गोरखा, लमजुङ र धादिङमा एनअारएनको राहत

nrnlogo

काठमाण्डौ । गैरआवासीय नेपाली संघले उत्तरी भेग बसेरीका भूकम्प पिडीत स्थानीयबासिन्दालाई राहत बितरण गरेको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र महासचिव कुमार पन्तसहितको टोलीले सोमबार बसेरी पुगेर गाविस सचिव, स्थानीय समाजसेवी र बिद्यालयका शिक्षकको रोहरबारमा राहत बितरण गरेको एनअारएन सचिवालयले जनाएको छ ।
८ सय ६७ घरधुरी रहेको बसेरीमा गैरआवासीय नेपाली संघले सबै घरलाई एक-एक वटा त्रिपाल, कम्बल, चिउरा, चामल, चाउचाउ लगायतका सामाग्री प्रदान गरेको छ ।
गोरखाको सीमा क्षेत्रमा पर्ने यो बिकट गाउँमा भूकम्पबाट लगभग सबैजसो घर भत्किएका छन् । सो क्षेत्रमा ७ जनाले भूकम्पमा परी ज्यान गुमाए ।
तर, ज्यान गुमाउनको संख्या धेरै नभएका कारण ९ दिनसम्म कतैबाट पनि सहयोग पाउन नसकेको स्थानीयबासीले गुनासो गरेका छन् ।
‘यति दिन भइसक्यो, खाने अन्न छैन, ओत लाग्ने ठाउँ छैन, भूकम्पले भन्दा पनि खान नपाएर मर्ने अबस्था भयो’ स्थानीयबासी सकमाया गुरुङले  भनिन् ।
वडा नम्बर ६ का बासिन्दा नारायणबहादुर कार्की भन्छन- ‘मानिसमात्र ७ जना मरेका हुन् तर, ९ वटा वडामा ९ वटा पनि सद्दे घर भेटन सकिन्न, हामी सहनै नसक्ने मारमा पर्‍यौं ।’
वडा नम्बर दुईका बासिन्दा नन्दबहादुर घले भन्छन-‘हाम्रो पहिलो प्राथमिकता बास हो, त्यसपछि गाँस हो र अनि ओढ्ने ओछ्याउने हो । कम्तीमा बासचाहिँ सरकारले बनाइदेओस् भन्ने हाम्रो माग हो ।’
राहत बितरणका लागि पुगेका गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले बाहिरबाट प्राप्त सहयोग आपसमा मिलेर उपभोग गर्न र थप राहतका लागि अग्रसर हुन सुझाव दिए ।
‘तपाईहरु यस्तो दुःखमा परेको देख्न र सुन्न नसकेरै हामी आफ्नो खल्तीबाट पैसा झिकेर तपाईका लागि खाना र नाना बाँड्न आएका हौं’ उहाँले भने -‘यस्तो विपत् सबै मिलेर सामना गर्नुपर्छ, तपाईंहरु पनि स्थानीय तहमा मिलेर प्राप्त सहयोगको सदुपयोग गर्नुहोला ।’
गैरआवासीय नेपाली संघले नेपालका भूकम्पपिडीतलाई आपतकालिन राहतस्वरुप १० करोड रुपैयाँको कोष बनाई बिभिन्न ७ जिल्लामा राहत वितरण अभियान सुरु गरेको थियो । जसअनुसार अहिलेसम्म सिन्धुपाल्चोक, गोर्खा, लम्जुङ, काभ्रे र धादिङमा राहत वितरण भइसकेको छ । पहिलो चरणमा १० हजार परिवारलाई राहत वितरण गर्ने योजनाअनुसार गैरआवासीय नेपाली संघका स्वयंसेवकको सहयोग र सक्रियतामा राहत बितरण कार्य भइरहेको छ ।

यसैगरी गैरआवासीय नेपाली संघले आइतबार गोर्खाको लाप्राक र दुम्जा गाउँ तथा लमजुङको इलाम पोखरी, दूधपोखरी र बिचौर गाउँमा राहत सामाग्री वितरण गरेको छ । गोर्खाको लाप्राक सबैभन्दा धेरै क्षति भएको र अहिलेसम्म राहत पुग्न नसकेको ठाउँ हो जहाँ करिब १ हजार घर परिवार प्रभावित छन् ।
शनिवार काठमाण्डौबाट गोर्खा पुर्‍याइएको राहत सामाग्री आइतबार दिनभर हेलिकोप्टरमार्फत् ती गाउँहरुमा पुर्‍याइ वितरण गरिएको हो ।
संघले गोर्खामा १ हजार थान पाल, एक हजार कार्टुन चाउचाउ, एक हजार ७ सय केजी चिउरा, २ हजार थान कम्बल र २ हजार ५ सय केजी चामल वितरण गरेको छ ।
यसैगरी लम्जुङमा १ हजार थान पाल, दुई हजार थान कम्बल, एक हजार केजी चिउरा र एक हजार कार्टुन चाउचाउ र २२५ बोरा चामल वितरण गरेको छ ।
राहत सामाग्री पुर्‍याउने तथा तिवरण गर्ने प्रकृयामा बिभिन्न देशबाट आएका गैरआवासीय नेपाली स्वयंसवेकहरुसँगै संघका अध्यक्ष शेष घले र उपाध्यक्ष भवन भट्ट प्रत्यक्षरुपमा सहभागी थिए ।
संघले स्थानीय समाजसेवी, सुरक्षा निकाय तथा गाविस सचिवको रोहबरमा पिडीत स्थानीयवासीलाई राहत वितरण गरिएको हो । राहत वितरणमा ती गाउँमा खटिएको नेपाली सेना र नेपाल प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
यसैगरी काभ्रे जिल्लाको चौबाटे चौकी, भुर्मुटारमा पनि आजै राहत सामाग्री वितरण गरिएको छ । काभ्रेमा ४ सय थान पाल, १ हजार कार्टुन चाउचाउ, १ हजार केजी चिउरा र एक हजार थान कम्बल वितरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री