लन्डन । चितवन एड ट्रष्ट (क्याट) यूकेको अध्यक्षमा वसन्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आइतबार लेक साइड कम्प्लेक्स् एबीउडमा सम्पन्न ११ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले श्रेष्ठको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नयां कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सूर्य तामाङ र उपाध्यक्षहरुमा देवेन्द्र श्रेष्ठ, सुनील खडका, रितेश पाण्डे र भगवती रानाभाट छानिएका छन् । त्यस्तै, सचिवमा यादव श्रेष्ठ, कोषाध्यक्ष समीर खनाल, सहसचिव जीवन सेन, र सहकोषाध्यक्षमा तारा पौडेल चुनिएको संस्थाले जनाएको छ ।
अधिवेशनले सदस्यहरुमा मुना पौडेल, राम भट्टराई, दिपेन्द्र अधिकारी, विनय अधिकारी, आनन्द धरेल, शालिक सापकोटा, हरिकृष्ण पौडेल र पार्वती न्यौपानेलाई चुनेको छ ।
नयां नेतृत्व चयनका लागि संस्थाका पूर्व अध्यक्षहरु लोक गुरुङ र राजेन्द्र खरेल तथा उपाध्यक्षद्धय कमल पौडेल र टिका पौडेल सम्मिलित एउटा निर्वाचन समिति गठन गरिएको थियो ।
यसअघि संस्थाका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षता र गैर आवासीय नेपाली संघ, बेलायतका अध्यक्ष महेन्द्र कंडेलको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन सत्रमा क्याट यूकेले गरेका विविध गतिविधिबारे जानकारी दिइयो । सो क्रममा अध्यक्ष गुरुङले बेलायतमा रहेका चितवनवासीहरुलाई एकत्रित र आपसी सद्भाव प्रवर्धन गर्ने उद्देश्यले सन् २००४ मा संस्था गठन गरिएको जानकारी दिए । उनले संस्थाले चितवनका धेरै दुर्गम गाउंमा विभिन्न परोपकारी काम गर्दै आएको जनाउंदै भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि २२ हजार पाउण्ड संकलन भइसकेको जनाए ।
महासचिव सूर्य तामाङले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष कृष्ण तिवारीले संस्थामार्फत कविलास गाविस ९ स्थित भूकम्पले क्षतिग्रस्त ढोढेनी राष्टिय प्राविको पुनर्निर्माणका लागि २२ लाख रुपैयांको परियोजना तयार गरिएको जनाए । तिवारीले संस्थाको तर्फबाट १४ लाख, आफ्नो व्यक्तिगत तर्फबाट तीन लाख रुपैयां एवं बांकी क्याट यूके पदाधिकारीहरुबाट ५ लाख रुपैयां संकलन गरि स्थानीय निकायको समन्वयमा परियोजना सञ्चालन गरिने जनाए ।
सोही अवसरमा उक्त परियोजनाका लागि तारा अर्याल र गैर आवासीय नेपाली संघ, बेलायतका अध्यक्ष महेन्द्र कंडेलले ५०, ५० हजार रुपैयां दिने प्रतिवद्धता व्यक्त गरेका छन् । वार्षिक साधारणसभामा कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
संस्थाका संस्थापक अध्यक्ष कपिल श्रेष्ठ र एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेलले उद्घाटन गरेको उक्त कार्यक्रमको दोश्रो चरणमा नीरमाया रोधीघर आवद्ध कलाकारहरुले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए ।
यसैबीच, संस्थाले भूकम्प पीडित पत्रकारका लागि तीनसय पाउण्ड दिने प्रतिवद्धता व्यक्त गरेको छ ।
स्कटल्यान्डसँग नेपाल पराजित
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने