लन्डन । अगष्ट ८ मा ओ टु एकेडेमी ब्रिक्सटनमा कन्सर्ट गर्न लागेको नेपथ्यले गोर्खा परम्पराको दुई सय वर्ष पुरानो इतिहासमा समर्पित एउटा गीत समेत सुनाउने तयारी गरेको छ । दशौं अल्बमको रेकर्डिङ सकिएर रिहर्सल तयारीमा जुटिरहेको नेपथ्यले विश्वभर मानवताको सेवा गरिरहेका गोर्खा सैनिकमा गीत समर्पण गर्न लागेको हो ।
‘नैनाताल… नैनाताल
घुमिआयो रेल
आंखामा लाउने कालो गाजल
बुलबुलेमा तेल… नैनाताल’
यही गीत गोर्खाहरुप्रति समर्पित हुन लागेको हो । ‘मेरा काका बा र मावल खलकले वर्षौदेखि गाउंदै आएका र मैले केटाकेटीदेखि सुन्दै आएको गीत हो यो,’ नेपथ्यका अगुवा अमृत गुरुङ भन्छन्, ‘हाम्रो लोक संस्कृतिमा भित्रिएका लाहुरे स्वादको थुप्रै अभिव्यक्तिमध्येकै एउटा पाटो यो गीतले वर्णन गर्छ ।’ विशेषगरेर भारतीय गोर्खा रेजिमेन्टहरुमा लोकप्रिय भए पनि यसले सम्पूर्ण लाहुरेहरुको प्रतिनिधित्व गरेको गुरुङ सुनाउंछन् । यस गीतबाहेक नेपथ्यको नयां अल्बमका केहि अन्य गीत पनि कन्सर्टमा गुन्जनेछन् ।
‘हामी नयां अल्बमको काममा अहिले पनि तल्लीन छौं,’ गायक अमृत भन्छन्, ‘लन्डनमा त्यसबाट कम्तीमा चारवटा गीत सुनाउने तयारी गरिरहेको छु ।’
करिब अढाइ वर्षअघि वेम्ली एरिनामा ऐतिहासिक कन्सर्ट गरेको नेपथ्यले ओ टु एकेडेमी ब्रिक्सटनमा दोश्रो पटक कार्यक्रम गर्न लागेको हो । ‘हामी बेलायतमा फेरि भेट्ने छौं र उस्तै रमाइलो गर्नेछौं,’ गायक अमृत भन्छन्, ‘संसारभरका नेपालीहरुले देखाएको माया र सहयोगका निम्ति म सदैव कृतज्ञ छु । तपाईंहरुको गुण म कहिल्यै बिर्सन्न ।’
नेपथ्य आवद्ध दशजनाको टोली कन्सर्ट गर्न ५ अगष्टमा लन्डन आइपुग्ने आयोजक इलाइट इभेन्ट्सका एलबीजेड गुरुङले जनाए । स्टेजमा गायक अमृतलाई सधंैझैं ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।
‘हामीले वेम्ली एरिना जत्तिकै अनुकुल अर्को स्थल खोजिरहंदा नेपथ्यलाई सुहाउंदो आकार र प्रतिष्ठाको यो अर्को परिपूर्ण हल फेला पारेका हौं,’ ब्याण्डलाई प्रबर्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यससंगै नेपथ्यको नाम अब त्यस हलका अघिल्ला प्रस्तोताहरु बब डिलन, मडोना, आइरन मेडन, सेक्स पिस्टल्स र युबी फोर्टी जस्ता हस्ती एवं टोलीहरुको लहरमा जोडिनेछ ।’ श्रेष्ठका अनुसार, त्यो हलसंग एरिक क्ल्याप्टन, डायर स्ट्रेट्स्, द पुलिस, ह्वाम र कल्चर क्लबजस्ता थुप्रै अरु नाम पनि जोडिएका छन् ।
उक्त कन्सर्टको टिकट अनलाइन मार्फत पनि धमाधम विक्री भइरहेको आयोजकले जनाएका छन् । ओ टु ब्रिक्सटनले उक्त कार्यक्रमलाई उसको क्यालेण्डरअन्तर्गत वेबसाइटमा हालिसकेको छ र हल अगाडि नेपथ्यको बोर्ड अनि सूचना टांसिएको छ । ‘यो हलमा हामी प्रस्तुत हुनेछौं – अगष्ट ८ मा । हलको द्वारमा जानकारी टांगिएको देखियो’, अमृतले तलको तस्विर पोष्ट गर्दै फेसबुकमा भनेका छन् । http://www.o2academybrixton.co.uk/event/75675/nepathya-live-in-concert-tickets/details बाट अनलाइन टिकट बुकिङको समेत व्यवस्था रहेको जनाउंदै आयोजक समूहका विजय गुरुङ आव्हान गर्दै भन्छन्, ‘आउनुस् यसलाई अविष्मरणीय सांझ बनाऔं ।’
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते