लन्डन आएर आफैं मोडलिङ् गरिन् अन्जुले

11881469_10153613720467074_314777607_o

तस्विर ः के के मुभिज प्रोडक्सन

लन्डन । सुन्दर गला र आकर्षक सौन्दर्य एकैसाथ सबैलाई मिल्दैन । कोही सुन्दरी हुन्छन् गाउन सक्दैनन् । कोही मिठो गाउंछन् सुन्दर लाग्दैनन् । तर, आफ्नो सुमधुर आवाजले हरेक संगीतप्रेमीको दिलमा राज गर्न सफल गायिका अन्जु पन्तको हकमा भने यो विपरित छ । उनमा आवाज मात्र होइन, सौन्दर्यताको पनि कमी नरहेको प्रमाण्ति भएको छ एउटा म्यूजिक भिडियोमा ।

सांगीतिक क्षेत्रमा उनको आवाजको जादु चल्ने बित्तिकै उनलाई सिनेमाको अफर पनि त्यत्तिकै आयो । आफ्ना गीतको भिडियोमा पनि कमै देखिने अन्जुले सबै प्रस्तावहरुलाई अस्वीकार गरिरहेकी थिइन् । तर, अहिले आएर उनलाई आफैंले गाएको एउटा गीत यति मन परेछ, त्यो गीतको भिडियोमा आफैंले मोडलिङ् गरिन् ।

केही समय आगाडि कार्यक्रमका सिलसिलामा लन्डन आएकी अन्जुले त्यही बेला जुनी जुनी… बोलको गीतमा मोडलिङ् गरेकी हुन् ।

पत्रकार नृपेश उप्रेतीको बजारमा आउंदै गरेको एल्बम खुशीको उक्त गीतमा अर्जुन पोखरेलको संगीत छ ।

“मैले गाउने गीतहरु भन्दा अलि फरक शैलीको छ यो गीत’’ उनी भन्छिन् “अलि फास्ट बिटको, पार्टीहरुमा पनि चल्ने र मेरा लागि अलिक नयांपन भएकाले पनि आफैंले मोडलिङ् गरेकी हुं’’ ।

लन्डनका स्थापित सञ्चारकर्मी कुशल श्रेष्ठको निर्देशन रहेको सो म्यूजिक भिडियोमा अन्जुका दृश्यहरु लन्डनको चर्चित लोकेशनहरु वेष्ट मिनिस्टर, लन्डन आइ, टावर ब्रीज, थेम्स् नदी वरपर खिचिएको छ । लन्डनमा रहेकी चर्चित नेपाली डिजाइनर अन्जली केसीको आकर्षक डिजाइनर ड्रेसहरुमा अन्जुलाई भिडियोमा देख्न सकिन्छ । गीतको छायांकनमा कुनै सम्झौता नगरेकाले भिडियो निकै राम्रो बनेको खुशी एल्बमकी निर्मात्री सोबिता उप्रेती बताउंछिन् ।

चांडै नै बजारमा आउने तयारीमा रहेको यो गीतमा मोडल बिदुर अधिकारी र सारा अन्जु पन्त संगै समानान्तर भूमिकामा देखिने छन् ।

यूकेमा नै फोटो अनि भिडियोग्राफीलाई मुख्य पेशा बनाएका निर्देशक कुशल श्रेष्ठले यो गीतको भिडियो बनाउने चुनौती खेपेका छन् । उनी भन्छन्, लन्डनको दृश्यहरुलाई आकर्षक शैलीमा प्रस्तुत गर्नु त छंदैछ, अन्जु जस्तो लोकप्रिय गायिकालाई मोडलका रुपमा पृथक तरिकाले उभ्याउन कम सहज थिएन् ।

चर्चित गायकद्वय शिव परियार र प्रमोद खरेललाई पहिलो पटक एकसाथ लिएर आफ्नो पहिलो गजल गाउन लगाई चर्चामा आएका गीतकार उप्रेतीको यो दोश्रो भिडियो हो । शब्द, संगीत र गायनका हिसाबले यो गीत अब्बल र भिडियो पनि सोचे भन्दा राम्रो बनेको दावी गर्ने उनी यस गीतबाट निकै आशावादी छन् । उनलाई यस गीत आफ्नो लेखनमा कोशेढुङ्गा हुन सक्ने विश्वास छ ।

11857684_10153613716982074_1189359063_n

तस्विर ः के के मुभिज प्रोडक्सन

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री