शनिबार, कार्तिक ८ २०७७ | Sat, October 24, 2020
नेपालको समय: १५:०५ | UK Time: 10:20

धुमपान दीर्घ जीवनका लागि ठूलो शत्रु 

वीनेपाली
२०७२ साउन ११ गते १५:४८

10644534_10152351055088963_1570097025938301436_o

यदि तपाई धुमपान गर्नु हुन्छ भने आफ्नो स्वास्थ्य सुधारको निम्ति यसलाई छोड्नु नै सवभन्दा महत्वपूर्ण निर्णय हुन्छ । धुमपान भन्नाले कुनैपनि सुर्तीजन्य चिज जस्तै चुरोट, खैनी- सुर्ती, गुट्खा, तमाखु, कक्कड़ आदिको सेवनलाई जनाउंछ ।

धूमपान स्वास्थ्यको लागि किन खतरा  हुन्छ ?

चुरोटमा निकोटिन  र कार्बन मोनोअक्साइड जस्ता हजारौ केमिकलहरू हुन्छन् । सुर्तिमा एकदम नसादार निकोटिन भन्ने केमिकल हुन्छ जसले अनेक किसिमको नोक्सान हाम्रो स्वास्थमा पार्दछ । यसले मुटुको धड्कन बढाइ मुटुलाई बढी काम गर्न बल गर्दछ । रक्तचाप बढाउदछ ।

रगतलाई बाक्लो र टासिने  बनाउंछ, त्यसैले रगत जम्न सजिलो पार्दछ । रगत भित्र रक्त नलीमा जमेपछी यसले रक्त संचारमा ब्यबधान पुर्याउछ । मुटुमा रगत आपूर्ति गर्ने नलीमा रगत जमेर अक्सिजनयुक्त रगत बरोबर पास  हुन नसकेपछि हृदयघात हुनसक्छ ।

त्यस्तै दिमागमा बरोबर अक्सिजन युक्त रगत पास नभए पछि स्ट्रोक हुने कारण बन्न सक्छ ।

निकोटिन

निकोटिनले आड्रनालाइन भन्ने हार्मोन उत्पादन गर्दछ जसले मुटु चाडै धड्कने, उच्च रक्तचाप बढ्ने, मुटुलाई बढी काम गर्न पार्दछ । निकोटिनले दिमागको गतिविधिलाई बढाउछ । नियमित धुमपान गर्नेको रगतमा जब निकोटिनको लेभल घट्छ तब झर्को लाग्ने, ध्यान एकत्रित नहुने, बेचैनीले समात्ने आदि हुन्छ । अर्को धुमपान गरेपछि यो सब तलतल मेटिन्छ । धुमपान नशादार हुन्छ । त्यसैले धुमपान गर्नेले नियमितरुपमा गर्ने गर्छन् ।

निकोटिनले रक्त नालीमा बोसो जम्मा हुने कारण बन्न सक्छ जसले कोरोनरी मुटुरोग लाग्ने प्रमुख जोखिम हुन सक्छ ।

कार्बन मोनोअक्साइड

यी केमिकलहरूले मुटु र शरिर मा चाहिने अक्सिजन कम गराउंछ । रक्त कोषिकामा  या सानो प्वाल  बनाउने कारण पनि हुनसक्छ । यसले कोलेस्ट्रोललाई जान  दिन्छ जुन जम्मा भई रक्त नलीलाईलाई साघुरो बनाउंछ ।

गर्बवती महिलाहरु जसले धुमपान गर्छन, उनीहरुको पेटभित्रको बच्चालाई कम मात्रामा अक्सिजन उपलब्ध हुन्छ । यसले गर्दा बच्चाको बृद्दीमा सबै भन्दा बढी असर गर्ने कारण हुन्छ ।

कालो धुवा जसलाई टार भनिन्छ

जसमा धेरै केमिकलहरू हुन्छन । यो फोक्सोमा पुग्छ अनि रगत द्वारा शरीरका विभिन्न भागमा पुग्दछ । चुरोटमा चार हजार भन्दा बढी केमिकलहरू हुन्छन । जसमध्ये थाहा भएको पचास किसिमको क्यान्सर हुने चार्सिनोजेंस भन्ने रसायन र अरु बिषालुहरु धुमपानमा हुन्छ ।

 धुमपानले तल भनिएका रोग लाग्न सक्छ

अकालमा मर्ने र रोग लाग्नुको प्रमुख कारण धुमपान हो । यसबाट कोरोनरी मुटुरोग, स्ट्रोक, क्यान्सर , आस्मा, दम, अल्सर, रक्त नली साघुरिने आदि जस्ता अनेक रोगहरु लाग्न सक्छ । आधाभन्दा बढी धुमपान गर्ने मानिस यो संग संबन्धित रोगबाट मर्ने गर्छन् ।

केहि धुमपानबाट हुने रोगले धेरै तड्पाएर ढिलो मृत्युको कारण बन्ने हुन्छ ।  क्रोनिक सिपोपिड़ी रोग जसले फोक्सो र श्वास प्रश्वासको धेरै समस्या भएर निकै नै समय बिरामी भएर मात्रै इहलिला समाप्त हुने गर्छ ।

धेरै, थोरै अथवा कहिलेकाही मात्र धुमपान गर्नेको मुटु र रक्त कोषिकाहरु नोक्सान हुन्छ । जुन महिलाले परिवार नियोजनको चक्की खाने र मधुमेय हुनेलाई धुमपानको कारणले अरु मुटुको रोगको जोखिम झन प्रबल रुपले बढ्छ ।

निस्क्रिय धुमपान भनेको के हो ?

निस्कृय धुमपानमा जहाँ धुमपान गरेको ठाउमा धुमपान नगर्नेले श्वास फेर्ने हो । अनुसन्धानले देखाएको छ कि धुमपान नगर्ने मानिस जो धुमपान गर्ने वरिपरी बस्छन उनीहरुलाई कार्डियोभास्कुलर लाग्ने अधिक सम्भावना हुन्छ ।

निस्कृय धुमपानले  बच्चाहरुलाई भविष्यमा हुने कोरोनरी मुटुरोग लाग्ने जोखिम बढाउछ किनभने धुमपानले एच डी एल (राम्रो) कोलेस्ट्रोल घटाउंछ ।  यसले उच्च रक्तचाप बढाउनुको साथै मुटुको तन्तुहरूलाई नोक्सान पार्दछ ।

निस्कृय धुमपान ले गर्दा बच्चाहरुमा श्वासप्रश्वास सम्बन्धि रोग रेस्पिरेट्रोरी डिसट्रेस सिन्ड्रोम र आस्माको कारण बन्न सक्छ ।

धुमपान छोड्ने प्रण गरौ

आफ्नो स्वास्थयकोलागि सुर्तीजन्य कुनैपनि धुमपान नगर्नु उत्तम हो । मुटुरोग लगायत अन्य धेरै रोगको खानि धुमपान छोडेर अनेक फाइदा पाउन सकिन्छ । जति समय धुमपान गरेपनि यसलाई छोड्नु नै दिर्घायु हुनु हो ।

निस्कृय धुमपान बाट टाढा रहनु पर्दछ । धुमपान गर्ने क्षेत्रमा नजाने र घरमा कसैलाई पनि धुमपान गर्न नदिने नियम बनाउनुपर्छ ।

यदि तपाईलाई मुटुरोग लागिसकेको छ भने अनि धुमपान गर्नुहुन्छ भने यो छोड्दा चाडै मुटुरोग बाट मृत्यु हुने, दोश्रो हृदयघात हुने र अरु रोग बाट चाडै मर्ने सम्भावना कम हुन्छ ।

धुमपान रहित जीबनशैली स्वास्थ्य मुटुको लागि एकदम महत्वपूर्ण कुरा हो । क्रियाशील जीबन, स्वस्थ्यकर खाना, ठिक्कको शरीर, चिन्ताको ब्यबस्थापन, उच्च कोलेस्ट्रोल, रक्तचाप, मधुयेय आदि कोरोनरी मुटुरोग बाट बच्न ध्यान दिनु पर्ने कुरा हो ।

