गौरमा निषेधाज्ञा

vt

रौतहट, ७ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा भएको आन्दोलनको क्रममा स्थिति तनावग्रस्त भएपछि रौतहट सदरमुकाम गौरमा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज दिउँसो ४ः३० बजेबाट भोलि बिहान ५ बजेसम्म गौर नगरपालिका क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको हो ।

मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज रौतहट सदरमुकाम गौरमा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले गौर नगरपालिकाको सबै वडामा लागु हुने गरी निषेधाज्ञा आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।

आज अपराह्न बन्दकर्ताहरुले ढुङ्गामुढा गरी जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयको झ्यालका सिसा फुटाएपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

भीडलाई तितरवितर पार्न सुरक्षाकर्मीले चार सेल अश्रुग्यास प्रहार गरेको छ । अहिले पनि बन्तकर्ता सो क्षेत्रवरपर रहेकाले सुरक्षाकर्मीलाई बाक्लो मात्रामा परिचालन गरिएको छ ।

सम्भावित घटनालाई ध्यानमा राख्दै सदरमुकाम गौरका विभिन्न सरकारी कार्यालयमा सुरक्षाकर्मी परिचालन गरिएको छ । केहीबेर तनावको स्थिति सिर्जना भएता पनि सुरक्षाकर्मीले संयमताका साथ कर्तव्यपालन गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मधेसी मोर्चाको आह्वानमा महिलाले विरोध प्रदर्शन गरेको र नगरपरिक्रमापछि जम्मा भएको भीडले ढुङ्गामुढा प्रहार गरी दुई कार्यालयमा क्षति पुरयाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री