पोखरा, १४ साउन । गएरातिको भीषण वर्षासँगै आएको पहिरोले कास्कीको लुम्ले र भदौरे तमागी गाविसमा पुरिएका घरबाट अहिलेसम्म १८ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
लुम्ले गाविसको माझघर गाउँमाथि रहेको खानेपानीको ट्याङ्की फुटेसँगै गएको पहिरोले १३ घर पुरिएको नागडाँडा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ज्ञानप्रसाद लामिछानेले जानकारी दिए ।
पुरिएका सो ठाउँका घरबाट १३ जनाको शव निकालिएको छ । यसमध्ये १० वर्षीय अर्जुन गुरुङ, १० वर्षीया सविना पौडेल, ८४ वर्षीय वसन्त विक, २५ वर्षीया सिजा विक, १४ वर्षीया सम्झना विक, १० वर्षीया सलिना विक, नौ वर्षीय सुनिल विक, २६ वर्षीया मञ्जु सुनार र उनकी तीन महिनाकी छोरी छन् ।
यस्तै, ३२ वर्षीया सुनकुमारी जिसी, पाँच वर्षीय सङ्गम जिसी, ५६ वर्षीय सिरिङ राई र उनकी नाम र उमेर थाहा नभएकी श्रीमती छन् । पहिरोले पोखरा–बागलुङ राजमार्ग पनि बन्द भएको छ ।
यस्तै, भदौरे तमागी गाविसमा अहिलेसम्म पहिरोले पुरिएका घरबाट पाँचजनाको शव निकालिएको छ ।
यहाँ मृत्यु हुनेमा ६५ वर्षीय टीकाराम विक, ५५ वर्षीया रामकुमारी विक, ३१ वर्षीया गौरी पराजुली, सात वर्षीय करन पराजुली र ६५ वर्षीया नन्दकली पराजुली छन् । पहिरोमा पुरिएका अझै चारजना बेपत्ता छन् भने अन्य १२ जना घाइते भएका छन् ।
बाढीले हर्पन खोलाको मोटर जाने पुल बगाएकाले सो ठाउँमा जाउजाउ गर्न असुविधा भएको प्रहरीले जनाएको छ ।
उता, म्याग्दीको मुदी र मुनामा बुधबार राति पहिरोमा पुरिएर बेपत्ता भएका सातजनाको शव भेटिएको छ । पहिरोले पुरिएर मुदी गाविस– ५ नेरवाङको गाखर्कमा एकै घरका तीनसहित छजना र मुना गाविस– ४ कुनौटोमा एक बालिकाको मृत्यु भएको हो ।
मुदीको गाखर्कमा पहिरोले गोठ पुरिँदा मुदी– १ का ७० वर्षीय कलो घर्ती, ४७ वर्षीय जीतबहादुर घर्ती र मुदी– ३ का ५२ वर्षीय भिमबहादुर घर्तीको मृत्यु भएको स्थानीय बुद्धिविकास माविका प्रअ जगबहादुर किसानले बताए ।
उनका अनुसार मुदी २ का ४९ वर्षीय दलदेवी पुन, उनका बुवा ७० वर्षीय किसलाल पुन र आमा ७३ वर्षीया घनदेवी पुनको पनि पहिरोमा पुरीएर मृत्यु भएको छ । यसैगरी, मुना गाविस– ४ कुनौटोमा पहिरोले घर पुर्दा ९ वर्षीया मेलिना पहरे पुनको मृत्यु भएको स्थानीयवासी देवेन्द्र रोकाले बताए ।
गाखर्कको पहिरोमा पुरिएका दुई जनाको शव बिहीबार दिउँसो स्थानीय बासिन्दाहरुले निकालेका छन् । उद्धारका लागि गाखर्कमा पुगेका मुदी र नेरवाङका बासिन्दाहरुले अन्य चार जनाको शव निकाल्ने प्रयास गरिरहेका छन् ।
उद्धारमा खटिएका प्रथम धौलागिरी युवा क्लब मुदीका अध्यक्ष खबिन घर्तीका अनुसार गाखर्कमा करिब डेढ सय मिटर माथिबाट खसेको पहिरोले गोठ रहेको सबै ठाउँ पुरिएका छन् । चार वटा गोठमा पालिएका दुई सय ५० भेडाबाख्रा र ७० वटा गाईभैंसी पनि पहिरोले पुरिएका छन् ।
पहिरोपछि गौरखोलामा आएको बाढीले मुदी र नेरवाङ जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ । भौगोलिक रुपमा बिकट उक्त स्थानमा पुग्न नजिकको बस्ती मुदीबाट दुई घण्टा पैदल हिँड्नुपर्छ ।
दुर्गम क्षेत्रमा पर्ने घटनास्थलमा ताकम प्रहरी चौकीबाट खटिएको टोली जाँदै गरेको प्रहरी नायव उपरीक्षक हीराबहादुर गिरीले बताए ।
यसैगरी, म्याग्दीको मुना गाविसको ७, ८ र ९ नम्बर वडामा पर्ने दर गाउँ पहिरोको जोखिममा परेको छ । गाउँ माथिको पहाडबाट पहिरो खस्न थालेपछि करिब एक सय घर जोखिममा परेको स्थानीयवासी बेलबहादुर पाईजाले बताए ।
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