लन्डन । ‘जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना…’ लन्डनमा दोश्रो भेट गर्न शनिबार सांझ ख्यातिप्राप्त इन्डोर भेन्यू ‘ओ टु ब्रिक्सटन’ स्टेज उत्रेको नेपथ्यलाई दर्शकले सांच्चिकै मायां दर्शाए ।
करिव दुई वर्षअघि विख्यात वेम्ली एरिनामा पहिलो पटक नेपाली कन्सर्ट गरेर एउटा इतिहास रच्दै दर्शकको अपार स्नेह बटुल्न सफल उक्त सांगीतिक समूहले यो पटक पनि त्यस्तै सम्झना छाडेको छ । करिब अढाइ घण्टा निरन्तर गाउंदा दर्शकले कत्ति दिक्क मानेनन्, बरु ‘वान्स मोर’ भनिरहे ।
बेलायतका कुना कुनाबाट ओइरिएका हजारौं दर्शकको अघिल्तिर आकर्षणमा रहे उनै ‘ब्राण्डेड’ गायक अमृत गुरुङ । बाटुलो चस्मा, जगुल्टे कपाल, पुरानो जस्तो लाग्ने जिन्स ज्याकेट र पाइन्टमा सजिएका ति गायकलाई त्यस्तो ख्यातिप्राप्त हलमा उत्रंदा समेत कुनै भाषण मोह देखिएन । सम्वोधन नगरि उनको गायन बढिरह्यो ।
नेपाल कस्तो छ ? लोकभाका कस्तो छ ? हजारौं दर्शकतिर उनले प्रश्न तेस्र्याउंदा जवाफ आयो एकदम सुन्दर । अनि त्यसैमा अमृतले थपे, ‘अनि मान्छेको ह्दयपनि धेरै कोमल र सुन्दर छ है । तपाईंहरु वर्षमा एकपटक नभए दुई वर्षमा एकपटक त नेपाल जानुस् । विचरा बुढा बा आमा, दिदी बहिनी र आफन्तहरु कति याद गर्दा हुन् ।’
गीतको बीचबीचमा उनको अनौपचारिक भनाइ मजाक तर अर्थपूर्ण लाग्थ्यो । बेलायत नेपाल कुटनीतिक सम्वन्ध र गोर्खा भर्तीको इतिहास कोट्याउंदै अमृतले उतिबेला काम नभएको परिस्थितिमा सैनिक सेवा गर्न अवसर दिने बेलायतलाई पनि धन्यवाद दिए । उनी कहिले विदेशमा बसेर पनि नेपाली कला, संस्कृति र भाषा संरक्षण भुल्न नहुने बताउंथे भने कहिले भूकम्पले क्षतविक्षत मातृभूमिलाई माया गरिरहन आग्रह गर्थे ।
करिब अढाइ घण्टामा नेपथ्यले ‘छेक्यो छेक्यो देउराली डांडा, ‘गाउं गाउंबाट उठ, वस्ती वस्तीबाट उठ’, ‘आकाशबाट के उडीं आयो’, ‘खान्न म त लामपाते सुरती’, ‘चरी मर्यो सिसैको गोलीले, ‘तालको पानी माछीले खाने’ जस्ता दर्जनौं गीत पस्केर दर्शक मन जित्यो ।
‘नैनाताल नैनाताल, घुमिआयो रेल
आँखामा लाउने कालो गाजल, बुलबुलेमा तेल
नैनाताल’
लाहुरे परम्पराबाट सिर्जित माथिको गीत पनि सुनाए अमृतले । अनिश्चित भविष्य बोकेर युद्धमैदानमा लडेका लाहुरेहरुप्रति समर्पित उक्त गीत बेलायतमा सर्वाधिक बसोबास गर्ने नेपाली लाहुरे परिवारका निम्ति ब्याण्डको तर्फबाट नयां उपहार थियो । नेपथ्यले यसपटक चार वटा नयां गीत समेत प्रस्तुत गर्यो ।
‘रातो र चन्द्र सूर्य…’ गाउंदा हलको पृष्ठभूमि पुरै रातो देखिन्थ्यो । पर्दामा नेपाली झण्डा फहराइरहेको थियो । गाइरहंदा नेपथ्य गायक अमृतले भने, ‘ब्याण्डमा हामी विभिन्न जातजातीका छौं तर हामी नेपाली हौं ।’ दर्शक तालीले हल थर्कियो । उनले ताली रोकिएपछि फेरि थपे, ‘जहां जसरी बसेपनि नेपाली भएर बांच्न सिकौं । विश्वभर छरिएर रहेका नेपाली एक हौं ।’
इलाइट इभेन्ट्स्ले कन्सर्ट आयोजना र संयोजन गरेको हो ।
स्टेजमा गायक अमृतलाई यसपटक पनि ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाए ।
आफ्नो दशौं अल्बमको रेकर्डिङ सकेर लन्डन आइपुगेको हो नेपथ्य । शनिबारको कन्सर्टसंगै नेपथ्यले नेपाली संगीत इतिहासमा अर्को अध्याय थपेको कतिपयको विश्लेषण छ । उक्त हलमा यसअघि गाइसकेका बब डिलन, म्याडोना, आइरन मेडन, सेक्स पिस्टल्स, युबी फोर्टी, एरिक क्ल्याप्टन, डायर स्ट्रेट्स्, द पुलिस, ह्वाम, कल्चर क्लबजस्ता थुप्रै लोकप्रिय नामसंगै नेपथ्य पनि अब जोडिएको छ ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा