शनिबार, मंसिर १३ २०७७ | Sat, November 28, 2020
नेपालको समय: ०७:४३ | UK Time: 01:58

१६ बुँदे सहमतिले सिकाएको पाठ

वीनेपाली
२०७२ जेठ २९ गते २१:०७

NO 3

सर्वप्रथम १६ बुँदे सहमतिले नेपाली जनतालाई साह्रै चाखलाग्दो गणितीय शिक्षा प्रदान गरेको छ । संघीयता र प्रदेश संरचनामा यसरी उल्लेख गरिएको छ । लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा पहिचानका ५ र सामर्थ्यका ४ गरी जम्मा ८ प्रदेश निर्माण गरिने छ । म गणितमा कमजोर विद्यार्थी भएकोले यसलाई गलत भन्न सक्दिनँ र मैले नबुझेको पनि हुनसक्छ । फेरि त्यसलाई नामाकरण र सिमाङ्कन नगरी खाली ठाउँ राखियो । यो खाली ठाउँ राखिएकोले मेरो विद्यार्थीकालकै खाली ठाउँ भर भन्ने प्रश्नको सम्झना दिलायो । उत्तर नआएपछि मैले जे पायो त्यही भरेर दिन्थेँ र खाली ठाउँ भर्ने नै मलाई सबभन्दा सजिलो प्रश्न लाग्थ्यो । नेपाली जनतालाई मुर्ख बनाउनु खोज्दा आफैँ मुर्ख साबित भइसके चार दलका नेताहरु । काइते गर्न खोज्दा सामान्य त्रुटी हुन्छ तर त्यो सामान्य नभएर गम्भीर हुनपुग्छ ।

अबको संविधानमा पहिचानका ५ र सामर्थ्यका ४ प्रदेश दिनुपर्छ कि पर्दैन ? यसको काइते अर्थलाई नियाल्दा पहिचानका ५ र सामर्थ्यका ४ गरी ८ प्रदेश भनेपछि, खाली राखिएको अवस्थामा ५ र घोषणा गर्ने बेला पहिचान तिरको एकलाई फर्सिको मुन्टा निमोठे जस्तो निमोठेपछि त जम्मा ८ प्रदेश नै हुने भयो । र, षडयन्त्र यस्तो पनि हुन सक्छ । यस्तो प्रकारको खेललाई रकमी गर्नु भनिन्छ । म जिम्मावाल राई परिवारमा जन्मेकोले तमसुक लेख्नेदेखि लिएर मालपोतको कार्य नै हाम्रो घरमा हुने गर्दथ्यो नापी सम्पन्न नभएसम्म । र, ओल्लो गाउँको जिम्मावालले पल्लो गाउँको जिम्मावाललाई साह्रै रकमी छ भन्ने आरोप लगाउने गर्थ्यो । जसको अर्थ ठ्याक्कै यस्तै हुन आउँछ ५ र ४ जोड्दा ८ अनि २ र २ जोड्दा ५ ।

जसरी हुन्छ अब चाँडोभन्दा चाँडो संविधान निर्माण गरेर राष्ट्रिय सहमतिको सरकारमा कसैलाई प्रधानमन्त्री बन्ने हतार छ त कसैलाई राष्ट्रपति र सभामुख बन्ने हतार । हतार गरे नपुग्न सकिन्छ । विस्तारै गए गन्तव्यमा अवश्य पुगिने छ । यो यातायात साहित्य हो । फेसबुक साहित्यभन्दा पहिला यातायात साहित्य पढ्न पाइन्थ्यो यात्रुबाहक यातायातको झ्याल, ढोका अगाडि, पछाडि जताततै । त्यस्तैगरी यो हतारोले गन्तव्यमा पुर्‍याउने हो कि बीच बाटोमै दुर्घटनाग्रस्त हुने हो कसलाई के थाहा ? महाभूकम्पले देशलाई जर्जर बनाइदिएको छ । त्यसमाथि पनि बाढी र पहिरो थपिएको छ । पीडित जनताहरु राहत बिना छटपटाइ रहेका छन् । यस्तो अवस्थामा निश्चय पनि राजनीतिक निकासले देशलाई अग्रगामी मार्गतिर डोर्‍याओस् भन्ने हामी सबै नेपाली जनताको चाहना हो । कुनै पनि निर्णायक  घडीमा, समय सूचक काँटाको रुपमा प्रचण्ड नै मानिन्छन् । एक पक्षले सही समय सूचकका रुपमा लिन्छ भने अर्को पक्षले गलत समय सूचकको रुपमा । अन्य चाहिँ केवल पेन्डुलम मात्र । हो अहिलेको सहमतिको निर्णायक घडीमा, प्रचण्डको समय सूचित गर्ने भूमिका हो र गरि पनि दिए । बाँकी सबै पेन्डुलम हुन् । विशेष गरेर जनजाति नेताहरुको यो पेन्डुलम पनाले छ वर्ष बितिसकेको छ ।
पहिलो संविधान सभा सम्पन्न हुनु लगत्तै बिएफबिएस गोर्खा रेडियोका सञ्चालक योगराज राईले नयाँ संविधान कस्तो निर्माण हुनुपर्छ भन्नेबारे आफ्नो विचार राख्न लगाएका थिए । म कुनै संविधानविद् होइन भन्दा पनि उनको अनुरोधमा मैले आफ्नो विचार व्यक्त गरेको थिएँ । सर्वप्रथम जनजाति नेता सबै एकढिक्का हुने, त्यसपश्चात त्यसभित्र एउटा बौद्धिक समिति चयन गरेर संघीयता बारे अधिराज्यव्यापी सेमिनार गोष्ठी गरेर त्यहाँका जनताहरुलाई छर्लङ्ग बुझाउनु पर्ने थियो । जो कि त्यहाँको जनजातिले अन्य जातिलाई यो मेरो मात्र भूमि हो भनेर खुकुरी लिएर लखेटेर डाँडा कटाउन नखोजोस् र अन्य जातिले पनि आफ्नो अधिकार सुरक्षित भएको अनुभूत गरोस् । किनभने दुर्गम गाउँमा बस्ने जनसाधारणले संघीयता भनेको सुनेकै थिएनन् र तिनीहरुले सुन्ने बित्तिकै गलत अर्थमा व्याख्या गर्न थाल्नेछन् । त्यही भएर त्यो चयन गरिएको बौद्धिक समितिले कुनाकाप्चा जताततै पुगेर बुझाउन सक्नुपर्थ्यो । र, संघीयता सीमाङ्कनको लागि भौगोलिक, ऐतिहासिक र सामाजिक रुपमा पूर्णज्ञान भएको व्यक्ति हुनुपर्दथ्यो । त्यस्ता बौद्धिक व्यक्ति नेपालमा नगन्य मात्र होलान् जसले संघीयताको तराजु उचालेर नापतौल गर्न सकोस् । नभए यो संघीयता नै घाँडो भएर झुण्डिने छ संविधान निर्माणमा बाधक भएर भनेको थिएँ ।
नभन्दै संघीयताले गर्दा नै पहिलो संविधान सभाको अवसान गरायो । संविधान सभाको दोस्रो चुनावमा पहिचान पक्षधर भोट माग्न गए, संघीयता बारे बुझाएको भए पो भोट दिन्थे जनजातिले जनजातिको नेतालाई । हैट, पहिचानले देश विखण्डन हुन्छ भन्दै पहिचान विरोधीलाई भोट दिए । यो मतदाताको गल्ती होइन पहिचानवादी नेताको गल्ती हो । जुनबेला मैले बुझेर र नबुझेर जनजाति नेताहरु सबै एकढिक्का हुनुपर्छ भनिरहेको थिएा, अशोक राई, सुवास नेम्वाङ्गहरु एमालेमा निर्धक्क पेन्डुलम बनेर हल्लिरहेका थिए । उनीहरुको निर्णायक काँटा त अरु नै थिए । अशोक राईजीले पेन्डुलम नबन्ने र आफैँ निर्णायक काँटा बन्नुपर्छ भनेर निस्किँदा ढिला भइसकेको अवस्था थियो । पार्टीबाट निस्किनासाथ बेतोडले चिसो फलाम ठटाउन थाले अलिअलि कुच्चियो मात्रै चाहेको आकार ग्रहण गर्न सकेन । आफूले चाहेको जस्तो आकार बनाउनका लागि त फलाम तात्तिएको बेला ठोक्न सक्नुपर्छ । फेरि गएर अन्तमा प्रचण्डको पेन्डुलम । प्रचण्डको निर्णायक काँटाले ९ हिर्काउनु पर्नेमा ८ हिर्काएको भनिएको छ अब पेन्डुलम भएर हल्लिनेहरुले १२ देखि १४ सम्म हिर्काउनु पर्ने जिकिरका साथ हल्लिरहेकै छन् टिक्लिक…. टिक्लिक…. टिक्लिक ।

पिटरब्रो, युके

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक