हामीले टेक्नेे धरातल नै कम्पन्न छुटेर हल्लिएपछि भएभरको भौतिक संरचना लगायत धनजन सबै नै क्षतविक्षत हुन्छ । प्राकृतिक विपत्तिसँग केही पनि गर्न सकिँदैन भन्ने अत्याधुनिक युगका मानिसले स्वीकार्नै पर्दछ । यस कुरालाई हालको महाभूकम्पपछि प्रत्यक्ष अनुभूत गर्न सक्यौं । समयको वहावसँगै विज्ञान र प्रविधिले धेरै फडको मारिसकेको छ । प्रकृतिलाई चुनौतिका साथ विभिन्न चमत्कारिक संरचनाको निर्माणहरु दिन प्रतिदिन प्रतिष्पर्धात्मक रुपमा भइरहेको छ । उदाहरणका लागि पहाडको छाती चिरेर तथा समुद्रको सतहमुनि खोतलेर सुरुङ्ग मार्ग, समुद्र पुरेर नयाँ सहर निर्माण र गगनचुम्वी भवन निर्माणले के संकेत गर्छ भने प्रकृतिभन्दा मानिस बलियो छ अथवा विज्ञान र प्रविधिले प्रकृतिलाई विजय गरिसकेको छ । तर कैयौं वर्ष लगाएर निर्माण गरिएका यस्ता संरचना ध्वस्त हुनु केवल केही सेकेण्ड मात्र लाग्दो रहेछ । हामीले धेरै यस्ता विपत्तिहरु हेरेका र सुनेका छौं । जापानको कोवे सहर क्षतविक्षत बनाउने भूकम्प र त्यस पछि भरखरै केहीवर्ष अघिमात्र सुनामीले जापानकै एउटा प्रान्तलाई वालुवामा परिणत गरिदियो । त्यसैगरि थाइल्याण्डको फुकेट आइलेण्डलाई पनि सुनामीले खर्लप्प निल्यो । चाइनाको सिचुवान प्रान्त, न्युजिल्याण्डको क्राइस्टचर्च, हेइटी र चिलीका भूकम्पहरु २० अौँ सताब्दीको उत्तरार्द्ध र २१ औं सताव्दीको पूर्वाद्धमा आएका विपत्तिहरु हुन् र हामी सबैको मानसपटलमा आलै नै छ । जापानको कोवे सहर क्षतविक्षत भएको भूकम्प आउँदासम्म सञ्चारले अहिले जस्तो छलाङ्ग मारिसकेको थिएन र अहिले जस्तो तत्कालै त्यो आलो घाउलाई हेर्नबाट हामी बञ्चित भयौं ।
सन १९९५ को त्यो भूकम्पले यति विनास गरेको थियो कि त्यसलाई जापानको ईतिहासमा हिरोसिमा र नागासाकीमा परमाणु बमले विनास गरेकोसँग तुलना गरिएको छ । जापानले दोस्रो विश्वयुद्धमा ठूलो विपत्तिको सामना गर्नुपरेकोले ज्यादै कठिनाई भोग्नु परेको इतिहास पाइन्छ । एकछाक खाना नपाएर आफ्नै छोरी चेलीलाई शरिर बेच्न लगाएर ज्यान बचाएको दर्दनाक इतिहास पाइन्छ । तर आधा शताव्दीमै जापानको विकासले कायापल्ट गर्यो । त्यही भएर कोबे भूकम्प र तोहुकु प्रान्तको सुनामीको विनासकारी घाउ केही वर्षमै पुर्न सक्षम भयो । अव नेपालको यो भूकम्पले लागेको घाउ कसरि पुर्न सक्छ भन्ने प्रश्न उठेको छ । नब्बे सालको भूकम्पको अनुभव गर्नेहरु नगन्य मात्र छन् जसमा संस्कृतिविद सत्यमोहन जोशी लगायत एक दुई होलान् । त्यसबेला देशभरि कहाँ र कति क्षति भयो भन्ने तथ्याङ्क सुन्न बर्षौ लाग्यो होला । रेडियो नेपालको जन्म हुनु अठ्ठार वर्ष पहिले भएकोले कुनै सञ्चार माध्यम नै थिएन होला । केवल एक देखि अर्को व्यक्ति गर्दै आदान प्रदान बाहेक अन्य सञ्चार माध्यम केही नभएको आँकलन गर्न सकिन्छ ।
सञ्चारको पहुँचले गर्दा यसपालिको भूकम्पले गरेको क्षत्तिक्षणभरमै विश्वभरि भाइरल भएर फैलियो । तरुल ठुन्किए जस्तो धरहरा फेदमै ठुन्किएको तस्वीर फेसबुकमा पोष्ट हुनथाल्यो । रातिको कामबाट फर्केर विहान सुत्नेबेला सम्म फेसबुकमा केही थिएन । बेलायतको गृष्मकालीन समयानुसार दिउसोको दुई बजे व्युझिएर फेसबुक खोल्दा नेपालमा महाभूकम्प आएर क्षतविक्षत भएको तस्वीर देख्नासाथ मलाई लाग्यो म अझै व्युँझिएको छुइनँ सपनामै छु जस्तो अनुभूत भयो । विश्वास गर्नै सकिनँ यो मेरो सपनामात्र होस भनेर एकपटक आँखा चिम्लिएर फेरी फेसबुक चेक गरेँ । धमाधम तस्वीरहरु अपलोड भइरहेका थिए र विश्वास गर्नु बाध्य भएँ । तुरुन्त नेपालमा आमाको मोवाइलमा फोन गरे फोन लागेन, ल्याण्डलाइनमा फोन उठेन । भाइको सम्पर्क भयो र नेपालमा परिवार सुरक्षित नै भएको थाहा भएपछि अलिकति मुटु कम्पन्नको रेक्टर स्केल कम हुनगयो ।
भूकम्पको भोलिपल्टदेखि धरहराको ठुटो छेउमा बसेर फोटो लिने अनि फेसबुकमा अपलोड गर्ने होड नै चल्यो । त्यसपछि भूकम्पले जति विनासकारी उत्पात मच्चाएको थियो त्योभन्दा बढी यो सेल्फी भन्ने शव्दले दिन प्रतिदिन उत्पात मच्चाउन थाल्यो । विदेशमा रहेका नेपालीहरुले दुई चार वटा लुगाफाटाको तस्वीर खिचेर राहत पठाउने तयारी । विवाह, व्रतबन्ध, पास्नी, जन्मदिन आदि ईत्यादिमा लाग्ने रकम राहतको लागि भन्ने शव्दहरु फेसबुकको भित्ता भरि छरपस्ट भरिए । धन्य जुकरवर्ग फेसबुकको निर्माण गरेर सामान्य प्रयोगकर्तालाई लाभ त भयो नै त्यसमाथि पनि आफ्नै प्रसंसा गर्नेको लागि बरदान सावित भयो । सरकारी पक्ष भन्दा गैरसरकारी संस्थाहरुले पीडितहरुलाई राहत पुर्याउन सफल भएको दाबी गरियो । यसरि गैरसरकारी संघ संस्था र व्यत्तिगत राहत पुर्याएकोबारे कुनै पत्रकार बिना नै आफ्नै धामी आफैँ बोक्सी भने जस्तै समाचार लेखियो फेसबुक मार्फत नै । जुन कुरा लेखिएको थियो वास्तवमा त्यो सत्य पनि थियो । तर पीडितलाई राहत हस्तन्तरण गर्दै गरेको सेल्फी फेसबुकमा हाल्ने प्रतिष्पर्धा चलिरहेको अवस्थामा फेसबुकबाटै भकाभक बिरोध आउन थालेपछि त्यस्तो सेल्फी चकचकी अलिकति सेलाएको छ । त्यसपश्चात बर्तमान सरकारलाई गाली गर्ने ओइरो लाग्यो र सैनिक र प्रहरीलाई ठुलठुला स्यावासी दिइयो । सैनिक र प्रहरी स्यावासीको पात्र त हुँदै हुन् तर सैनिक र प्रहरी स्वतस्फूर्त आफैँले गरेका हुन् सरकार निकम्मा छ भन्ने अतिरञ्जित शब्दले देशको सार्बभौमतालाई जोखिम पुर्याउने संकेतहरु देखिए । सार्बभौम सत्तासम्पन्न राष्ट्रमा जस्तोसुकै लठुवा सरकार होस उसको मातहातमा सैनिक परिचालन हुनुपर्दछ भन्ने हामी सबै नेपाली जनताले बुझेनौं भने भोलि जे पनि हुन सक्छ ।
प्रधान सेनापति प्रकरणले गर्दा नेपाल राष्ट्रको पहिलो गणतान्त्रिक प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने जस्ता गम्भीर विषयलाई पनि सिंहावलोकन गर्नुपर्दछ । राष्ट्र कमजोर भएको अवस्थामा सहयोगको बहनामा विदेशी हस्तक्षेपको पूर्ण संकेत पनि देखा परेको छ । विशेष गरेर छिमेकी राष्ट्र भारतले गुणले सुन साट्न खोजेको हो भन्नेबारे सबै नेपाली सचेत हुनुपर्ने बेला हो । सबैभन्दा पहिलो बिदेशी सहयोगी राष्ट्रको रुपमा उपस्थिति जनाएकोमा त्यस्तो विपत्तिको बेला सबै नेपाली जनता फुरुङ्ग हुनु स्वभाविक थियो । जब आजतक टेलिभिजनले सक्कली अनुहार देखायो अनि मात्र नेपाली जनताले भारत गुणले सुन साट्न आएको बारे छर्लङ्ग बुझे । नेपाली सञ्चार पनि विभिन्न प्रोपागाण्डा मच्चाएर अछुत रहन सकेन । भारतीय सिने अभिनेता सलमान खान, अक्षकुमार र नेपाली सिने अभिनेता राजेश हमालले करौडौँ राहत प्रदान गरेको झुठो समाचार लेखेपछि विचरा ती अभिनेता भनाउँदाहरु स्पष्टीकरण दिँदाको हैरानमा परे । अनलाइन पत्रिकाले फेरि अर्को महाभूकम्प जाने समाचार लेखेर जनजीवनमा त्रासदी फैलाएको अभियोगमा प्रहरीले पक्राउ गरी कारवाहीमा परेको पनि समाचारहरु आए ।
फेसबुकमा जे पायो त्यहि लेख्नेलाई सहिमार्ग निर्देश गर्नको लागि इलेक्ट्रोनिकदेखि प्रिन्ट मिडिया सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा फेसबुककै जस्तो समाचार सम्प्रेषण गरेपछि जनमानसमा कस्तो असर पर्छ ? यदि तिमी पत्रिका नै पढदैनौँ भने कुनैपनि कुराको जानकार हुँदैन । यदि पत्रिका पढ्यौ भने तिमीलाई गलत जानकार हुन्छ । विख्यात अमेरिकन लेखक मार्क ट्वेनको यो भनाइलाई मैले सम्झिरहेको छु । म बेलायतबाट प्रकाशन हुने ग्रीनविच टाइम्स पत्रिकासँग आवद्ध भएकोले सबै पत्रकारितामा आवद्ध मित्रहरुलाई अाव्हान गर्न चाहन्छु कि मार्क ट्वेनको भनाइलाई सम्झेर सत्यतथ्य कुरालाई मात्र जनसमक्ष पुर्याउने चेष्टा गरौं ।
भूकम्प पश्चात नेताहरुलाई टेलिभिजनको पर्दामा अन्तवार्ता लिने क्रम जारी रहयो । जुन अन्तर्वार्ताले वर्तमान सरकारको निरीहता स्पष्ट झल्को दिइरहेको बेला पत्रकार ऋषि धमलाले गृहमन्त्री बामदेव गौतमलाई लिएको अन्तवार्ताले भूकम्पको मारमा परेका जनताहरुलाई हाँस्न बाध्य बनायो । त्यसलाई अन्तरवार्ता भन्नु भन्दा पनि एउटा गजवको प्रहसन थियो भन्दा फरक पर्दैन । भूकम्पका पराकम्पन्नहरुसँगै अहिलेको विषम परिस्थितिको सामनाको लागि कसरी क्षमतावान बन्नेबारे सोच्नु पर्नेमा अब राष्ट्रिय सहमतिको सरकार गठनको लागि रटान गर्दै त्यही सत्ताको मोहमा केन्द्रित भएका देखिन्छन नेताहरु । अबको राष्ट्रिय सहमतिको सरकारमा केपी ओलीले प्रधानमन्त्री बन्ने सपना देखिरहेका छन् । र नेपाली राजनीतिले पनि त्यही मोड लिने संकेत देखिएकोले जनता अझै भयावह बनेको बुझिन्छ । हुन पनि केपी र अनिष्टता भनेको पर्याय हुन् कि भन्ने कुरा जसलाई पनि लागेको हुनसक्छ । वैशाख १ गते धरहरा चढेर अब नयाँ वर्षले यो धरहराको उचाइ जस्तै नेपाली राजनीतिक उचाई थप्ने छ भनेको बाह्र दिनमै तरुल ठुन्किएजस्तो धरहरा फेदमै ठुन्कियो । भूकम्पपछि उनको पार्टीबाट जसलाई मन्त्रीपदमा नियुक्त गरियो उनले सपथ लिएर कार्यालय सम्हाल्न नपाउँदै ‘बाबुले मलाई नागरिकता निकालि दिनुपर्यो म उहाँको छोरा हुँ । आमा र म विचल्लीमा पर्यौँ न्याय पाउँ’ भनेपछि मन्त्रीजी हिस्स बुढिया हरिया दाँत भएका छन् । अब ओलीजी प्रधानमन्त्रीको कुर्सीमा बसे भने अर्को के उल्का मच्चिने हो ? मेरो मनले पनि यही प्रश्न गरिरहेको छ ।
पिटरब्रो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण