गोर्खा स्मारकले आकार लिंदै

new image

स्मारकको नमुना

लन्डन । ६ वर्ष अघि काउन्सिलर छंदा भूपू गोर्खा धन गुरुङलाई लाग्यो, गोर्खा इतिहास जीवन्त राख्न केही गर्नैैपर्छ । तत्काल उनले परिकल्पना गरे, गोर्खाहरुको वाहुल्यता रहेको फोकस्टोन केन्टमा एउटा गोर्खा स्मारक बनाउने । परिकल्पना अनुसार आर्थिक संकलन शुरु भएर अहिले प्रोजेक्टले मुर्तरुप लिइसकेको छ ।

आगामी अक्टोबर ४ मा भव्य उद्घाटन गर्ने लक्ष्यसाथ गोर्खा स्मारक निर्माण प्रक्रिया अगाडि बढेको छ । दुई साता अघि २३ जुनमा शिलान्यास गरिएसंगै प्रोजेक्ट तीव्र 
रुपमा बढेको हो । शिलान्यासका क्रममा ब्रिगेड अफ गोर्खाजका हिन्दू पण्डित, वुद्ध धर्म लामा गुरु र स्थानीय सरकारको आधिकारिक च्याप्लिङले भूमि पूजा गरेका थिए ।

फोकस्टोन टाउन सेन्टर नजिक गार्डेन अफ रिमेम्बरेन्स् पार्कमा बन्दैछ स्मारक । अहिले ७. ८ टन तौलको ६ फुट अग्लो प्लिन्थ (बेस) बनाउने काम भइरहेको परिकल्पनाकार एवं गोर्खा मेमोरियल फण्डका संस्थापक अध्यक्ष धन गुरुङले वीनेपालीलाई जनाए । आधुनिक युद्धका लागि पोशाकमा हतियारसहित तम्तयार एक गोर्खा योद्धा मुर्तीमा कुंदिएको छ । करिब ५० हजार पाउण्डमा रेबिका हकिन्स्ले तामाको मुर्ती बनाइसकेकी छन् । रेबिका यही प्रयोजनका लागि तीन महिना नेपाल घुमेर फर्किएकी थिइन् । स्मारकको कुल लागत चाहिं कम्तीमा डेढ करोड रुपैयां लाग्ने अनुमान छ ।

उद्घाटनका अवसरमा करिब ५ हजार मानिसको जमघट हुने अपेक्षा गरिएको छ । उद्घाटनसंगै ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय गांठको अवसर पारेर एक विशेष समारोह समेत हुने बताइएको छ ।

स्मारकले आधुनिक गोर्खाहरुको प्रतिनिधित्व गर्ने अपेक्षा छ । गोर्खाहरुले सन् २००० देखि रोयल गोर्खा नाम पाएका थिए । स्मारकले त्यस यताको गोर्खा इतिहास जिवन्त राख्नेछ । सन् २००० यता अफगानिस्तान लडाईंमा ज्यान गुमाएका १३ गोर्खाको सम्झनामा स्मारक बनाउन लागिएको जनाउंदै गुरुङले यसबाट दोश्रो पुस्ताका नेपाली र बेलायती युवाले गोर्खाबारे शिक्षा लिने विश्वास व्यक्त गरे ।

स्मारक उद्घाटनका अवसरमा वरिष्ठ अभिनेत्री जोआना लुम्लीसहित बेलायती तथा नेपाली वरिष्ठ अधिकारीहरुको सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री