बेलायतबाट नेपाल जाने पर्यटक बढे

Nepalese embassy London

लन्डन । भूकम्पपछि शिथिल नेपालको पर्यटनले क्रमशः गति लिन थालेको छ । नेपाल सरकारले नेपाल पर्यटकका लागि घुम्न ‘सुरक्षित’ रहेको बताइरहंदा बेलायतबाट समेत पर्यटक नेपाल जाने क्रम वृद्धि भएको छ ।

गत अप्रिलमा नेपालमा विनाशकारी भूकम्प गएपछि बेलायतले आफ्ना नागरिकलाई अत्यावश्यक काम बाहेक भ्रमण गर्न रोक लगाएको थियो । अहिले 
भ्रमणमा लगाइएको रोक फुकुवा भएपछि नेपाल जाने बेलायतीको संख्या बढेको हो । यही अगष्ट महिनाको १८ तारिखसम्म २ सय ६४ जना बेलायतीले नेपाल जान भिजा लिएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । अघिल्लो महिना जुलाईमा २९४ जनाले दूतावासबाट नेपालको भिजा लिएको तथ्यांक छ ।

दूतावासका अनुसार, गत अप्रिलमा २९४ बेलायती नागरिकले नेपाल जान दूतावासबाट भिजा लिएका थिए । त्यस्तै, मेमा ११४ र जुनमा १८९ जना नेपाल गए । नेपाल पर्यटन तथ्यांक अनुसार, सन् २०१३ मा ३५ हजार ६ सय ६८ जना र गत वर्ष सन् २०१४ मा ३६ हजार ७ सय ५९ बेलायती नागरिक नेपाल घुम्न गएको देखिन्छ ।

लन्डनस्थित नेपाली दूतावासले भूकम्पपछि अब नेपाल सुरक्षित छ भनेर सकारात्मक सन्देश दिइरहेको बताएको छ । ‘पर्यटन प्रवर्धनका सिलसिलामा हामीले बेलायती लगायत युरोपेली कुटनीतिज्ञ, राजनीतिज्ञ र नेपालप्रेमी शुभचिन्तकलाई नेपाल भ्रमण गर्न प्रेरित गरिरहेका छौं’, लन्डनस्थित नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले भने । क्षेत्रीले हालै आइसल्याण्ड र आयरल्याण्डमा बेग्लाबेग्लै नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम गरिएको जनाउंदै ति दुवै देशका सरकारलाई नेपालमा लगाइएको भ्रमण प्रतिवन्ध फुकुवा गरिदिन आग्रह गरिएको उल्लेख गरे । बेलायतसंगै केही पश्चिमा र युरोपेली मुलुकले भने 
रोक फुकुवा गरिसकेका छन् । क्षेत्रीले बेलायतको विदेश मन्त्रालयलाई पटक पटक रोक फुकुवा गर्न आग्रह गरिएको जनाए ।

मौन पर्यटन बोर्ड
भूकम्पपछि नेपाल सुरक्षित छ भन्ने खालको सन्देश दिन नेपाल पर्यटन बोर्ड मौन छ । कार्यवहाक राजदूत क्षेत्रीले दूतावासले दुई वर्ष यता परिमार्जित लिफ्लेट, ब्रोसर वा अन्य प्रवद्र्धनात्मक सामाग्री नपाइएको गुनासो गरे । ‘भूकम्पपछि नेपालको अवस्थाबारे अवगत गराउन नयां प्रचारप्रसार सामाग्री अत्यावश्यक भएपनि पाइएको छैन्’, क्षेत्री भन्छन्, ‘पर्यटन उकास्ने हो भने यही बेला विदेशस्थित नेपाली दूतावास र गैर आवासीय नेपाली आक्रामक तरिकाले लाग्न जरुरी छ ।’

उता, पर्यटन बोर्डका बेलायतस्थित पिआर ध्रुव केसीको गुनासो पनि क्षेत्रीकै जस्तो समान छ । ‘अहिले झन् बढि गर्नुपर्ने बेला हात बांधेर बस्नुपर्ने अवस्था छ’, केसीले भने, ‘न पर्यटन मन्त्रालय, न बोर्डले पर्यटन प्रवर्धनमा टेवा पुग्ने खालका कार्यक्रम ल्याएका छन् ।’

यद्यपि, केसी र क्षेत्रीले आ आफ्नै ढंगबाट पर्यटन प्रवर्धन गरिरहेको दावी गरेका 
छन् । कार्यवहाक राजदूत क्षेत्रीले हजारौं विदेशी सहभागी हुने लन्डन मेला, म्यानचेष्टर मेला, वल्र्ड ट्राभल मार्केट (डब्लुटिएम) मा नेपालको पर्यटनबारे जानकारी गराइएको जनाए ।

नेपलिज क्याटरर्स एसोसिएसन यूकेका संस्थापक अध्यक्ष समेत रहेका केसीले बेलायतस्थित प्रायः नेपाली रेष्टुरेन्टहरुले अब आफ्नै खर्चमा नेपाल घुम्न जाऊं, नेपाल सुरक्षित छ, एकजना साथीलाई होलिडेका लागि नेपाल पठाऊं जस्ता सकारात्मक सन्देशयुक्त ब्रोसर, लिफ्लेट आदि छापेर बांड्ने तयारी भइरहेको जनाए ।

केसीका भनाइमा २ देखि ५ नोभेम्बरसम्म लन्डनमा हुने वल्र्ड ट्राभल 
मार्केटमा समेत नेपालको पर्यटन प्रवर्धन गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री