लन्डन । साउथ इस्ट लन्डनको चाल्टर्नमा चाल्टर्न नेपाली समाजले संचालन गरिरहेको नेपाली भाषा कक्षा ‘लर्न नेपाली प्रोग्राम’ दोश्रो वर्षमा प्रवेश गरेको छ ।
सो अवसरमा दोस्रो वर्षगाँठ एक कार्यक्रम गरी मनाइयो । भाषा कक्षा संचालन भइरहेको स्थानीय फुटवल स्टेडियमको हब सेन्टरमा आयोजित कार्यक्रममा भाषा कक्षाका नानीहरु, स्वयम्सेवक शिक्षकशिक्षिका एवम् अभिभावकको बाक्लो उपस्थिति थियो ।
नेपालमा हालैको महाभुकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा मौन धारण गरेपश्चात शुरु गरिएको कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नाचगान प्रस्तुत गरेर मनोरंजन गराएका थिए । त्यसैगरी कार्यक्रममा नेपालीमा लेखेका कुराहरु आफ्ना नानीहरुले नेपालीमा वाचन गर्दा अविभावकहरु मक्ख देखिन्थे ।
शिक्षिका मंजु खरेलले संचालन गरेको कार्यक्रममा विद्यार्थीहरुले नेपाली भाषा सिकाईमा गरेको प्रगति प्रस्तुत गरिएको थियो । लर्न नेपाली प्रोग्रामका संयोजक सुरज केसी, पूर्व संयोजक फत्त थापा तथा चार्ल्टन नेपाली समाजका अध्यक्ष रोमनाथ पाण्डेले मन्तब्य दिँदै नयाँ पुस्तामा नेपाली भाषाको ज्ञानको अपरिहार्यतामाथि जोड दिए र यसको निरन्तरताको खाँचो औँल्याए ।
धर्म संस्कृति र परम्परा जस्ता कुरा भाषासंगै जोडिएको भन्दै सहभागीहरुले यसको महत्वमाथि आपसी छलफल गरेका थिए । कार्यक्रममा स्वयंसेवी एवम् शिक्षिका रेनु पाण्डे तथा सिता अर्यालले अध्यापनका अनुभवहरु सुनाएका थिए । कार्यक्रममा उपस्थित सबैले स्वयम्सेवी शिक्षकहरुको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
नेपाली वर्णहरुले सजाइएको आकर्षक केक काटेपछि केहीबेर विद्यार्थीहरुलाई सहभागी गराउँदै नेपालमा दैवी प्रकोपपछि शान्तिको कामना गर्दै भजन किर्तन समेत गरिएको थियो । नेपालको महाविपदपछि खासै हर्ष उल्लाशको अवस्था नभएकोले पनि कार्यक्रम ठूलो रुपमा नगरिएको समाजका सचिव टीएन रिजालले बताए ।
दुई वर्षअघि चाल्टर्न नेपाली समाजले शुरु गरेको लर्न नेपाली प्रोग्राम उदाहरणीय बनेपछि बेलायतका अन्य ठाउँमा पनि यसको अनुशरण गरिएको छ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा