर पनि नबुझे जस्तो बहानामा चटक हेरी रहन्छन्, बारम्बार हेरी रहन्छन् । उही कम्पनीका अर्काे शाखाका मालिकहरु तारो हान्छन् चरी खसाल्छन् अनि घैंटो फुटाल्छन् । नौटंकी र चटकका घट्नाहरु कति भए कति । कहिले खारा भए, कहिले बेनी, कहिले खलंगा । चोट अझै ताजै छ । रगत सुकेको छैन्, घाउमा खाटा बसेको छैन् र बस्ने वाला पनि छैन् ।

मर्नु त पर्छ नै अजम्मरी हामी कोही छैनांै । मर्ने त मरेर गए केवल एक चोटी तर बांच्नेहरु हजार चोटी मर्छन्, सुख्खा आंखा र अवरुद्ध गला लिएर । न चाडवाड मान्न दियौ, न सांझ भन्न दियौ, सिउंदो पुछि दियौ । काख रित्याइदियौ, साथ टुटाई दियौ,टुहुरा बनाई दियौ । गण्डकी रुंदै बग्यो । बेनी रगताम्मे । चुरे चोटले ढल्यो । दिनको सूर्य पूर्वमै अस्तायो । निरिह आमा, निर्बल बाउ । अकेली प्रिया, निर्दोष सन्तान मृत शरीरको छेउमा निशब्द बनेर टोलाइरहे ।

रंगीला सपनाहरु बांड्दै क्रान्तिकारीको जोशिला बिल्ला भिराए अनि वस्ती र जंगलमा घुमाए । घैंटेको उपनाम दिएर शहरहरु लुटाए । चरीको प्वांख जडाएर शहर र वस्तीमा उडाए । ब्रान्ड फरक हुन् कार्य उस्तै हो । उत्पादक फरक हुन् उत्पादित सामान उस्तै हुन् । फरक रुप, फरक भेष, फरक परिवेश, गराइको उद्देश्य र शैली उही हुन् । राजदरबारमा ढले खोई कसको निशाना हो । राजा मारिंदा राज्य मौन रह्यो, छानवीनको नाटक मञ्चा भयो । भ..ट..ट..ट भनेर गाइजात्रे चुट्काहरु बने तर रहस्य मै रह्यो । कुन्नी कुन ग्रहबाट एलियन आएछन् दरबार मासेर गए । ती मारिएका आत्माहरु कतै छटपटाइ रहेका छन् । जनता सडकमा उत्रिए, नेता घरभित्र लुके । नेतृत्व दिने कोही भएनन् । सडक रोएर बस्यो ।

यी भिल्लाका भिजिलान्तेहरु नारी अस्मिता लुटेर बसेका छन् । वाध्यता र विवशताका कारण अन्जान माटोमा पाइला टेक्छन् यी भिल्लाका भिजिलान्तेहरु नारीका अस्मिता लुछेर । तिनले पुरुषका स्वाभिमान लुटेका छन् । लुट्नु र लुटाउनु यिनका जीवन लीला हुन् । क्रान्तिकारी सपना बांडे गरिव वस्तीमा अनि क्षणभरमै ती ललिपपका सपना तुहिए । क्रान्तिकारी शहिद भए उनी अनि महान शहिदका पत्नी काखे लालाबालाको भविष्य बोकेर महामहिमका सपनाबाट सिर्जित वाध्यता र विवशताको भंगालोसंगै कलिला लालाबाला रुवाऊंदै अन्जान माटोमा पाइला टेक्छन् बिरानो देशमा । आफ्नैले लुटिएकाहरु फेरी मानसिक रुपमा, आर्थिक रुपमा, शारीरिक रुपमा पराइबाट बलात्कृत हुन्छन्, लुटिन्छन् । अनि टुक्रिएका ह्दय र घाइते मुटु लिएर फर्कन्छन् । अर्काको जमिन र माटोमा आत्महत्या गर्छन् र कोही अर्ध चेत मनमष्तिस्क लिएर बेकम्मा र अपहेलित जीवन बांच्छन् ।

हामी आधुनिक दासहरु करारनामामा दस्तखत गरि बिरानो वस्तीमा श्रम बेचिरहेका छौं । विचरा हामी । हांस्ने बहानामा रोइरहेका छौं, बांच्ने बहानामा मरि रहेका छौं, मारिइ रहेका छौं । न कुनै जीवनको मुल्य छ यहां । न आंशुको अस्तित्व छ यहां । छ त केवल राजनीतिक ठेकेदारहरुको रौनक छ यहां । मस्ती छ यहां । जनता सडक पेटीमा सुत्छन् । उही ठेकेदार क्रान्तिकारीका नाइके गरिवका सपना बेचेको मुल्यबाट आयातित लाखौं मुल्यको पलंगमा सुत्छ, अनि समानताको नारा घन्काउंछ । अनि 
घैंटेहरु पहरा दिन्छन् । धिक्कार हामीलाई, कठै विचरा हामी ।

हरेक दिन कफिनको चिल्लो बाकसभित्र ढलेका रहरहरु । उजाडिएका वस्तीका नासोहरुका बन्द बाकसहरु हस्तान्तरण हुन्छन् । निरिह न्याउली रोइ रहन्छे । स्याल कराउंछ, कुकुर भुक्दै छ । मृत्युको शहरभित्र चिता कुरेर बस्छन् आफन्तजनहरु । विदेशी गल्लीहरुमा काटिन्छौं हामी । मेशिनमा पेलिन्छौं हामी । हिमालको चरी अरबको गर्मी रगत सुकाऊंछौ । न छहारी, न पानी । हेर्दाहेर्दै मरुभूमिमा सकिन्छौ हामी । हामी घैंटे विभिन्न बहानामा मर्छौं र मारिन्छौं । ठाउं र परिवेश फरक हो मरण उही हो ।

एउटा जत्था घैंटो उत्पादन गर्छ अर्को जत्था फुटाउन सफलता ठान्छन् । घंैटेको आमाको काख रित्तिएको रित्तिएकै छन् । उत्पादकका नाइकेहरु फेरी चटक देखाउंदै नेपाल बन्द गर्छन् फेरी नेपालीलाई दुःख दिई पानी माथिको ओभानो बन्छन् । कानुनका कुरा गर्छन् । संविधान बनाउन एक दशक लगाऊंछन् । दश मिनेटमा मिल्छन् । शान्त समाज भागबन्डा गर्छन् । भांडभैलो मच्चाऊंछन् । जात, धर्मको विष छर्छन् र रात्रिभोज गर्छन् यी चटकेहरु । कानुन रुन्छ देशमा । न्यायालय मौन 
छन्, केवल लुट छ, डकैत छ । गोलीका निशाफ राज्यमा ।

हे आमा हो जाग उठ । अति भइसक्यो । आंसु होइन सन्तानको रक्षा गरौं । यी ब्याधाहरुबाट जोगाऔं, असल मार्ग देखाऔं । हे आमा तिम्रो ममतामयी सुन्दर बिहानी एक गोलीमा अन्धकारमय भइरहेको छ । कुटो कोदालो, हलोजुवा बांडी देउ सन्तानहरुलाई अनि आरामसंग गुन्द्रीमा निदाऊ । धर्ती सिञ्चित गर्न सिकाउ । मानवीय ह्दय निर्माण गर्न सिकाउ । इमान्दारीताको मुल्य असिम छ । मिहेनतको फल र स्वाभिमानको शिर अटल छ अनि अमर । घैंटो निर्माण कम्पनीमा भर्ना नगराऊ । तासको चोली भन्दा टालेको भोटोमा इज्जत छ । भो अब रोक । बार उठाऊ करेसाबारीमा । तगारो हाल गल्लीहरुमा । रोक ब्याधाहरुलाई यसैमा हाम्रो कल्याण छ । अनि नमन छ तिम्रो मातृत्व शक्तिलाई एवं मातृवात्सल्यलाई ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक