मुख्य सचिव पौड्यालको योगाभ्यासमा सबै चकित

 

राष्ट्रिय योग दिवसको उपलक्ष्यमा स्वास्थ्थ मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा सूर्य नमस्कार आसनको योग सिकाउनु हुदै प्रमुख अतिथि तथा नेपाल सरकारका मुख्य सचिव लिलामणी पौड्याल । तस्बिर ः प्रदीपराज वन्त,रासस

राष्ट्रिय योग दिवसको उपलक्ष्यमा स्वास्थ्थ मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा सूर्य नमस्कार आसनको योग सिकाउनु हुदै प्रमुख अतिथि तथा नेपाल सरकारका मुख्य सचिव लिलामणी पौड्याल । तस्बिर ः प्रदीपराज वन्त,रासस

काठमाडौँ, ६ असार । सधैँभरि प्रशासनिक कार्यव्यस्ततामा रहने मुख्य सचिव लीलामणि पौड्याल आइतबार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिसरमा सबेरै योगाभ्यास प्रदर्शन गरी सबैलाई चकित पारे ।

पहिलो अन्तर्राष्ट्रिय योग दिवसका उपलक्ष्यमा स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रम तथा राष्ट्रिय योग दिवसको प्रतीकचिह्न घोषणासभामा उनले योगाभ्यासको अत्यन्त कठिन मयूर आसन लामो समयसम्म गरेर देखाए । समारोहमा उपस्थित सबैलाई सूर्य नमस्कारलगायत विभिन्न खाले योगाभ्यास गराइएको थियो ।

संयुक्त राष्ट्र सङ्घले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मान्यता प्रदान गरेको छ । नेपालले यसअघि नै प्रत्येक वर्ष पुस १३ गते राष्ट्रिय योग दिवस मनाउने घोषणा गरिसकेको थियो । केही संस्थाले भने शिवरात्रिका दिन योग दिवस मनाउने गरेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्र सङ्घको ६९ आँै साधारणसभालाई सम्बोधन गर्ने क्रममा यसको उद्गमथलो नेपाल र भारत भएको बारे बताउँदै योग दिवस मनाउने प्रस्तावलाई विश्वका १७० भन्दा बढी मुलुकले तत्कालै समर्थन जनाएका थिए ।

हिमालय पर्वत क्षेत्र सबैभन्दा पुरानो सभ्यतास्थल मानिने र कैलाश निवासी शिवबाट योग यही भूमिबाट प्रादुर्भाव भएको मानिन्छ । योगका सबैभन्दा बढी अभ्यासीमा नेपालका गोरखनाथलाई लिइन्छ । तपस्या र ध्यानको सबैभन्दा पवित्र पावन भूमि नेपाल हो भन्ने गरिँदै आएको छ ।
यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको नारा ‘शान्ति र सद्भावका लागि योग’ भन्ने छ । आजको दिन विश्वका करोडौँ मानिस योगको आह्वान गर्दै उपासनामा सलंग्न रहने अपेक्षा गरिएको छ ।

अहिले योगदर्शन विश्वभर फैलिएको छ । योगले जीवनलाई उत्कृष्ट बनाउन, तनावलाई कम गर्न, चित्त सफा तुल्याउन र संस्कार संस्थापित गर्न योगदान पुरयाउँछ । योगको साधना र फैलावट धेरै ठूलो भएकाले सबै क्षेत्रमा योगलाई समेट्नुपर्ने चुनौतीलाई सामना गर्न आयुर्वेद विभागअन्तर्गत एउटा स्वतन्त्र संस्था स्थापना गरेर योगका बारेमा शोध, अनुसन्धान र तालिम प्रदान गर्ने व्यवस्थाका लागि माग हुँदै आएको छ ।

खानपिन र जीवनशैलीमा आएको परिवर्तनसँगै योग साधना अहिले समाजको अपरिहार्य आवश्यकता बन्न पुगेको छ । योगले मानिसको मन, मस्तिष्क र समाजलाई जोड्ने काम गर्नाका साथै तन र मनलाई निरोगी बनाउने भएकाले यसको महिमा बढी नै रहेको योगसाधक राजु अधिकारी बताउंछन् ।

योगाभ्यासले औषधिबिना रोग निको पार्ने काम गर्छ । मनलाई नियन्त्रणमा राखेर अघि बढ्ने सबैभन्दा अचूक र प्रभावकारी साधनाका रुपमा योगलाई लिन्छ । खास गरेर योगाभ्यास बिहानको समयमा गर्न उपयुक्त हुने भए पनि फुर्सदको समय निकालेर जुनसुकै अवस्थामा गर्न सकिने वीज्ञ बताउँछन् ।

सो कार्यक्रमको उद्घाटन गर्दै मुख्य सचिव पौड््यालले शारीरिक र मानसिक स्वस्थ्य राख्नाका साथै व्यक्ति र समाजमा सुख, शान्ति, सद्भाव र समृद्धि दिलाउन योगाभ्यासले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । रिस र आवेगलाई तत्काल नियन्त्रण गर्न ठूलो मद्दत गर्न योगाभ्यासमा सबैको पहुँच विस्तार गर्न सरल, सुलभ तुल्याउन आवश्यक रहेको बताउँदै उहाँले योगसम्बन्धी अनुसन्धान गर्न र तालिम दिन स्वतन्त्र संस्था स्थापनाका लागि आगामी बजेटमा कार्यक्रम ल्याउन मन्त्रालयका अधिकारीलाई निर्देशन दिए ।

स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले मनलाई बलियो र शरीरलाई स्वस्थ्य तुल्याउन योगाभ्यासको अत्यन्त महत्व रहने विचार व्यक्त गरे । सो अवसरमा स्वास्थ्य विभागका महानिर्देशक सिनेन्द्र उपे्रती, नरदेवी आयुर्वेद कलेजका प्रमुख देव रोक्का, आयुर्वेद विभागका महानिर्देशक देवकला भण्डारीलगायतले योग स्वस्थ नागरिक बनाउने बलियो माध्यम भएको बताए ।

आयुर्वेद विभाग मातहत हाल मुलुकका विभिन्न १३ स्थानमा योगाभ्यास केन्द्र सञ्चालनमा रहेको जनाइएको छ । मुलुकमा २०४८ साल चैतदेखि नरदेवी क्याम्पसमा योग अभ्यासको शाखा खोलिए पनि हाल सञ्चालनमा नरहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री