मंगलबार, कार्तिक ४ २०७७ | Tue, October 20, 2020
नेपालको समय: ०३:०९ | UK Time: 22:24

एउटा सत्य नाटकीय दृश्य

वीनेपाली
२०७२ असार ३१ गते १५:३२

NO 3

अदालतको कठघरामा एउटा अश्वेत अर्धबैंसे व्यक्ति उभिएको छ डकैतीको अभियोगमा । त्यही उमेरकी श्वेत महिला न्यायाधीस फैसलाको लागि मेचमा आसिन छिन् । अभियुक्त गाडी चोरेर भागिरहेको अवस्थामा प्रहरीले कव्जामा लिएर तिनलाई कानुनी कठघरामा उभ्याएको छ । र न्यायाधीसले फैसला सुनाउने क्रममा अभियुक्ततिर प्रश्न गर्ने जमर्को गर्छिन् र यसरी अनुमति लिन्छिन्, ‘के म एउटा प्रश्न गर्न सक्छु ?’ सजायँको प्रतीक्षारत अभियुक्तले केही भन्न नपाई न्यायाधीस प्रश्न तेर्स्याउँछिन्, ‘श्री बुथ न्युट्रेलिया मिडल स्कुल अध्ययन गरेको होइन ?’ अभियुक्त आश्चर्यचकित भएर उनको अनुहारमा बिजुली चम्किएजस्तो एकपटक झल्याँस्स मुस्कानले भरिन्छ । न्यायाधीसले बाल्यकालको उनको विवरण सुनाउन थाल्छिन्, ‘सानो छँदा उ अत्यन्तै राम्रो थियो । राम्रो मात्रै होइन अत्युत्तम थियो । हामीसँगै फुटबल खेल्थ्यौं । यसरी यो ठाउँमा भेट्दा मलाई दुःख लागेको छ सर ।’ उनले अत्यन्तै भावविहल भएर सम्मानजनक ‘सर’ भनेर सम्बोधन गरिरहेकी थिइन् । यो सम्वाद न्यायाधीसले बोल्दाबोल्दै अभियुक्तको एकझलक मुस्कान तुरुन्तै रोदनमा परिवर्तन भइसकेको थियो । कठघरामा फन्फन्ती घुम्दै रोदनको बिचबिचमा ‘माई गुडनेस’ भन्ने शव्द बोलिरहेका थिए ।

यो कुनै चलचित्र र नाटकको दृश्यको कुरा होइन । अमेरिकाको फ्लोरिडा राज्यस्थित एउटा अदालतमा भएको वास्तविक घटना हो । एउटै स्कुलमा पढने दुई समकक्षीको अप्रत्यासित भेट कुनै चलचित्र या नाटकको दृश्य जस्तै लाग्छ । यी दुई पात्र हुन् न्यायधिस मेन्डी ग्लाजेर र अभियुक्त अर्थर बुथ । प्रारब्धले मानिसलाई नसोचेको कुराको साक्षात्कार बनाउँदो रहेछ । न्यायको तराजुलाई कैफियत गरेर हुँदैन त्यही भएर मेन्डी ग्लाजेरले आफ्नो बाल्यकालको साथीलाई निष्पक्ष रुपमा सजायँ तोकिन् । तर उनले इमान्दारीपूर्वक आफ्नो परिचय लुकाउन चाहिनन् र कठघरामा उभिएको अभियुक्तलाई बाल्यकालको अतीततिर डोर्‍याएर लगिन् । कस्तो महानता । यदि त्यो स्थानमा कुनै नेपाली पात्र भइदिएको भए उसले अभियुक्तलाई चिने पनि आफ्नो परिचय अवश्य लुकाउने थियो । यो त हामी नेपाली हुनुको विशेषता हो । प्राय हामी नेपाली यस्तो हुन्छौं । राम्रो र प्रतिष्ठित व्यक्तिलाई गोरु बेचेको साइनो लगाएर भए पनि आफ्नो आफन्त बनाइन्छ । यदि गरिब, दीनदुःखी तथा सामाजिक रुपमा पतीत व्यक्ति हो भने आफ्नै रगतको साइनो लाग्नेलाई पनि नचिनेको अभिनय गरिन्छ ।
जुन परम्पराले हाम्रो समाज ज्यादै आक्रान्त छ । जुनसुकै समाज वा व्यक्ति विशेषलाई आफ्नो आफन्तजन् परिवार सबै नै प्रतिष्ठित स्थानमा आसिन होस, विद्वान विदुषी होस् भन्ने चाहना हुन्छ नै । तर यो त असम्भव कुरा हो । चाहना अनुरुप प्रयास गर्दागर्दै अर्कै मोड लिनसक्छ त्यसलाई सहर्ष स्वीकार गर्न सक्नुपर्छ । नभए माथि उल्लेख गरिएका दुई पात्रहरु एउटै स्कुलमा एउटै कक्षामा अध्ययन गरेका हुन् भने एउटा न्यायालयमा आसिन हुन पुगिन् र अर्को डकैती कार्यमा संलग्न हुन पुगे । भन्ने गरिन्छ लेकमा हुने विषको बोट र ओखतीको बोट एउटै ठाउमा उम्रिने गर्छन् । यसैगरी एउटै विद्यालय अध्ययन गर्ने विद्यार्थी कुनै ओखती भएर उम्रन्छन् त कुनै चाहिँ विष भएर । विशेष गरेर यसबारे अभिभावकको भूमिका नै प्रधान हुन्छ । अभिभावकले उनीहरुको ईच्छा बमोजिम विषयमा प्रोत्साहन गरेर सही मार्गतिर घिसार्ने प्रयास गरे केही मात्रमा सकारात्मक भविष्य हुन सक्ला । गिटार भिरेर सङ्गीतमा चासो गर्नेलाई चिकित्साशास्त्र पढेर स्टेथसकोप भिरेर चिकित्सक बन्नु दबाब दियो भने गलतमार्गतिर मोडिने प्रचुर सम्भावना हुन्छ । अहिलेको परिप्रेक्ष्यमा अधिकांस नेपाली अभिभावकहरु आफ्नो छोराछोरी सबैलाई चिकित्सक नै बनोस् भन्ने चाहना हुन्छ । कुनै पनि विषयमा दक्षता हासिल गर्नु नै मानिसको सफलता हो भन्ने बुझ्नु आवश्यक छ । सामान्य शिक्षा लिएका व्यक्तिले एकदमै फरक शैलीको केस काट्ने सेलुन सञ्चालन गरेर अर्बौं सम्पत्ति आर्जन गर्छ भने त्यसलाई हजम भनेर घृणा गर्ने कि उसको सफलतालाई सम्मान गर्ने ? नेपालका सम्पन्न व्यक्तिले प्रारम्भिक शिक्षा नै मन्टेसरीमा भर्ना गरेर शिक्षाको प्रारम्भ हुन्छ । इटलीका शिक्षाविद् मरिया मन्टेसरीले त बालकको चाहनाअनुरुप शिक्षा प्रदान गर्ने भन्ने अभियान पो सञ्चालन गरेका हुन् । के चिकित्सा शास्त्र पढेर चिकित्सक बन्नका लागि हो र ?
अभिभावकको चाहनाअनुरुपको विषय नै लिनुपर्ने दवावले धेरै नयाँ पिंढीहरु दुव्र्यसनीको सिकार पनि बनेका छन् । दुर्ब्यसनीले नै अन्तत्वगत्वा चोरी डकैतीतर्फ मोडिनु पर्ने बाध्यता हुन्छ । अर्थर बुथ पनि दुर्ब्यसनीमा लागेर नै कार चोरी गरेको थाहा लागेको छ । अर्थर बुथ दुर्ब्यसनीमा संलग्न हुनुको सवालमा अन्य पाटोहरु पनि हुन सक्छन् । तर हाम्रो नेपाली सामाजिक परिवेशमा भने बढीमात्रामा अभिभावकको कमजोरीबाट नै यस्ता घटनाहरुको उदय भइरहेको अवस्था छ । आफ्नो छोरा वा छोरी कति योग्य छ भनेर मापन नगरी ऊप्रति बढी आशावादी रहनु नै यस्ता घटनाको कारकतत्व हो भन्नुमा दुईमत नहोला । मानौं ऊ भविष्यमा कुनै खेलकुद खेलेर ख्याति कमाउन चाहन्छ अथवा कुनै अन्य क्रियाकलापमा रुचि राख्छ भने स्वाभाविक रुपमा पढाइमा उसको चासो गौण हुँदै गएको हुन्छ । अभिभावकले उसको चाहना विपरित दबाब दिएमा न त आफ्नो चासोको विषयमा एकाग्र हुनसक्छ न त पढाइमा । त्यसपश्चात भने हाम्रा सन्ततिहरुले पनि अर्थर बुथको जस्तै नियति भोग्नु बाध्य हुनेछन् । न्यायाधिस मेन्डी ग्लाजेरले आफू प्रतिष्ठित स्थानमा रहेर पनि डकैतीमा संलग्न एउटै विद्यालयमा अध्ययन गर्ने समकक्षीलाई वेवास्ता गरेनन् । चोर चण्डाल जस्तै भए पनि आफ्नो साथी र आफ्नो मान्छेलाई बिर्सिनु हुँदैन भन्ने महानताको पाठ हो यो । हामी महान ठूल्ठूला व्यक्तिलाई मात्रै आफ्नो मान्छे भन्ने प्रवृतिको मानसिकता पालेर छोराछोरीलाई पनि महान बनाउने सपनाले कतै भावी सन्ततिहरुको भविश्य अनिश्चततातिर धकेलिरहेका त छैनौं ?

पिटरब्रो युके

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक