आइतबार, असोज ४ २०७७ | Sun, September 20, 2020
नेपालको समय: १३:२८ | UK Time: 08:43

पराजयसंगै नेपाली क्रिकेटलाई अर्को झट्का, यौन दुर्व्यवहारको आरोपमा समातिए टिमका फिजियो

वीनेपाली
२०७२ असार ३१ गते ११:२८

2015-07-16_new_11189454_I2-2

आयरल्याण्ड (वेलफास्ट) । नेपाली राष्ट्रिय क्रिकेट टिमका फिजियो भारतीय नागरिक डा. अइजाज बसिर असाइ यौन दुर्व्यवहारको आरोपमा पक्राउपछि जमानतमा रिहा भएका छन् ।

गत मंगलबार आयरल्याण्डस्थित नेपाली क्रिकेट टिमसहित आफू बसिरहेको ला मोन होटलमा मसाज गराउने क्रममा असाइले नियतवश महिलालाई समातेको आरोप छ ।

ट्वान्टी–२० विश्वकप छनौट खेल खेल्न आयरल्याण्ड पुगेको नेपाली टोली उक्त होटलमा छ । ट्वान्टी–२० छनौटकै लागि असाइ फिजियोको रुपमा नेपाली टोलीमा संलग्न भएका थिए ।

मंगलबार पक्राउ परेका असाइलाई एकरात कष्टडीमा राखिएपछि बुधबार स्थानीय आर्डस म्याजिष्ट्रेट कोर्ट उपस्थित गराइएको थियो । उनलाई हत्कडी लगाएर अदालतमा उपस्थित गराइएको स्थानीय वेलफास्ट टेलिग्राफले जनाएको छ । अदालतमा नेपाली क्रिकेट टिम र इभेन्ट लियजो म्यानेजर क्रिष्टोफर इलियोट पनि सहभागी थिए ।

प्रहरीका अनुसार, डा. असाइले महिलालाई पुरा शरीर मसाज गराउन लगाएको र त्यतिबेला उनी भित्री वस्त्र (अन्डर वेयर) विहीन थिए । उनले लगत्तै ति महिलासंग होटल म्यानेजरकै अगाडि माफी माग्दै १० पाउण्ड टिप्स दिएका थिए तर ति महिलाले टिप्स् लिन अस्वीकार गरेको समाचारमा उल्लेख छ ।

जिल्ला उप न्यायधिश जोय राइस असाइलाई नेपाली टोलीको जमानीमा २५ सय पाउण्ड लिएर धरौटीमा रिहा गरेका छन् । असाइको मुद्दा नटुंगिउन्जेल होटल खर्च व्यहोर्ने र उनको धरौटीको जमानी बस्न नेपाली टोली सहमत भएको छ ।

अदालतले असाइलाई प्रत्यक्षदर्शीसंग भेट्न प्रतिवन्ध लगाएको छ भने सातामा तीन पटक प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । साथै उनको राहदानी समेत बुझाउन आदेश दिएको छ । उनको मुद्दाको अर्को सुनुवाई १२ अगष्टमा हुने समाचारमा छ ।

पूर्वी मुम्बइस्थित ठाकुर गाउं निवासी असाइ भारतमा नाम चलेका फिजियोथेरापिष्ट हुन् । उनले भारतीय ठूला क्रिकेट स्टारहरुसंग समेत काम गरिसकेका 
बताइएको छ ।

यसैबीच, उनलाई नेपाल क्रिकेट संघ (क्यान) ब्यवस्थापनको बिहीबार बसेको बैठकले बर्खास्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक