वृहत नेवा मुनाको तयारी पुरा, गायक बिबेक श्रेष्ठ आउने 

picture

लन्डन । प्रत्येक दुई बर्षमा बेलायतमा हुने नेवारहरुको भेला तयारी पुरा भएको छ । मूल आयोजक समितिका संयोजक सुदर्शन श्रेष्ठका अनुसार, बिभिन्न उपसमितिले आ-आफ्नो जिम्मेवारी अनुसारको पूर्ण तयारी गरिसकेका छन् ।

आफ्नो मौलिक संस्कृतिको प्रबर्द्धन तथा सम्बर्द्धन गर्ने उद्देश्यले प्रत्येक २-२ बर्षमा गरिदै आएको चौथो बृहत नेवा: मुना आगामी शनिवार २९ अगष्ट रिडिंगमा हुने भएको हो ।

नेवारी कला-संस्कृति प्रदर्शन साथै परम्परागत नेवारी खाना समेत विशेष ब्यबस्था गरिएको सो मुनाको लागि लोकप्रिय गायक बिबेक श्रेष्ठ सहभागी हुने छन् । बिबेक श्रेष्ठसंगै अर्का चर्चित गायक योगेश्वर अमात्यको समेत सहभागिता रहने सो कार्यक्रममा प्रदर्शन गरिने सांस्कृतिक कार्यक्रमको संयोजन गरिरहेका शुशिल प्रजापतिका अनुसार मुनामा मन्जुश्री नृत्य, लाखे नाच, ख्याक, धिमे बाजा, ध बाजा, मस्केड भैरब गुन्न नाच, मस्केड लाखें वो चुम्पका नाच, देवी प्याखं, मस्केड ख्याक नाच, पुलुकिसी प्याख, सपरु प्याखं (घिन्तांग घिसि प्याखं) नेवारी गीत तथा नेपाली नृत्यहरु राखिएको छ ।

कार्यक्रममा नेवार समुदायबाट शैक्षिक, ब्यबसायिक क्षेत्रमा सफलता हासिल गरेका प्रतिभाहरुलाई सम्मान गरिने सम्मान उप-समितिका संयोजक यादव श्रेष्ठले बताए । स्थानीय सांसद, मेयर, काउन्सिलर, बिभिन्न संघ-संस्थाहरुका प्रतिनिधिहरुको समेत उपस्थिति रहने सो कार्यक्रमको प्रमुख आतिथ्यता बेलायतस्थित कार्यवाहक नेपाली राजदूत तेजबहादुर क्षेत्रीबाट हुने पासा पुचः गुथी, यूकेका महासचिव शिवजी श्रेष्ठले बताए ।

नेपालमा भूकम्पबाट क्षतिग्रस्त सांस्कृतिक सम्पदाको पुनर्निर्माणमा सहयोग पुर्याउने लक्ष राखिएको सो कार्यक्रमको बेलायतस्थित नेवार समुदायले अधैर्यसाथ प्रतीक्षा गरिरहेको पासा पुचः गुथीका केन्द्रिय सदस्य ओजेश सिंह डंगोलले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री