बुधबार, मंसिर १७ २०७७ | Wed, December 02, 2020
नेपालको समय: ००:४० | UK Time: 18:55

बहुमत पाए पनि सजिलो छैन डेभिड क्यामरोनलाई

वीनेपाली
२०७२ वैशाख २७ गते २१:१७
शशी पौडेल

शशी पौडेल

गत बिहीबार सम्पन्न बेलायतको आम निर्वाचनले डेविड क्यामरोनलाई दोस्रोपटक प्रधानमन्त्री पदको सपथ खुवाएको छ । यसपालि उनले अन्य कुनै पनि पार्टीसँग लगन गााठो बाँध्न परेन । न त अन्य कुनै पार्टीसँग सम्झौता गर्नु पर्यो । तर यस पछिका दिनहरु भने उनका लागि त्यति सहज हुन नसक्ने संकेत स्कटिश नेशनल पार्टीले दिइसकेको छ । बेलायतको इतिहासलाई हेर्ने हो भने यो दोस्रोपटक हो कन्जरभेटिभ पार्टीले लगातार दोस्रोपटक सरकार बनाउन पाएको । त्यो पनि एक्लै ।
जेसुकै होस् डेविड क्यामरोनका लागि अन्य कुनै खास सरोकारको विषय रहेन अहिले । तर आफू यो पाँच वर्षको अवधिमा प्रधानमन्त्री पदमा आसिन भैरहने वा सरकार संचालनमा कुनै कसर नरहनेे वातावरण तयार पार्नु उनका लागि महत्वपूर्ण विषय बनेको छ । निर्वाचन अघिका केही महिना युरोपियन युनियनको विरोधमा उत्रनु यसैको एउटा रणनीति थियो । यसअघि उनी आफ्नै पार्टीका युरोपियन युनियन विरोधी झण्डै १०० ब्याकबेन्चर सांसदहरुबाट बन्दी बनेका थिए । उनी आगामी दिनमा पनि उनीहरुबाट बन्दी भैरहने छन् । साथै उनको आफ्नै उग्र दक्षिणपन्थी झुकावका कारण गतवर्ष सम्पन्न युरोपियन युनियनको निर्वाचनमा अनायास सबैभन्दा धेरै भोट ल्याउन सफल युनाइटेड किंगडम इन्डिपेन्डेन्ट पार्टी (युकिप)बाट पनि उनी बन्दी बनेका थिए । सयौंको संख्यामा कन्जरभेटिभ पार्टीका सदस्यहरु युरोपियन युनियन विरोधी पार्टी युकिपमा पोइल जानु र हज्जारौं मतदाता त्यतै ढल्किनु पनि उनको अर्को बाध्यता थियो । यो निर्वाचन पछि भने युकिपले उनलाई लगाएको हतकडीको ताल्चा खुलेको छ । तर उत्तरतिरको सिंह स्कटिश नेशनल पार्टी भने झन् ठूलो स्वरमा डुक्रिने भएको छ ।
१९४९ अर्थात दोस्रो विश्वयुद्धको अन्त्यपछि हरेक निर्वाचनमा कमसेकम ५ प्रतिशत र बढीमा २० प्रतिशतसम्म मत ल्याई संसदमा पस्न र अन्य ठूला पार्टीहरुलाई सरकार बनाउन भाइको भूमिका खेल्दै आएको लिबरल डेमोक्रेटिक पार्टी गत बिहीबारको निर्वाचनमा जम्माजम्मी ८ जना सांसदमा सीमित भएको छ । उनीहरुका लागि भने यो शर्मनाक हार हो ।
जर्मनी भाषामा एउटा उखान छ “झुटको खुट्टा छोटो हुन्छ”। हो यही भएको हो लिबरल डेमोक्रेटिक पार्टीलाई । सन् २०१० को निर्वाचनमा आफूले प्रतिवद्धता गरेका कुराहरु एक पछि अर्को गर्दै झुटमा परिणत भए । जब २०११ सालमा विश्वविद्यालयको शुल्क वृद्धिमा लिबडेमले कन्जरभेटिभ पार्टीसंग एक भै स्वीकार गर्यो । त्योबेलादेखि नै लिबडेमको बाटो ओरालो लागेको हो । त्यतिखेर मैले अल्डरसटबाट सन् २०१० को चुनावमा लिबडेमका तर्फबाट उम्मेदवार आद्रिआन कलेटसंग लिबडेमले बेलायती जनतालाई किन ढाँट्यो ? यो ढाँटको मूल्य पछि ठूलै चुकाउनु पर्ने हुन सक्छ ? भनी सोधेको थिएँ । (उनीसंगको त्यो अन्तर्वार्ता त्यतिखेर एभरेष्ट टाइम्समा छापिएको थियो) उनको उत्तर थियो “आगामी चुनाव २०१५ सालसम्म थेम्स नदीमा अर्बौँ लिटर पानी बगिसकेको हुनेछ ।”

तस्वीर : इन्डिपेन्डेन्ट

तस्वीर : इन्डिपेन्डेन्ट

जब कार्ल माक्र्स र फ्रेडरिक ऐंगेल्सद्वारा प्रतिपादित कम्युनिष्ट पार्टीको घोषणा पत्र सार्वजनिक भयो तब संसारभरका पुँजीजीवीहरुको निधार पसिनाले निथ्रुक्क भिज्यो । अनि संसारमा कम्युनिष्ट पार्टीप्रतिको आकर्षणलाई बङ्ग्याउन संसारका केही अवसरवादीहरुले लिबरल डेमोक्रेटिक सिद्धान्तलाई अगाडि सारे । लिवरल डेमोक्रेटिक सिद्धान्तका व्याख्याता जोन स्टुवार्ड मिल जो १९ अौँ शताब्दीको ६० को दशकमा बेलायती संसदका सदस्य समेत थिए । अनि संसारभर लिवरल डेमोक्रेटिक चिन्तनलाई दलाल पुँजीवादीहरु एवं कन्जरभेटिभहरुको राजनीतिको विकल्पमा उभ्याइयो । त्यतिमात्र नभएर लिवरल डेमोक्रेटिक राजनैतिक चिन्तकहरुले आफूहरुलाई राष्ट्रिय पुँजीपतिहरुको मित्र शक्ति र सहयोगी भनेर चिनाउन थाले । फलस्वरुप कम्युनिष्ट सिद्धान्तप्रति सहानुभूति हुने, समर्थन गर्ने मात्र नभई कम्युनिष्ट सिद्धान्तबारे प्रशिक्षित ब्यक्तिहरुमा पनि लिवरल डेमोक्रेटिक सिद्धान्तप्रति आकर्षण पलायो । जसको कारण पहिलो विश्वयुद्धपछि लिबरल डेमोक्रेटिक पार्टीहरुले संसारका केही मुलुकहरुमा एकल राज्य गर्न सफल भए । अष्ट्रेलियामा पटक पटक पहिलो शक्तिका रुपमा आफुलाई उभ्याउन सफल भयो । जर्मनीमा यसको गठनकालदेखि नै सरकारमा सहभागी हुँदै आयो । बेलायतमा लिबरल डेमोक्रेटिक पार्टीका तर्फबाट प्रधानमन्त्री पदको सपथ समेत खाए । बीसौं शताब्दीको सुरुकालदेखि दोस्रो विश्वयुद्धपछि पनि संसारका बिकसित मुलुकहरुमा चाहे कन्जरभेटिभ पार्टीसंग होस् चाहे लेबर पार्टीसंग होस् सत्तामा जान सफल हुँदै आइरहेका थिए ।
उदारवादी पार्टीहरुको घोषणा पत्र हेर्यो भने कम्युनिष्ट पार्टीहरुको घोषणा पत्रभन्दा धेरै भिन्न पाइने छैन । तर राजनीतिक काम र ब्यबहार भने घोषणा पत्रहरुमा लेखिएको भन्दा नितान्त भिन्न पाइने छ । शताब्दीऔंसम्म यसले जनसमुदायलाई सिद्धान्त र ब्यवहार बीचको खाडलको भुलभुलैयामा राख्दै आएको छ । अझ १९९० को दशकपछि जब नवउदारवादी सिद्धान्त प्रतिपादन भयो त्यसपछि संसारका सबैजसो राजनैतिक पार्टीमा नवउदारवादको सरुवा रोग सल्क्यो । नवउदारवाद परम्परागत उदारवादभन्दा भिन्न र समयको परिवर्तन, माग, मूल्य र मान्यताको परिवर्तनसंग मेलखाने खालको बनेर प्रस्तुत भयो र आज संसारमा आफूलाई कम्युनिष्ट वा पुँजीवादको हस्ती हुँ भन्नेहरु पनि नवउदारवादको सरुवा रोगबाट पिडित भएका छन् । त्यति मात्र नभएर उदारवादी शक्तिहरुले संसारका विभिन्न मुलुकका निर्वाचन प्रणालीसमेत आफ्नो पार्टी अनुकुलको बनाउने प्रयत्न मात्र गरेनन् कि सफल पनि भए । बेलायतस्थित लिवरल डेमोक्रेटिक पार्टीले बेलायतको निर्वाचन प्रणाली अनुसार आफ्नो विजय निश्चित नहुने भएकाले निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्छ भनी प्रस्ताव ल्यायो । २०११ सालमा यसका लागि जनमतसंग्रह पनि भयो । उसले अल्टरनेटिभ भोटिङ्ग सिस्टमको प्रस्ताव ल्याएको थियो तर जनमत संग्रहबाट सफल हुन सकेन ।
संसारका विभिन्न मुलुकहरुमा विभिन्न प्रकारका निर्वाचन प्रणाली रहेका छन् । जस्तै बेलायतमा अहिलेसम्म हुने गरेको निर्वाचन प्रकृयालाई ‘फस्ट पाष्ट द पोष्ट’ भनिने गर्दछ । यही प्रकृया अमेरिका क्यानाडा र भारत जस्ता ठूला मुलुकहरुमा पनि रहेको छ । फष्ट पाष्ट द पोष्ट निर्वाचन प्रणाली अन्तर्गत निर्वाचनमा उभिएका उम्मेदवारहरुमध्ये जसले धेरै मत प्राप्त गर्न सक्छ उही निर्वाचित हुने छ । यहाँ मतदाता संख्याको ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्छ भन्ने हुँदैन । यो निर्वाचन प्रणलीलाई संसारको सबभन्दा पुरानो निर्वाचन प्रणली मानिन्छ ।
प्रधानमन्त्री डेविड क्यामरोनको पुरानो औपनिवेशिक एवं बेलायती साम्राज्यको मानसिकता बाहेक बेलायत र स्कटलैण्डको सवालमा अन्य थुप्रै राष्ट्रिय चिन्तन गर्नु पर्ने विषयहरु पनि छन् । जस्तै सन् २००७ यताको पटक पटकको आर्थिक मन्दी, सार्वजनिक वचतको प्रश्न, मुलुकमा संभ्रान्त वर्गको राजनैतिक र आर्थिक नियन्त्रण र स्कटिश नेशनल पार्टी भित्रकै सेमी र्‍याडिकल प्रभाव । यी यस्ता विषय हुन् जसलाई डेविड क्यामरोनले गंभीरतापूर्वक चिन्तन गर्नु पर्दछ ।
२०१० देखि अहिलेसम्म आइपुग्दा स्कटिश जनताले के देखे भने बेलायती सरकारले विद्यमान आर्थिक मन्दीको समाधान दिन नसकेको, राष्ट्रिय वचतको नाममा जनताले खाइपाइ आएको सुविधा कट्टा गरेको, युरोपियन युनियनबारे प्रष्ट नीति ल्याउन नसकेको र राष्ट्रिय स्वास्थ्य सेवामा देखा परेको असुरक्षा आदि । यसै पनि स्कटिश जनतामा स्वास्थ्य सेवाका सुविधाहरु त्यहाँको आवश्यकताअनुसार पुग्न सकिरहेको छैन । बेरोजगारीको कारणले त्यहाँका युवा समुदायमा देखापरेको निराशा र अस्थिरता आदि कारणहरुले स्कटिश जनतामा कन्जरभेटिभ पार्टी र लेबर पार्टीबाट विश्वास गुमाएको विभिन्न सर्भेको परिणामले देखाउँछ ।
१९५० देखि परम्परागत रुपमा स्कटलैण्डमा लेबर पार्टीको वर्चस्व रहेको थियो । तर २०११ को स्कटलैण्डको राज्यस्तरको निर्वाचनमा स्कटिश नेशनल पार्टीले समग्रतामा बहुमत ल्यायो भने यसपालिको बेलायती आम निर्वाचनमा लेबर, कन्जरभेटिभ र लिबडेमलाई एक/एक वटा मात्र सिट दिएर थन्क्याइ दिए ।
रह्यो लेबर पार्टीको हारको प्रसंगः लेबर पार्टीमा दुईवटा समस्याहरु देखा परे । प्रथम लेवर पार्टीभित्र २०१० को निर्वाचन पछि मुलुकका लागि कुनै आकर्षक कार्यक्रम आउन सकेन । लेबर पार्टीलाइ न्यू लेबरको मध्यमार्गी मार्गबाट केही उत्तरतर्फ धकेल्ने काम चाहिँ भयो तर कुनै एउटा पार्टीलाई ऊ हिंडिरहेको मार्गबाट उत्तर वा दक्षिण जतासुकै लग्ने प्रयास गरिए पनि त्यो किन, कसका लागि र के कारणले भन्ने प्रष्ट कार्यक्रम दिइनु पर्छ । लेबर पार्टीको तर्फबाट यो हुन सकेन । दोस्रो लेबर पार्टीका नेता एड मिलिब्याण्डको राजनैतिक क्यारेक्टरभन्दा पनि उनका बाबु राल्फ मिलिब्याण्ड जस्तै बौद्धिक एवं दार्शनिक क्यारेक्टर देखियो । उनका बाबु एक समाजवादी अर्थशास्त्री थिए । र उनलाई आफ्ना बाबुको बढी प्रभाव परेको बुझ्न उनका एकाध भाषण सुन्यो भने कुनै कठिन पर्ने छैन । समग्रमा बेलायत अहिले मार्गरेट थ्याचरको उदयकाल १९७९ को भन्दा धेरै कमजोर भएको छ । मार्गरेट थ्याचरले गराएको बेलायतको राजनीतिक र सामाजिक विभाजन, नव उदारवादी राजनीतिका कारण त्यहाँका उद्योग धन्दाहरु बन्द भै बेरोजगारी बढिरहेको अवस्था, गलत पुँजी विभाजन र गलत अर्थनीतिका कारण, धनी र गरीबबीच बढेको दुरीका कारणहरुले बेलायतलाई अत्यन्त कमजोर बनाएको छ । मुलुको यो अवस्थामा लेबर पार्टीले, रोजगारी, औद्योेगिक विकास र मार्गरेट थ्याचरले शुरु गरेको निजीकरणका बारेमा प्रष्ट विकल्प प्रस्तुत गर्न सक्नु पर्थ्यो । जस्तै अर्थ नीतिमा कतिसम्म शक्ति समीकरण हुने ? राज्य संचालनमा सघाउ पुर्याउने ठूला उद्योग ब्यवसायको शक्ति सन्तुलन कसरी गर्ने ? मजदुर वर्गको अधिकार संरक्षणका निम्ति सामाजिक मापदण्ड के ?
अबको लेबर पार्टीको नेतृत्व चाहे वाम ध्रुवका आन्डी बुर्नहाम वा चाहे टोनी ब्लेयरका चेला चुका उमुनाले लिउन्, उनीहरुले माथिका प्रश्नको उत्तर खोज्नै पर्ने हुने छ । हुनत अहिले लेबर पार्टीको नेतृत्वका लागि अन्य दुई एभेट कुपर र डान जेरिसको नाम पनि बजारमा आएको छ । बेलायतमा अहिले देखापरेको समस्या समाधानका निम्ति लेबर पार्टीले स्कटिश नेशनल पार्टीसंग कार्यगत एकता गर्न जरुरी भएको कुरा कम्पास थिंक ट्यांकका प्रमुख नील लाउसनले औंल्याइसकेका छन् । यसैबीच पूर्व प्रधानमन्त्री टोनी ल्बेयरले “लेबर अब मध्यतिर फर्किनु पर्छ” भनेर मुख खोलेका छन् ।
बेलायतमा सम्पन्न निर्वाचनको तेस्रो चाखलाग्दो विषय हो युकिपको धराशायी । युकिपका एक जमात संसदभित्र पस्ने र वेस्ट मिनिस्टर सिष्टमलाइ विकल्प खोज्न बाध्य गराउने हुन् कि भन्ने बेलायती जनतालाई ठूलो डर थियो तर अहिले पाँच वर्षका लागि बेलायती जनता त्यो डरबाट मुक्त भएका छन् । युकिपलाई साथ दिनसक्ने अर्को समूह बिएन्पी भने पूर्णरुपमा कोल्याप्स नै भएको छ ।

पौडेलका विचारहरु www.theglobal.co.uk मा पढ्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक