लन्डन ब्रिक्सटनमा नेपथ्यको ‘वान्स मोर’

Kantipur 02 email

लन्डन । ‘जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना…’ लन्डनमा दोश्रो भेट गर्न शनिबार सांझ ख्यातिप्राप्त इन्डोर भेन्यू ‘ओ टु ब्रिक्सटन’ स्टेज उत्रेको नेपथ्यलाई दर्शकले सांच्चिकै मायां दर्शाए ।

करिव दुई वर्षअघि विख्यात वेम्ली एरिनामा पहिलो पटक नेपाली कन्सर्ट गरेर एउटा इतिहास रच्दै दर्शकको अपार स्नेह बटुल्न सफल उक्त सांगीतिक समूहले यो पटक पनि त्यस्तै सम्झना छाडेको छ । करिब अढाइ घण्टा निरन्तर गाउंदा दर्शकले कत्ति दिक्क मानेनन्, बरु ‘वान्स मोर’ भनिरहे ।

बेलायतका कुना कुनाबाट ओइरिएका हजारौं दर्शकको अघिल्तिर आकर्षणमा रहे उनै ‘ब्राण्डेड’ गायक अमृत गुरुङ । बाटुलो चस्मा, जगुल्टे कपाल, पुरानो जस्तो लाग्ने जिन्स ज्याकेट र पाइन्टमा सजिएका ति गायकलाई त्यस्तो ख्यातिप्राप्त हलमा उत्रंदा समेत कुनै भाषण मोह देखिएन । सम्वोधन नगरि उनको गायन बढिरह्यो ।

नेपाल कस्तो छ ? लोकभाका कस्तो छ ? हजारौं दर्शकतिर उनले प्रश्न तेस्र्याउंदा जवाफ आयो एकदम सुन्दर । अनि त्यसैमा अमृतले थपे, ‘अनि मान्छेको ह्दयपनि धेरै कोमल र सुन्दर छ है । तपाईंहरु वर्षमा एकपटक नभए दुई वर्षमा एकपटक त नेपाल जानुस् । विचरा बुढा बा आमा, दिदी बहिनी र आफन्तहरु कति याद गर्दा हुन् ।’

गीतको बीचबीचमा उनको अनौपचारिक भनाइ मजाक तर अर्थपूर्ण लाग्थ्यो । बेलायत नेपाल कुटनीतिक सम्वन्ध र गोर्खा भर्तीको इतिहास कोट्याउंदै अमृतले उतिबेला काम नभएको परिस्थितिमा सैनिक सेवा गर्न अवसर दिने बेलायतलाई पनि धन्यवाद दिए । उनी कहिले विदेशमा बसेर पनि नेपाली कला, संस्कृति र भाषा संरक्षण भुल्न नहुने बताउंथे भने कहिले भूकम्पले क्षतविक्षत मातृभूमिलाई माया गरिरहन आग्रह गर्थे ।

करिब अढाइ घण्टामा नेपथ्यले ‘छेक्यो छेक्यो देउराली डांडा, ‘गाउं गाउंबाट उठ, वस्ती वस्तीबाट उठ’, ‘आकाशबाट के उडीं आयो’, ‘खान्न म त लामपाते सुरती’, ‘चरी मर्यो सिसैको गोलीले, ‘तालको पानी माछीले खाने’ जस्ता दर्जनौं गीत पस्केर दर्शक मन जित्यो ।

‘नैनाताल नैनाताल, घुमिआयो रेल
आँखामा लाउने कालो गाजल, बुलबुलेमा तेल
नैनाताल’

लाहुरे परम्पराबाट सिर्जित माथिको गीत पनि सुनाए अमृतले । अनिश्चित भविष्य बोकेर युद्धमैदानमा लडेका लाहुरेहरुप्रति समर्पित उक्त गीत बेलायतमा सर्वाधिक बसोबास गर्ने नेपाली लाहुरे परिवारका निम्ति ब्याण्डको तर्फबाट नयां उपहार थियो । नेपथ्यले यसपटक चार वटा नयां गीत समेत प्रस्तुत गर्यो ।

‘रातो र चन्द्र सूर्य…’ गाउंदा हलको पृष्ठभूमि पुरै रातो देखिन्थ्यो । पर्दामा नेपाली झण्डा फहराइरहेको थियो । गाइरहंदा नेपथ्य गायक अमृतले भने, ‘ब्याण्डमा हामी विभिन्न जातजातीका छौं तर हामी नेपाली हौं ।’ दर्शक तालीले हल थर्कियो । उनले ताली रोकिएपछि फेरि थपे, ‘जहां जसरी बसेपनि नेपाली भएर बांच्न सिकौं । विश्वभर छरिएर रहेका नेपाली एक हौं ।’

इलाइट इभेन्ट्स्ले कन्सर्ट आयोजना र संयोजन गरेको हो ।

स्टेजमा गायक अमृतलाई यसपटक पनि ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाए ।

आफ्नो दशौं अल्बमको रेकर्डिङ सकेर लन्डन आइपुगेको हो नेपथ्य । शनिबारको कन्सर्टसंगै नेपथ्यले नेपाली संगीत इतिहासमा अर्को अध्याय थपेको कतिपयको विश्लेषण छ । उक्त हलमा यसअघि गाइसकेका बब डिलन, म्याडोना, आइरन मेडन, सेक्स पिस्टल्स, युबी फोर्टी, एरिक क्ल्याप्टन, डायर स्ट्रेट्स्, द पुलिस, ह्वाम, कल्चर क्लबजस्ता थुप्रै लोकप्रिय नामसंगै नेपथ्य पनि अब जोडिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री