एनआरएनए युकेको पदाधिकारीमा दाबी गर्ने खुशी लिम्बु को हुन् ?

खुशी लिम्बु

खुशी लिम्बु

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएन) युकेको निर्वाचनको मिति नजिकिँदै जाँदा यसअघि एनआरएन वृत्तमा कतै नाम नसुनिएका खुशी लिम्बुले पदाधिकारीमा दाबी गरेका छन् ।
युकेको एनआरएनएमा अग्रपंक्तिमा नदेखिए पनि उनी युकेका नयाँ बासिन्दा भने होइनन् । पाँचथरमा जन्मिएका खुशीले स्नातकसम्मको पढाइ काठमाडौँमा पूरा गरे र २० वर्षअघि परदेशको यात्रा शुरु गरे । ९ वर्ष हङकङमा बिताएपछि युके प्रवेश गरेको पनि ११ वर्ष बितिसकेको छ । लण्डनको एल्थाममा बसोबास गर्ने खुशी अहिलेसम्म कहाँ थिए त ?
‘एनआरएनमा पद लिएर काम नगरेको मात्र हो, एनआरएनसँग पूरै अनभिज्ञ होइन’ उनले भने । ‘एनआरएनका हरेक क्रियाकलापहरु लामो समयदेखि नजिकबाट नियालिरहेको छु’ उनले थपे ।
सार्वजनिक सञ्जालमा यदाकदा साहित्य कोर्ने खुशीले युनिभर्सिटी अफ सरेबाट क्रिमिनल जस्टिस एण्ड सोसल रिसर्चमा स्नातकोत्तर गरेका छन् भने लण्डन साउथ ब्यांक युनिभर्सिटीबाट क्रिमिनोलोजीमा बीए अनर्स । हालमा गोल्डस्मिथ युनिभर्सिटीबाट ह्युमन राइट्समा स्नातकोत्तर गरिरहेका उनी सामाजिक कार्यबाट कति पनि टाढा छैनन् ।
हङकङ नेपाली मञ्च युकेको महासचिव र हालै साउथ इष्टमा बसोबासरत नेपालीहरुको संस्था रोयल ग्रीनीच नेपलिज सोसाइटीमा पनि उनी महासचिव छन् ।

त्यस्तैगरी, २००४ देखि २००८ सम्म बीएनओ गोर्खा एशोसियसन यूकेको महासचिब समेत रहेका खुशी लिम्बूले उक्त समयमा हङ्कङ्मा रहेका पाँच हजारभन्दा बढी ब्रिटिश ओभरसिज नागरिक (हङ्कङ आईडी बाहक) हरुलाई पनि पूर्ण ब्रिटिश नागरिकता दिलाएर उनिहरुलाई बेलायत प्रबेश गराउनमा बिशेष नेत्रित्वदायी भूमिका निभाएका थिए ।

मिडियामा सचिव पदका उम्मेदवार भनिए पनि उनी भन्छन्, ‘म अध्यक्षबाहेकका सबै पदका लागि तयार छु ।’ आफूभन्दा सक्षम र कर्मठ उम्मेदवारहरु आएमा सचिव पद छोड्न पनि उनी राजी छन् । तर सचिव पदमा विजय भएमा एनआरएनको भद्रगोल आन्तरिक व्यवस्थापन र सञ्चार सञ्जाललाई चुस्तदुरुस्त बनाउने उनको योजना छ ।
अरु उम्मेदवारहरु मिडियामा छ्यास्सछ्यास्ति आइसक्दा पनि उनी भने ‘साइ क्याण्डिडेट’ जस्ता छन् । आगामी दुई हप्ता घोषणा पत्र, विज्ञप्ति, अपील बनाउने र द्रुतगतिमा अभियान चलाउने उनको योजना छ ।
अहिलेसम्म एनआरएनको कार्यसमितिमा नरहेका उनलाई सोधियो, ‘एकैचोटी पदाधिकारीमा जाने आँट कसरी गर्नुभयो ?’ उनको प्रष्टिकरण थियो, ‘मेरो चाहना सदस्यमा नै उम्मेदवारी थियो । योग्य र सक्षम उम्मेदवार आउन् भन्ने थियो तर अहिलेसम्म उम्मेदवारी दाबीको क्रम हेर्दा मैले पनि गर्नसक्छु भन्ने लाग्यो ।’
एनआरएनमा विगतमा पार्टीगत भागवण्डा पनि लाग्ने गर्थ्यो । तपाई पनि कुनै पार्टीको साथ सहयोगमा उम्मेदवार बन्नुभएको हो कि ? उनले भने, ‘म नेपाल र युकेमा कुनै पार्टीमा छैन । तथापि मलाई टीममा आउन धेरैले आग्रह गरिरहनुभएको छ तर मैले कसैलाई वचन दिएको छैन ।’
आफ्नो विजयप्रति कत्तिको आशावादी हुनुहुन्छ भन्ने जिज्ञासामा उनले भने, ‘जित्छु नै भन्ने लाग्छ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री