धूमपान छोड्न सकिने पहिलो महत्वपूर्ण आधार व्यक्तिको इच्छाशक्ति नै हो ।  मन देखिनै आउनु पर्यो कि “मेरो स्वास्थ्य मेरो लागि धेरै महत्वपूर्ण छ, अनेक किसिमका रोगको शिकार हुनुभन्दा धुमपान छोड्नु अति जरुरी हो”। यो विना  निकोटिन स्थानपूर्ति थेरापी जस्ता अरूले सहयोग उति  गर्न सक्दैन ।

धुमपान छोडेपछि शुरुमा हुने शरीरका गतिविधिहरु

•तलतल लाग्ने: पहिलो चार हप्तामा धुमपानको चाहना खुब हुन्छ, यसपछि कम हुदै जान्छ  । यसको प्रमुख कारणमा शरीरमा निकोतिन्को कमीले हुने हो । यसको लागि लामो, छोटो, गहिरो श्वास प्रश्वास गर्ने, पानि पिउने तथा हिड्ने या अरु गतिविधिहरु गरेर दिमागलाई अन्त मोड्ने । आफ्नो स्वास्थ्यको खातिर धुमपान छोडेको भनेर गरेको प्रण सम्झने पनि गर्नुपर्छ ।

•खोकी लाग्ने : यो प्राय शुरुको केहि दिनमा हुन्छ । फोक्सोले जम्मा भएको कालो धुवा (टार) लाई शरीर बाट हटाउदै गर्दा खोकी लाग्ने हुन्छ । तातो पेयले खोकी कम गर्न सकिन्छ । अतिनै खोकी लाग्यो भने डाक्टरको सल्लाह लिनु उपयुक्त हुन्छ ।

•भोक :  धुमपान छोडेपछि  बढी भोक लाग्ने हुन सक्छ । खानाको स्वाद बढी मिठो लाग्ने बनाउंछ ।

•निन्द्रा : कसैलाई धुमपान छोडेको शुरुको दिनहरुमा निन्द्रा गढबढ हुनसक्छ । शरीर मा निकोटिनले छोड्दै गर्दा यसो हुने गर्छ । एक महिना भित्र सामान्य प्राय हुन्छ । शारीरिक क्रियाकलाप गरेर निन्द्रामा सुधार हुन्छ । क्याफिन पाइने चिया, कफी, कोला जस्ता पेयहरु कम गर्नु पर्छ ।

•रिंगटा लाग्नु :  शुरुको दिनहरुमा कहिलेकाही धुमपान छोडेको बेलामा रिंगाटा लाग्न सक्छ । जब दिमागमा कार्बन मोनोअक्साइड को सट्टामा बढी अक्सिजन गएर यस्तो हुने गर्छ । यो राम्रो लक्षण हो । शरीरले यो रिंगाटा लाग्ने लाइ केहि दिनमा नै ठिक पार्छ ।

•मुड फेरिरहने, दिक्क लाग्ने : शरीरमा निकोटिनको नासादार केमिकलको कमीले हुने  भाबनाको कारण नै यस्तो हुने हो । त्यसैले आफ्ना परिवार, साथीभाइलाई यस्तो भएको कुरा भन्नु पर्छ । उनीहरुको सहयोग माग्नु पर्छ । शरीरले दिने प्राकृतिक प्रतिक्रिया थाम्न नसकेर फेरी धुमपान शुरु गर्नु हुदैन । त्यसैले स्वस्थ्यकर र दीर्घायू जीवनको लागि धूमपान ठुलो सत्रु हो । यो कुरा मनन गरेर हामी जीउन सक्यौ भने अनेक किसिमका स्वाथ्य को लाभ पाइन्छ । शुरुमा नै धुमपान नगर्नु राम्रो हो, धूमपानको लत लागि सकेपछि पनि यसलाई चाडै छोड्नु नै श्रेयकर हुन्छ । धुमपान छोड्नु कुनै बेला ढिलो हुदैन ।

(लेखक कोरोनरी मुटुरोग -२०१०, पुस्तकका लेखक तथा नेप्लिज हार्ट फाउन्डेसन बेलायतका अध्यक्ष हुन् )

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक