पाकिस्तानमा गर्मीबाट मर्नेको सङ्ख्या ८०० पुग्यो

गर्मी छल्न मानिसहरु केही दिन अघि समुद्रमा खेल्दै गरेको दृश्य

गर्मी छल्न मानिसहरु केही दिन अघि समुद्रमा खेल्दै गरेको दृश्य

इस्लामाबाद, १० असार । पाकिस्तानी सहर कराचीमा केही दिनयतादेखि भीषण रूपमा चलेको तातो हावाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या करिब ८०० पुगेको सरकारी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

पाकिस्तानी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार तातो हावाका कारण अहिलेसम्ममा ८०० जनाको ज्यान गइसकेको छ ।

कराचीको प्रान्तीय राजधानी नगरका कैयौँ अस्पतालमा तातो हावा अर्थात् लूको कारण बिरामी भएर आएका व्यक्तिको ठूलो सङ्ख्यामा मृत्यु भएको छ ।  त्यहाँ तीन हजारभन्दा बढी व्यक्ति उपचारार्थ रहेको चिकित्सकहरुले जनाएका छन् । कराची सहरको करिब दुई करोड व्यक्तिको बसोबास रहँदै आएको छ ।

पाकिस्तानको मौसम विज्ञान विभागका अनुसार सन् १९९७ यता हाल आएर पाकिस्तानको आर्थिक केन्द्रका रुपमा रहेको कराची सहरको तापक्रम पहिलो पटक ४५ डिग्री पुगेको छ ।

तर बिहीबार भने बादल लागेकाले केही राहत महसुस गरिएको बताइएको छ । हिजोको तुलनामा बिहीबारको अवस्था केही सहज रहेको छ र जसका कारण आज ती अस्पतालमा त्यति धेरै बिरामी नपुगेको बताइएको छ । नागरिकमा तातो हावाका कारण ठूलो त्रास उत्पन्न भएकाले थप व्यक्तिको ज्यान जानबाट जोगाउनका लागि सरकारले तुरुन्तै प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने माग उनीहरुले गरेका छन् ।

यसैबीच प्रान्तीय सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ र यहाँका बासिन्दालाई घरमै बस्न सल्लाह दिएको छ । यस प्रकोपबाट ज्यान गुमाउने प्रायः दिउँसो घर बाहिर काम गर्ने श्रमिक परेको एक अधिकारीले बताएका छन् ।

केही समय अगाडिमात्र पाकिस्तानको छिमेकी राष्ट्र भारतमा गर्मीको लहरका कारण दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री