राईको एनआरएनए यूके अध्यक्षमा लड्ने औपचारिक घोषणा

घोषणासभामा जीवनसंगिनीका साथ राई । तस्विरः दिनेश कुमार, रेडियो राइनो

घोषणासभामा जीवनसंगिनीका साथ राई । तस्विरः दिनेश कुमार, रेडियो राइनो

लन्डन । एनआरएनए यूके उपाध्यक्ष हिराधन राईले आसन्न निर्वाचनमा अध्यक्ष लड्ने औपचारिक घोषणा गरेका छन् । शनिवार भेटघाट रेष्टुरेन्टमा आयोजित एक कार्यक्रमबीच उनले उक्त घोषणा गरेका हुन् । यसअघि मुछेत्र गुरुङले अध्यक्षमा लड्ने घोषणा गरिसकेका छन् ।

डा. राजेन्द्र थापाले सञ्चालन गरेको घोषणा सभामा राईले आफ्ना केही महत्वाकांक्षी प्रतिवद्धता समेत सार्वजनिक गरेका छन् । मन्तव्यका क्रममा उनले सन् २००३ देखि एनआरएनए अभियानमा लागेको जनाउंदै आफू खादा र सम्मान होइन, कामै गरेर देखाउन चाहेको बताए ।

उनले संस्थामा आर्थिक हिनामिनाबारे निष्पक्ष छानवीन गरि ६ महिनाभित्रै यसलाई जनमानसमा ल्याउने प्रतिवद्धता व्यक्त गर्दै नसके पदबाट राजीनामासम्म दिने जिकिर गरे ।

युनिटी अर्थात यू एन आइ टि वाइ आफ्नो मुल नारा भएको राईले जनाए । उनले संस्थामा एकता ल्याउने, सम्पूर्ण भूपू गोर्खा संगठनलाई एकवद्ध गर्ने र आन्दोलनरत गोर्खाहरुको समान पेन्सन मुद्दा किनारा लगाउने अठोट सार्वजनिक गरेका छन् । नेपाली नागरिकताको निरन्तरता उनको अर्को प्राथमिकता छ । जेष्ठ नागरिकहरुले पाउने सुविधाका लागि पहल, वृद्धवृद्धालाई कानुनी एवं अन्य सुझाव सहयोगसहित निशुल्क कल सेन्टर खोलिदिने पनि राईको घोषणापत्रमा छ ।

एनआरएनए यूके सदस्यहरुलाई कार्ड बनाइ विभिन्न पसल, रेष्टुरेन्ट तथा अन्य व्यवासायिक छुटका लागि प्रयास गर्ने, एनआरएनए कोषको व्यवस्था गरि पंजीकृत सदस्यहरुलाई सम्भव भएसम्म आपतकालमा सहयोग व्यवस्था गर्ने पनि उनको अठोट छ ।
युवाहरुलाई परिचालन गरि युथ फोरम गठन गर्ने समेत उनको योजना छ ।

१८ वर्ष ब्रिटिश आर्मीमा बिताएका खोटांगे राईको घोषणापत्रमा उपाध्यक्ष हुंदा दुई वर्षको अवधिमा गरेको सामाजिक कामको फेहरिस्त छ ।

कार्यक्रममा राईलाई नेपाली जनसम्पर्क समिति बेलायतका उपाध्यक्ष युवराज गुरुङ, किरात राइ यायोख्या अध्यक्ष पदम राई, चितवन एड टष्ट (क्याट) यूकेका पूर्व अध्यक्ष कृष्ण गुरुङ, कुमारी गुरुङ, मधुकर गुरुङ, गेसोका हितमान गुरुङ, शिव कल्चरल ग्रुप प्रतिनिधि लगायतले शुभकामना र सुझाव सल्लाह दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री