बिहीबार, कार्तिक ६ २०७७ | Thu, October 22, 2020
नेपालको समय: ०६:५८ | UK Time: 02:13

विपक्षी मोर्चाको तीन दिने आमहड्ताल, देशभरको जनजीवन प्रभावित

वीनेपाली
२०७१ चैत २४ गते ३:१७

काठमाडौं। सहमतिमा संविधान जारी हुनुपर्ने माग गर्दै आएको एकीकृत नेकपा माओवादी नेतृत्वको तीस दलीय मोर्चाले गरेको तीन दिने आमहड्तालको पहिलो दिन देशभरको जनजीवन प्रभावित बनेको छ। काठमाडौंमा बन्दकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै केही सवारी साधनमा तोडफोड गरेका छन्। देशभरका लामा दुरीका सवारी साधान चलेका छैनन् भने केही स्थानमा छोटा दुरीका सवारी सञ्चालनमा रहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। Nepal_Banda

राजधानीका विभिन्न स्थानमा समूह बनाएर बन्दकर्ताहरु शहरको भित्री भागमा समेत बन्द गराउँदै हिडेका छन्। प्रहरीले बन्द गराउँदै हिंडेका एकीकृत माओवादीका नेता हिमाल शर्मा, काठमाडौं जिल्ला कमिटीकी सचिव रेणु दाहाल र अखिल क्रान्तिकारीका नेता सुरेन्द्र बस्नेतसहित केहीलाई बिजुली बजारबाट पक्राउ गरेको छ। त्यसपछि सो स्थानमा बन्दकर्ता र प्रहरीबीच केही समय ढुंगा हानाहान भएको थियो।

सोमबार साँझ तीस दलीय मोर्चाले देशभर मसाल जुलुस आयोजना गरेको थियो। मसाल जुलुसपछि प्रहरीले बागबजारस्थित अखिल क्रान्तिकारीको केन्द्रिय कार्यालयमा छापा मारेर सचिव रंजित तामाङसहित ६ जनालाई पक्राउ गरेको थियो।

यसअघि सोमबार बसेको तीन दलीय मोर्चाको बैठकले बन्द बिहान ५ बजेदेखि साझ सम्म हुने निर्णय गरेको थियो। त्यसअघि प्रधानमन्त्री सुशील कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा वार्ता भएको थियो। बैठकमा प्रधानमन्त्री कोइरालाले बन्दको कार्यक्रम फिर्ता लिन आग्रह गरेका थिए भने दाहालले बहुमतीय प्रक्रिया रोक्नु पर्ने आफ्नो पुरानो अडान दोहोर्‍याएका थिए।

यसअघि नै माओवादी अध्यक्ष दाहालले आन्दोलनले दीर्घकालीन विद्रोहको रुप लिन सक्ने चेतावनी दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक