ओलम्पिकमा नेपाललाई पदक दिलाउने पूर्व गोरखाको धोको

Medal Dekhaudai Jhapat

फेसबुकमा उनका एक शुभचिन्तकले मेडलहरुसहितको उनको यो फोटो राखेर प्रश्न गरेका छन् – कुनैबेला नेपालका हाेनहार बक्सर झपट भुजेल अहिले कहाँ छन्  ?

 

लण्डन । भनिन्छ सपना देख्न पैसा तिर्न पर्दैन । तर सित्तैमा देख्न पाइने त्यस्ता सपनाहरु सबै सस्ता भने हुँदैनन् । कुनै सपना साकार पार्न ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ त कुनै सपना त्यस्ता हुन्छन् जसले बाँचुञ्जेल लखेटिरहन्छन् ।
हो, यस्तै बारम्बार झम्टिन आउने सपनाले भूतपूपूर्व गोरखा सैनिक झपटसिंह भुजेललाई दशकौँ पछि पनि छोडेको छैन । सपनालाई वास्तविकतामा परिणत गर्न उनी अहिले पनि डटिरहेका छन् ।
सन् १९६८ मा गुल्मी जिल्लाको तम्घासमा जन्मेका भुजेल अग्रज र साथीसंगीहरुको संगतले बक्सिङ खेलमा आकर्षित भए । भारतीय सेनामा काम गर्ने गाउँलेहरुले बक्सिङ खेलका बारेमा सुनाएका कथा कहानीहरु उनको कलिलो दिमागमा ढुंगाको अक्षर बनेर खोपियो ।
त्यस्ता कथा वाचकहरु कोही भारतका विभिन्न प्रतिस्पर्धाहरुमा पदक विजेताहरु हुन्थे त कोहीले ओलम्पिकमा भारतका तर्फबाट सहभागिता जनाइसकेका हुन्थे । कोही त थिए भारत च्याम्पियन पनि । उनीहरुले नै गाउँमा बक्सिङ सिकाउन शुरु गरेका थिए । भुजेल पनि त्यहीँ भर्ना भए ।
‘हुने बिरुवाको चिल्लो पात’ भने झैँ उनले तालिम र प्रतियोगिताहरुमा राम्रो गर्दै गए । उनको प्रतिभा तम्घास र पश्चिम नेपालमा मात्र सीमित नभएर देशभर फैलिँदै गयो । गाउँले तालिमभन्दा व्यवस्थित र उच्चस्तरको तालिमका लागि उनी काठमाडौँ तानिए । उनको क्षमताले फस्टाउने मौका पाउँदै गयो ।
उमेरले २० वर्ष नटेक्दै उनले दक्षिण एसियाली खेलकुद (साफ), एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाए । सन् १९८८ मा दक्षिण कोरियाको सोलमा सम्पन्न २४ औँ ओलिम्पकमा उनले नेपालको तर्फबाट सहभागिता जनाए । ख्यातिप्राप्त बक्सर स्वर्गीय दलबहादुर रानामगर, विष्णुबहादुर सिंह, डम्बरध्वज भट्ट, रामबहादुर गिरी उनीसितै बक्सिङ टोलीमा थिए ।
त्यही ओलम्पिकमा हो, नेपालले पदक जितेको । जुन हालसम्मै नेपालले अोलम्पिकमा जितेको एकमात्र पदक हाे । तेक्वान्दोमा विधान लामाले जिताएका थिए नेपाललाई कास्य पदक ।
नेपालको राष्ट्रिय टोलीमा पर्नुअघि नै भुजेलको अर्जुनदृष्टि थियो- नेपाललाई ओलम्पिकमा पदक दिलाउने । तालिम र अनुभवले उनलाई सपनाको नजिक लैजाँदै थियो तर यसबीचमा आएको एक तुफानले हुत्याएर उनलाई झन् पर पुर्याइदियो । त्यो तुफान थियो -२०४६ को राजनीतिक परिवर्तन ।
जनआन्दोलनपछिको अवस्थालाई धेरैले राम्रो माने पनि खेलकुद क्षेत्रका लागि सही ठहर्‍याउन सकेनन् भुजेलले । खेलकुदमा राजनीति घुसेपछि उनले निर्णय लिए अब यसरी जीवन पार लाग्दैन । जहान, बालबच्चा पाल्न सकिँदैन, भोलि कहीँ गएर हण्डर,ठक्कर, धोका खाइन्छ । त्यसैले उनले निर्णय लिए बेलायती सेनामा भर्ती हुने । २२ वर्षको उमेरमा उनी बेलायती सेनामा प्रवेश गरे ।
भर्ती पछि पनि उनले बक्सिङलाई बिसाएनन् । दुईवर्ष हङकङ च्याम्पियन भए । थाइल्याण्डमा भएको प्रतिस्पर्धामा पनि आर्मीबाट भाग लिएर च्याम्पियन भए । यसबाहेक इंग्ल्याण्डमा भएका प्रतिस्पर्धामा पनि उनले दुईपटक अनुभव बटुल्ने अवसर पाए ।
“आर्मीमा खेल्न सक्नेले अवसर पनि पाउँछ तर खेलाडीलाई आर्मीको करियरमा भने घाटा लाग्छ” उनले भने ।
त्यसैले होला पल्टनलाई पदक दिलाएर पनि उनी आर्मीमा धेरै माथि जान सकेनन् । आर्मीमा तुलनात्मक रुपमा छिटो बढुवा हुने इन्जिनियर बटालियनमा १६ वर्ष जागिर गर्दा पनि उनी कर्पोरलभन्दा माथि उक्लिन सकेनन् ।

एसिएन नोभिस गेमपछि तत्कालिन राष्ट्रिय खेलकुद परिक्षद्का सदस्यसचिव शरदचन्द्र शाहबाट पुरस्कार थाप्दै भुजेल

एसिएन नोभिस गेमपछि तत्कालिन राष्ट्रिय खेलकुद परिक्षद्का सदस्यसचिव शरदचन्द्र शाहबाट पुरस्कार थाप्दै भुजेल

जागिरबाट अवकास पाउँदा उनको उमेर करिब ४० पुग्न लागिसकेको थियो तर उनको बक्सिङप्रतिको मोह थियो उस्तै किशोर । वर्षौँअघि देखेको ओलम्पिकको सपनाले उनलाई छोडेको थिएन ।
उमेर, फिटनेस, स्टामिना आदिले उनलाई अब ओलम्पिक खेल्न दिँदैनथ्यो तर उनीसित थियो घुमाउरो बाटो । त्यसैले आफ्नै घरको करेसामा उनले सन् २००९ देखि बक्सिङ सिकाउन शुरु गरे । जसलाई नाम दिए- मेडिस्टोन गोर्खा बक्सिङ क्लव । अहिले सो क्लवबाट करिब १५० प्रशिक्षार्थीले तालिम लिइरहेका छन् ।
उनीहरुलाई सिकाएर मात्र पुगेन । कति सिके मापन पनि गर्नुपर्‍यो । त्यसैले सन् २००९ देखि उनले निजी खर्चमा बक्सिङ प्रतियोगिता गराउँदै आएका छन् । सहभागीहरुको चाप बढ्दै जाँदा अहिले वर्षको एउटा म्याचले मात्र अपुग भयो । त्यसैले म्याच थपिएर वार्षिक दुई वटा पुगेको छ ।
तालिम र प्रतियोगिता चलाउन उनले अन्य निकाय र व्यक्तिबाट सहयोग लिएका छैनन् । हरेक प्रतियोगितामा कम्तिमा दुईदेखि छ हजार पाउण्डसम्म उनले आफ्नो खल्तीबाट ब्यहोर्नुपर्ने हुन्छ ।
त्यति खर्च गरेर पनि उनलाई पूर्ण सन्तुष्टी भने रहेनछ । भन्छन्, “यसबाट लाभ लिनेहरु प्राय गैरनेपाली छन् ।” सकेसम्म नेपालीहरु नै लाभान्वीत हुन् भन्ने उनको चाहना छ ।
वर्षभरि कमायाो, तालिम र म्याचमा खर्च गर्‍यो । त्यसो गर्दा घर परिवारले गुनासो गर्दैनन् ? मेरो प्रश्न थियो उनलाई । “घर परिवारले मैले जे गर्दैछु ठीकै छ भन्छन् । घरबाट ‘सपोर्ट’ नभएको भए मैले यो सबै गर्न सक्ने थिइनँ” उनले सफाइ दिए ।

बक्सिङ रिङमा झपट

बक्सिङ रिङमा झपट

आर्मीमा भर्ती हुनुअघि उनको करियरले शिखर चुम्दै थियो । नेपालका प्रशिक्षक, साथीहरु र विदेशका बक्सिङका खेलाडीले पनि उनमा सशक्त सम्भावना देखेका थिए । उनी आफैँलाई पनि आत्मविश्वास थियो नेपालका लागि ओलम्पिक, एसियाड र साफ गेममा पदक दिलाउन सक्छु भन्ने ।
तर नेपालको राजनीतिक परिवर्तनले उनले जीवनमा पनि परिवर्तन ल्याइदियो । सुरक्षित जीवन रोज्दा उनीभित्रको बक्सर झपट भुजेल बन्दी भयो ।
पहिले नेपाललाई पदक जिताउने बक्सिङ खेल अहिले ओरालोलाग्दो छ । पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको पदक तालिकामा बक्सिङ निल खाँदो छ । त्यसले उनलाई चिन्तित बनाएको छ ।
नेपाल, हङकङ र युकेमा सिकेको ज्ञानलाई उनले आफ्नो अपूरो सपना पूरा लगाउने काममा लगाउने लक्ष्य राखेका छन् । आफूकहाँ तालिम लिइरहेका नेपाली किशोर, युवाहरुको अद्भूत क्षमता देख्दा उनलाई लाग्छ अब त्यो दिन असम्भव पनि छैन । त्यसैले अहिलेलाई उनको प्राथमिकता छ – युकेमा नेपाली प्रतिभा उत्पादन गर्ने, उनी उनीहरुलाई नेपालको तर्फबाट साफ, एसियाड, ओलम्पिकमा खेलाउने ।
“मेरो धोको उच्च क्षमता भएका प्रतिभा उत्पादन गर्ने र उनीहरुलाई नेपालको तर्फबाट खेलाई ओलम्पिकमा पदक दिलाउने छ” उनले भने ।
त्यतिमात्र होइन उनी त नेपालमा बक्सिङ खेललाई नयाँ ढंगले अगाडि बढाउन पनि तयार छन् । “कोच नै हुन त सम्भव नहोला तर दुईवर्ष नेपालको बक्सिङ हेर्न पाए देखाइदिन्थेँ भन्ने चाहिँ लाग्छ” आफ्नो क्षमताप्रति विश्वस्त हुँदै उनले भने ।
तर के नेपालको खेलकुद परिषद् र बक्सिङ संघले उनको चाहना बुझ्न तयार छ त ?

Jhapat in Nepal

प्रतिक्रिया

सम्बन्धित सामाग्री