ब्रिटिस कलेजद्वारा नुवाकोटमा राहत वितरण

22

काठमाण्डौं । थापाथलीस्थित द ब्रिटिस कलेजले भूकम्पबाट अति प्रभावित नुवाकोटको सामरी गाविसमा राहत वितरण गरेको छ । भूकम्प गएको १३ दिन बितिसक्दा समेत कुनै पनि राहत नपाएका सामरीका २ र ३ नम्बर वडाका पीडितमाझ एक मेडिकल टोलीसहित ब्रिटिस कलेजको टोली उक्त स्थानमा पुगेर राहत वितरण गरेको हो ।

कलेजले पीडितहरुलाई २०० बोरा चामल, ६० थान त्रिपालसहित विभिन्न लत्ताकपडा पनि वितरण गर्यो । कलेजको व्यवस्थापन समूहकै सञ्चालनमा रहेको ब्रिटिस कलेजको भागिनी संस्था लन्डनस्थित निम ट्री फार्मेसीबाट पठाइएका विभिन्न औषधि, भिटामिन र बच्चाको दुध लगायतका सामाग्री पनि स्थानीयलाई बांडिएको थियो । ३ जना डाक्टर र दुई जना नर्ससहितको मेडिकल टोली लिएर सामरी पुगेको कंडेल ग्रुपले त्यहांका भूकम्प पीडितमाझ पहिलोपटक बिहिबार हेल्थ क्याम्प समेत चलाएको थियो ।

त्यसक्रममा भूकम्पबाट घाइते भएका तथा अन्य गरि झण्डै तीन दर्जन स्थानीयको उपचार गर्नका साथै आवश्यक औषधि वितरण गरिएको सामरी पुगेका कलेजका प्रमुख कार्यकारी निर्देशक राजन कंडेलले बताए । कंडेलको नेतृत्वमा गएको राहत टोलीमा स्वास्थ्यकर्मीबाहेक काठमाडौंस्थित द ब्रिटिश कलेजका कर्मचारी र विद्यार्थी समेत संलग्न थिए ।

भूकम्प पीडितका लागि ६० लाखको राहत बजेट बनाएको कंडेल ग्रुपले यसअघि काठमाडौं र सिन्धुपाल्चोक जिल्लाको सिमानामा पर्ने नाग्लेभारेमा पनि खाद्यान्न, त्रिपाल, लत्ता कपडालगायत राहत सामाग्री बांडिसकेको छ । निर्देशक कंडेलका अनुसार अब सिन्धुपाल्चोकका थप प्रभावित गाउंहरु पुग्ने उनीहरुको योजना छ । विशेष गरी शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउने कंडेल ग्रुपले मुख्यतः भूकम्पबाट भत्किएका विद्यालय भवनहरु निर्माणमा सहयोग केन्द्रित गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री